बाघको खिसी गर्ने मान्छेसँग मूर्तिको फुर्ती !

 पुस २४, २०७९ आइतबार १४:२५:३८ | मिलन तिमिल्सिना
unn.prixa.net

पहिले मान्छे बाघदेखि डराउँथे, हिजोआज मान्छे देखेर बाघको भागाभाग सुरु भएको छ । बाघलाई हियाउन पाएर फेसबुकेहरू दङ्ग छन् । आफ्नो उछित्तो काढ्नेहरूको बिगबिगी देखेर कतै बाघ चाउरिएको छ । कतै उत्ताने परेको छ । 

बाघको खिसीटिउरी गर्दै हिजोआज मान्छेले भन्न थाले– कस्तो खालको बाघ हो यो ? छाला चाहिँ टाटेपाटे, अनुहार चाहिँ ख्याटे । बाघ भन्ने कि बिरालो ?

उ त्यहाँ चाहिँ मुसोजस्तो रैछ, मुसे बाघ । अर्को चाहिँ कुकुरजस्तो देखिँदो रैछ, कुकुर बाघ । 

यता हेर न, यता गैँडाजस्तो पनि रैछ, गैँडे बाघ । अलि पर सर्पकोजस्तो अनुहार भएको पनि रैछ, नागे बाघ । अर्को सुँगुरजस्तो रैछ, सुँगुरे बाघ । 

बाघ र बिरालो एउटै प्रजातिको भएकाले बाघ बिरालोजस्तो देखियो भने त ठिकै मान्न सकिएला । तर यी कुकुर, स्याल, छेपारो, सर्प, सुँगुर, गैँडाजस्तो चाहिँ सुहाएन है । अनुहार र दनुवारको बाघ !
...........

बाघको नाम सुन्नेबित्तिकै तर्सिने मान्छेहरू तिनै बाघको अनुहार नियाल्दै पार्क र चोकतिर निस्किए र मरेको बाघको जुँगा उखेलेझैँ जिउँदो बाघको मूर्ति हेरेर फुर्ती निकाले ।

वरपर झुम्मिएका मान्छेले बाघको खिसीटिउरी गर्न थालेपछि मूर्तिलाई खपिसक्नु भएन । त्यसपछि मूर्तिले मान्छेको भन्दा बढी फुर्ती निकाल्यो ।

ओइ मान्छे कसलाई हेपेर बोलेको ? आफ्नो ऐना हेरेको छस् ? मान्छे मान्छेजस्तो छ र बाघ बाघजस्तो हुनलाई ?

बाघको मूर्ति बोल्न थालेपछि एकछिन त मान्छे डराए । तर बाघजस्तो बाघ भए पो डराउनु । मुसो, कुकुर, बिरालोजस्तो देखिने बाघको मूर्तिसँग के को डर ? अनि सुरु भयो मूर्ति र मान्छेको सवाल–जवाफ ।
..........

बाघको मूर्ति त बाघजस्तो हुनुपर्‍याे नि ! यस्तो जाबो मुसो, बिरालो, दुम्सी, स्यालजस्तो पनि बाघ हुन्छ ?

ओइ मान्छे मूर्ति साँच्चिकै बाघजस्तो भएको भए यहाँ वरपर आएर यस्तो फुर्ती निकाल्ने हिम्मत हुन्थ्यो तेरो ? 

साँच्चिकै बाघजस्तो देखिएको भए त नजिक आउनै सकिँदैन थियो नि ! 

अनि त । हेर मान्छे, पहिलो कुरा त हेर्न आउने मान्छेहरू नडराउन् भनेरै मूर्ति बाघजस्तो भएन । अर्को कुरा बाघजस्तै मूर्ति हेर्नका लागि अहिलेजस्तो भिड हुँदैन थियो । बाघजस्तो मूर्ति छैन भन्ने थाहा पाएरै हेर्ने मान्छेहरूको भिड बढेको होइन ?

त्यो पनि हो ।

अर्को कुरा सुन, हामी बाघलाई सम्झिएर मूर्ति बनाउन थाल्दा मूर्तिकारलाई पनि डर लाग्यो । बाघलाई देख्दा मात्र होइन, सम्झँदा पनि मान्छेलाई डर लाग्छ । मूर्ति बनाउन थाल्दा मूर्तिकारको पनि हात काँप्यो । अनि डराउँदै–डराउँदै मूर्ति बनाउँदै जाँदा डर नलाग्ने खालको बाघ बन्यो । 

तर बाघ भनेपछि बाघजस्तो त हुनुपर्‍याे नि ?

ओइ मान्छे, तिमीहरूले घरमा पालेका कुकुरको नाम कसैको टाइगर हुन्छ, कसैको शेर र शेरु । अनि टाइगर नाम गरेका कुकुर बाघजस्ता हुन्छन् ? शेर र शेरु नाम गरेका कुकुर सिंहजस्ता हुन्छन् ? 

नाम पो त्यस्तो राख्या त । साँच्चै बाघ र सिंहजस्ता भए भने त कसले पाल्न सक्थ्यो र ?

अनि सुन, तिमी मान्छेहरू चाहिँ मान्छेजस्ता छौ ?

किन छैन ? हामी काटीकुटी मान्छेजस्तै त छौँ नि । नपत्याए हेर न ।

सानोमा अर्कै देखिन्थ्यौँ, अहिले अर्कै भइसक्यौँ । बुढ्यौलीले छुँदै जाँदा फेरि अर्कै देखिन्छौँ ।

जे भए पनि हामी मान्छेजस्ता त छौँ नि ।

खुबै छौ, ल मान्छे भनेको के हो भन त ?

मान्छे भनेको मानिस, मानव, मनुष्य । जैविक जातिमा मस्तिष्क तथा बुद्धिबलका कारणले सबैभन्दा श्रेष्ठ, विकसित तथा चेतनशील र श्रमलाई सरल तथा सुगम तुल्याउन आवश्यकताअनुसार हतियार वा उपकरणको निर्माण तथा प्रयोगसमेत गर्ने प्राणी नै मान्छे हो । प्राणीहरूमा सबैभन्दा बुद्धिमानी, चेतनशील, सिर्जनशील ।

किताबमा पढेको मान्छेको परिचयमात्रै भट्याएर के गर्नु । परिभाषाअनुसार मिल्ने स्वभाव हुनुपर्‍याे नि ! 

किन छैन ? मान्छे तिमी जनावरभन्दा बुद्धिमान, चेतनशील, सिर्जनशील छ । मान्छेकै कारण दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । के के भइसक्यो । जाबो जङ्गलमा बस्ने बाघ, त्यहाँमाथि यस्ता मुसो र बिरालोजस्तो अनुहार भएको बाघलाई के थाहा यस्ता कुरा ?

किन थाहा छैन ? तिमीहरू मान्छेका सबै कुरा थाहा छ । तिमीहरू आफूलाई जनावरभन्दा बुद्धिमान ठान्छौँ । तर तिमीहरू जनावर जति इमानदार, अनुशासित र नैतिक छैनौ । 
ओइ मूर्ति, मान्छेलाई जे पायो त्यही भन्ने ? ढलाइदिउँ मूर्ति ?

हो मान्छे यसैगरी आवेशमा आउँछ, तर आफ्नो नराम्रो पाटो देख्दैन । ल सुन हामी बाघले बाघमाथि हत्या, हिंसा र बलात्कार गरेको सुनेका छौ ? बाघले बाघलाई ठगेको, बाघले भ्रष्टाचार र अनियमिता गरेको, चोरी डकैती गरेको थाहा पाएका छौ ? तिमीहरू मान्छेका यस्ता कुरा त कति छन् कति । अनि मान्छे कसरी बुद्धिमान भयो ? अरू धेरै त के भन्नु, तिमीहरूका जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, रोजगारी र अरू विकास निर्माणको काममा पैसा खर्च गर्ने कि रङ न ढङ्गका मूर्ति बनाउन ? हाम्रो अनुहार न दनुवारको मूर्ति बनाउने पैसा खान र उपचार गर्न नपाएका गरिबको नाममा छुट्याएका भए कतिका अनुहार उज्यालो हुन्थ्यो ? यति जाबो कुरा पनि थाहा नपाउने मान्छेलाई कसरी मान्छे भन्नु ? हेर तिमीहरूले यस्ता मूर्ति बनाएर हामी बाघको त खिल्ली उडायौ उडायौ, आफ्नोसमेत बदनाम गरिरहेका छौ ।

ओइ मूर्ति मान्छेलाई हेपेको हो ? त्यसमाथि हामी नेपाली मान्छेलाई ? 

हेपेको हैन मान्छे, देखेको र भोगेको कुरा भनेको ।

देखेको र भएकै कुरा पनि भन्न पाइँदैन हामीलाई । यस्तालाई त ठाउँको ठाउँ तह लगाउने सरकार हामीसँग छ । प्रधानमन्त्री र मन्त्रीहरूलाई बोलाएर मूर्तिले बढी फुर्ती गर्न पाइँदैन भनेर निर्देशन दिन लगाउँ ?

अन्तिम अपडेट: बैशाख १०, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया