सबल र सक्षम बैंक कायम हुन्छ : नेपाल, साना लगानीकर्ताहरुले कर्जा पाउन नसक्ने अवस्था आउनसक्छ : क्षेत्री

 माघ ४, २०७९ बुधबार १०:५७:३८ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

पछिल्लो समय वाणिज्य बैंकहरुको बिग मर्जरपछि नेपालका पूर्वगभर्नरहरुले फरक–फरक धारणा राखिरहेका छन् । पूर्वगभर्नरहरुबाट बैंकहरुको बिग मर्जरले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा देखिने प्रभावका विषयमा फरक–फरक धारणा आउनुलाई चासोका साथ हेरिएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवि नेपालले बैंकहरु गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रियाबाट बैंक तथा वित्तीय संस्थाको पुँजीको आधार बिस्तार भई जोखिम वहन गर्नसक्ने क्षमता अभिवृद्धि हुने बताउनुभयाे । उहाँले सानो पुँजीको आधार भएका धेरै संख्याका बैंक तथा वित्तीय संस्थाहरूको सट्टामा थोरै संख्यामा सबल र सक्षम बैंक तथा वित्तीय संस्था कायम हुने बताउनुभयाे । उहाँले बैंकहरुको सञ्चालन खर्चमा कमी आउने, प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि हुने, संस्थागत सुशासन कायम भई स्वस्थ प्रतिष्पर्धाको माध्यमबाट सेवा प्रदान हुने दाबी गर्नुभयो । पूर्वगभर्नर डा. नेपालले देशभर बैंक तथा वित्तीय पहुँच पुर्‍याउनको लागि बैंक खोल्न लाइसेन्स राष्ट्र बैंकले दिएको भन्दै सोचेजस्तो वित्तीय पहुँच नपुगेसँगै लाइसेन्स बन्द गरेको बताउनुभयो ।

देशमा बैंक वित्तीय पँहुच बिस्तार भएसँगै बैंकहरुको संख्या घटाउन तथा कतिपय बैंक तथा वित्तीय संस्थाहरु समस्याग्रस्त भएर लगानीकर्ता र निक्षेप कर्ताको २० अर्ब रुपैयाँ डुबेर राष्ट्र बैंकमा १८ बैंकको समस्याग्रस्त बैंकका शाखा स्थापना गरिएको समेत नेपालकाे भनाइ छ । उहाँले बैंकहरुको अवस्था हेरेर धेरै बैंक समस्याग्रस्त भएर धेरै नागरिकको पैसा डुब्ने, बैंकप्रति विश्वास गुम्ने अवस्था आएपछि वित्तीय क्षेत्रलाई सबल बनाउनको लागि मर्जरलाई प्रोत्साहन गरेर बैंकको पुँजी वृद्धिलाई आफू गभर्नर रहँदा अगाडि बढाएको नीतिले अहिले सार्थकता पाइरहेको बताउनुभयाे ।

पूर्वगभर्नर डा.नेपालले गभर्नर भएको बेला बिग मर्जरको नीति ल्याए पनि विभिन्न कारणले रोकिएका र देशको आवश्यकता अनुसार अहिले बैंकहरु आफैँ मर्जरमा गएको भन्दै बैंकहरु मर्जरमा जानु आवश्यक रहेको पनि बताउनुभयाे । उहाँले नेपाली बैंकिङ क्षेत्रमा नयाँनयाँ प्रविधि आएपनि सोचेजति प्रविधि नभित्रिएकाले केन्द्रीय बैंकसम्म त्रासमा बस्नुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो । उहाँले ठूलो पुँजीको ठूलो बैंक हुँदा विदेशी देशहरुसँग हात फैल्याउनुपर्ने अवस्था नआउने पनि बताउनुभयाे । उहाँले बैंकका लगानीकर्ताहरुको निक्षेप डुब्छ की भन्ने स्थिति नआउने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपालको वित्तीय क्षेत्रको आवश्यकता अनुसारको केन्द्रिय बैंकले त्यही अनुसार काम गर्ने हो । नेपालमा वित्तीय पँहुच पुगेको छैन । बैंक खोल्नको लागि धेरै लाइसेन्स दिनुपर्ने स्थिति आयो । त्यो बेला धेरै बैंक खुलेका पनि हुन् । बैंक खुल्दा पनि वित्तीय पँहुच पुगेको अवस्था थिएन । त्यसपछि केन्द्रिय बैंकले नै बैंक खोल्न लाइसेन्स नदिने नीति लियो । देशमा बैंक वित्तीय पँहुच पुग्न लागे बैंकहरुको सख्या घटाउन तथा कतिपय बैंक तथा वित्तीय संस्थाहरु समस्याग्रस्त भएर डुबेका थिए । लगानीकर्ता र निक्षेपकर्ताको २० अर्ब रुपैयाँ डुबेर राष्ट्र बैंकमा १८ बैंकको शाखा स्थापना भएका थिए । त्यसले गर्दा बैंकहरुको अवस्था हेरेर बैंकहरु धेरै भए,धेरै बैंक समस्याग्रस्त भएर धेरै नागरिकको पैसा डुब्ने, बैंकप्रति विश्वास गुम्ने अवस्था आएपछि वित्तीय क्षेत्रलाई सबल बनाउनको नीम्ति मर्जरलाई प्रोत्साहन गरेर बैंकको पुँजी वृद्धिलाई अगाडि बढाइयो । पछिल्लो समय बिग मर्जर भनेर नीति ल्याइयो । तर बिग मर्जर विभिन्न कारणले रोकिएको थियो । मैले गभर्नर भएको बेलामा नै कुनै पनि हालतमा बैंकहरुको बिग मर्जर हुनैपर्छ भनेको थिएँ ।'

उहाँले  देशमा कति बैंक आवश्यक भन्दा पनि कुन क्षेत्रमा लगानी गर्न कस्तो बैंक आवश्यक छ ? भन्ने विषयमा सोच्नुपर्ने बताउनुभयाे । उहाँले अब क्षेत्रगत अनुसार बैंक स्थापना गर्नुपर्ने अवस्था आउने बताउनुभयाे । उहाँले ठूला आयोजना र क्षेत्रगत बैंकहरुको आवश्यकता हुने बित्तिकै बैंकहरुको अहिलेको भन्दा फरक स्वरुप बन्ने बताउनुभयाे । डा. नेपालले बैंक तथा वित्तीय संस्थाहरुको संख्या, देशको अर्थतन्त्र, देशमा भएका आर्थिक क्रियाकलाप, सरकारले प्राथमिकता दिएको क्षेत्र र रोजगारी सिर्जना गरी देशको आर्थिक विकास अनुसार समयले माग गर्ने बताउनुभयाे । 

पूर्वगभर्नर डा.नेपालले नियमनकारी निकाय राष्ट्र बैंकलाई नियमन र सुपरीवेक्षण गर्ने चुनौती थपिएको बताउनुभयाे । उहाँले चुनौती देखेर नै केन्द्रीय बैंकले चालुपुँजी कर्जा मार्गदर्शन लागू गर्न खोजेको भन्दै चालुपुँजी कर्जा मार्गदर्शन पहिला नै लागू गर्नुपर्ने भए पनि ढिला भएको बताउनुभयाे । उहाँले बैंकहरु मर्जरमा गएर ठूलो बैंक र ठूलो पुँजी बनेर माेनोपोली नबढ्ने बताउनुभयाे । उहाँले राष्ट्र बैंकको मौद्रिक नीति अनुसार बैंकहरु चल्नुपर्ने भएकाले माेनोपोली गर्न नसक्ने बताउनुभयाे ।

उहाँले राष्ट्र बैंकले देशको अर्थतन्त्रप्रति संवेदनशील नभएर आफ्नो तरिकाले गर्न खोज्दा अर्थतन्त्र बिग्रिनसक्ने बताउनुभयाे । यस्तै उहाँले नियामक निकाय पहिलाको भन्दा अझ सचेत हुनुपर्ने अवस्था आएको पनि बताउनुभयाे । डा. नेपालले विगतमा राष्ट्र बैंकले मर्जरको नीति ल्याउँदा मर्जर हुन नमाने पनि अहिले समयको आवश्यकता अनुसार आफैँ बैंकहरु मर्जरमा गएको दाबी गर्नुभयो । 

यस्तै पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाहरु बिग मर्जरमा हुँदा समाजवादोन्मुख  अर्थतन्त्रमा मद्दत नपुग्ने बताउनुभयाे । उहाँले थोरै बैंक धेरै सेवासुविधा पाउनुपर्ने भएकाले समाजवादोन्मुख अर्थतन्त्रमा बिग मर्जरले मद्दत नगर्ने उल्लेख गर्नुभयो । उहाँले बैंकहरु एक आपसमा मर्जर हुँदा बैंकको मध्यस्ताको लागत कम हुँदा उपभोक्ताले त्यही अनुसारको लाभ पाउनुपर्ने बताउनुभयाे । पूर्वगभर्नर क्षेत्रीले मर्ज भएका बैंकहरुले उदार किसिमका नीतिहरु ल्याउन सक्नुपर्ने बताउनुभयाे । उहाँले सरकारले कृषिलाई प्राथमिकता दिएको अवस्थामा बैंकहरुले कृषिको लागि छुट्टै नीति ल्याएमा सरकारले भनेको जस्तै समाजवादोन्मुख अर्थतन्त्रमा जानसक्ने भन्दै त्यस्तो नीति नल्याएको खण्डमा सफल हुन नसक्ने बताउनुभयाे ।

उहाँले अहिलेकै अवस्थाबाट नाफाका लागि मात्रै बैंकले हेर्ने हो भने समाजवादोन्मुख अर्थतन्त्र हुन नसक्ने बताउनुभयाे । उहाँले बैंकहरु धेरै बलियो भए पनि नियामक निकायको कानूनी हैसियत माथि भएकाले नियामककोे निर्देशन भन्दा बाहिर जान बैंकहरु नसक्ने बताउनुभयाे । उहाँले जोखिमलाई न्युनीकरण गर्नको लागि राष्ट्र बैंकले न्यायपूर्ण रुपमा नियमन गर्नुपर्ने बताउनुभयाे । उहाँले ठूलो बैंक हुँदा साना लगानी कर्ताहरुले कर्जा पाउन नसक्ने अवस्था आउनसक्ने उल्लेख गर्नुभयो । उहाँले विगतमा पनि ठूला बैंकहरुले ५/१० लाख कर्जा माग्न विकास बैंकमा जानु भन्ने गरेको बताउनुभयाे । 

उहाँले भन्नुभयो, ‘ठूला बैंक बनाउँदा ठूला व्यवसायीहरुको स्ट्याङ्थ बढ्यो । अझ बलियो हुनुभयो । पुँजी, निक्षेप बढेर गयो । बैंकको लागत पनि कम हुन आउँछ । बैंकको लागत घट्दै जाँदा मध्यस्ताको लागत पनि घट्दा उपभोक्ताहरुले लाभ पाउन सक्छन् । थोरै मान्छे धेरै फाइदा पाउने धेरैले थोरै उनीहरुले छाडेको मात्रै पाउँदा समाजवादोन्मुख  अर्थतन्त्रमा लैजानलाई बैंकहरुको बिग मर्जरले मद्दत गर्दैन ।'

पूर्व गभर्नर क्षेत्रीले विगतमा राष्ट्र बैंकले नेपालको ग्रामिण क्षेत्रमा समेत बैंकिङ पहुँच पुर्‍याउन बैंकको उदारतापूर्वक लाइसेन्स बाँडे पनि वित्तीय पहँुचको विकास हुन नसकेको बताउनुभयाे । उहाँले राष्ट्र बैंकको लक्ष्य अनुसार बैंकहरु गाउँगाउँमा पुग्ने भन्दा पनि शहरमा नै केन्द्रित भएर एउटै घरमा सहकारी विकास बैंक, वाणिज्य बैंक राख्ने अवस्था समेत आएको बताउनुभयाे । उहाँले ग्रामिण क्षेत्रमा बैंकिङ पहुँच नपुग्ने र अन्य देशहरुको तुलनामा बैंकको पुँजी पनि कम भएकाले राष्ट्र बैंकले २ अर्बको बैंकको पुँजीलाई ८ अर्ब बनाएको बताउनुभयाे ।

उहाँले धेरै बैंकहरु हुँदा अस्वस्थ्य प्रकारको प्रतिष्पर्धा बढेकाले केन्द्रीय बैंकहरुले बैंकहरु मर्जर नीति लिएको बताउनुभयाे । उहाँले अहिले बैंकहरुको मर्जर नीति राम्रो भएको बताउनुभयाे । उहाँले बैंकको शेयर १ः१ को रेसियो र कर्मचारीको हैसियतमा तलमाथि नगर्ने नीति राम्रो भएको बताउनुभयाे । उहाँल केन्द्रीय बैंकले पुँजी वृद्धि,स्वस्थ प्रतिष्पर्धाको निम्ति र ठूलो आयोजनाको लागि एउटा बैंकले मात्रै पुँजी लगानी गर्नसक्ने अवस्था नभएकोमा अब त्यो अवस्था आउनसक्ने बताउनुभयाे । 

थोरै बैंक भएपछि एकाधिकार कायम राख्ने, बैंकको स्वार्थको निम्ति मात्रै जाने भएपछि लगानीकर्ता र निक्षेपकर्ताहरुलाई अन्यायमा पार्नसक्ने भन्दै केन्द्रीय बैंकले न्यायपूर्ण तरिकाले नियमन गर्नुपर्ने क्षेत्रीकाे भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया