दुई दशक वैदेशिक रोजगारीमा बिताएपछि अहिले गाउँमै मौरीपालन गर्दै भागीमान

 माघ ६, २०७९ शुक्रबार १७:४०:५८ | रासस
unn.prixa.net

फाइल तस्बिर

रुकुम – जीवनको उर्जाशील दुई दशक वैदेशिक रोजगारीका सिलसिलामा खाडी देशमा बिताएपछि यतिबेला रुकुमपूर्व भूमे गाउँपालिका-३ का ४४ वर्षे भागीमान पुन गाउँघरमै कृषि पेशामा रमाउन थाल्नुभएको छ ।

राेजगारीको सिलसिलामा साउदी, कतार र मलेसियाका विभिन्न कम्पनीमा काम गर्नुभएका उहाँ यतिबेला घरमै मौरी र बङ्गुरपालन गरिरहनुभएको छ । खाडीमा काम गर्दा औसत मासिक ३० हजार रुपैयाँ कमाउनुहुने उहाँले अहिले भने मासिक औसतमा २५ हजार रुपैयाँ कमाइरहेको बताउनुभयो । विदेशमा दुःख गरे जस्तो कमाइ नभएपछि उहाँ स्वदेश फर्किएर कृषि कर्ममा लाग्नुभएको हो । 

उहाँ भन्नुहुुन्छ, “घरमा अहिले ३७ वटा माहुरीका घार छन् । वार्षिक आम्दानी तीन लाख रुपैयाँको हारहारीमा भइरहेको छ ।” विदेशमा घामपानी, भोक, निद्रा नभनी काम गर्दा हुने आम्दानीभन्दा स्वदेशमै सुरु गरेको व्यवसायबाट भएको आम्दानी धेरै ठूलो भएको उहाँको भनाइ छ । 

“पहिले लेकभरि भैँसी बगाल हुन्थे, घरको गुजारा यसैबाट चलेको थियो”, भागीमानले भन्नुभयो, “सङ्कटकाल लागेपछि मेरो सबै सम्पत्ति सकियो र म विदेशिन बाध्य भएँ ।” विदेशमा पनि कमाइ राम्रो नभएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका मौरीपालन व्यवसाय सुरु गरेको उहाँको भनाइ छ । भागीमानले सेराना जातको मौरी पाल्नुभएको छ । 

भागीमानले विसं २०७६ देखि बङ्गुरपालन पनि गर्दै आउनुभएको छ । सुरुमा एउटा भाले र दुईवटा माउबाट सुरु गरेको बङ्गुरपालनबाट पनि राम्रो आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । 

उहाँका अनुसार अहिले पुनसँग एक भाले र चार बङ्गुरका माउ छन् ।  बङ्गुरको पाठा, मासु बिक्री वितरणबाट पनि मासिक रू २० हजार आम्दानी भइरहेको उहाँको भनाइ छ । यसरी स्थानीयस्तरमा व्यवसाय गर्नेलाई प्रोत्साहनस्वरुप स्थानीय सरकारले सहयोग गरिदिए हुन्थ्यो भन्ने भागीमानलाई लागेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया