प्रदेश सरकारमा पारित नभएको सिंजा सभ्यता संरक्षण विधेयक संघीय सरकारले अगाडि बढाउने

 पुस २३, २०७९ शनिबार १८:५१:१५ | नेत्र शाही
unn.prixa.net

फाइल तस्बिर

जुम्ला – सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयकमा तोक लगाएर अगाडि बढेको सचिवालयले जनाएको छ । यसअघि कर्णाली प्रदेशसभामा दर्ता गरे पनि पारित नभएको विधेयक संघीय संरकारले अगाडि बढाएको हो । 

शुक्रवार प्रधानमन्त्री प्रचण्डले तोक लगाएपछि पर्यटन मन्त्रालयमा अगाडि बढाइएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ । सिंजा विधेयक दर्ता भएर पर्यटन मन्त्रालयमा गइसकेको र अन्य प्रक्रियाका लागि काम शुरु हुने भएको छ । कर्णाली प्रदेशसभामा जुम्लाबाट प्रतिनिधित्व गर्ने पूर्व सांसद नरेश भण्डारीले कर्णाली सभामा यसलाई गैर सरकारी विधेयकको रुपमा दर्ता गराउनुभएको थियो । कर्णाली प्रदेशसभामा पारित हुन नसकेपछि पूर्व सांसद भण्डारीले नयाँ सरकारसँग पहल गरेर अगाडि बढाउनुभएको हो ।  

पूर्व सांसद भण्डारीले विधेयक सरकारले अगाडि बढाएपछि खुशी व्यक्त गर्नुभएको छ ।  भण्डारीका अनुसार कर्णाली प्रदेशसभामा पारितिको अन्तिम संघारमा पुगेर पनि सामाजिक विकास समितिमा तुहाइएको सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकले पुनर्जीवन प्राप्त गर्ने सुखद परिस्थिति सिर्जना भएको छ । विभिन्न मन्त्रालयहरूको राय, सहमतिपछि मन्त्रिपरिषदबाट पारित भएर संघीय व्यवस्थापिकामा पेस हुनेछ ।

‘नेपालको मूल सभ्यता सिञ्जा सभ्यताको संरक्षण र विकासका लागि निसन्देह यो कदम ऐतिहासिक कोषेढुंगा सावित हुनेछ’, भण्डारीले भन्नुभयो, ‘कर्णालीको समृद्धि तथा खुसी हासिल गर्ने लक्ष्यमा योगदान गर्ने अपेक्षा गरिएको बहुप्रतिक्षित यस महत्वपूर्ण कार्यका लागि सम्माननीय प्रधानमन्त्री प्रति हार्दिक आभार छ ।’ 

१२ औँ सताब्दीमा तिब्बती मूलका राजाले नागराजले स्थापना गरेको खस सभ्यताको मुहान हाे सिंजा । नेपाल एकीकरणको समयमा बहादुर शाहले बि.सं १८४६ मा  सिंजा राज्यको कब्जा गरेको ईतिहास छ । 

आधिकारिक संरचना नहुँदा अहिलेसम्म सिंजा क्षेत्रको तत्कालीन पुरातात्विक संरचना संरक्षण हुन सकिरहेको छैन । सरकारले आधिकारिक खोज अनुसन्धान, खस भाषाविद्हरुको अध्ययन अध्यापन र आधुनिक विकासका लागि आधिकारिक संरचना अगाडि बढाएको हो ।

प्रधानमन्त्री प्रचण्डले प्रदेश तथा प्रतिनिधिसभाकाे चुनावअघि जुम्लामा गरिएको चुनावीसभामा सिंजा सभ्यता विधेयक अगाडि बढाएर प्रतिष्ठानकै रुपमा लिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया