भूकम्प र कोरोना महामारीपछि मानसिक समस्या एकदमै बढेको छ : डा.पाण्डे

 माघ १४, २०७९ शनिबार १३:४:२७ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

डा. प्रदीप पाण्डे

पछिल्लो समय नेपालमा पनि मानसिक समस्या बढ्दै गएको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको कुनै रोग वा दुर्वलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक, मानसिक तथा सामाजिक समग्रमा स्वस्थ हुने अवस्था हो ।  हामी शारीरिक रुपमा समस्या सानो भए पनि तत्काल अस्पताल लाग्छौँ । तर मानसिक तथा सामाजिक रुपमा जति अस्वस्थ भएपनि त्यसको बेवास्ता गर्छौं । शरीर स्वस्थ रहनका लागि मन स्वस्थ हुनु अपरिहार्य छ । मानसिक स्वास्थ्य बिना स्वास्थ्यको परिकल्पना नै अधुरो र अपुरो हुने गर्छ । मानसिक रूपमा स्वस्थ व्यक्तिहरुले आफ्नो क्षमताको सही पहिचान गरी जीवनका विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील जीवनयापन गर्न सक्षम हुन्छन् । मानसिक रुपमा अस्वस्थ हुनु भन्नाले मगज बिग्रिनु वा पागल हुनु होइन, बरु मनमा अन्तरद्वन्द्व, अनावश्यक डर, त्रास, उदासीपन, खुशीको अनुभूति नहुनुका साथै तनाव सहनसक्ने क्षमता कम हुनु, व्यक्तिगत तथा सामाजिक जीवनबीच सन्तुलन कायम राख्न सक्षम नहुनु, उत्पादनशीलता एवं बौद्धिक क्षमतामा ह्रास आउनु तथा मानसिकतामा असामान्य परिवर्तन हुनु हो । तर नेपाली समाजमा भने मानसिक समस्यालाई पागलपन मानेर त्यसको उपचार गर्नै नजाने र आफैँले समस्या समाधान गर्न लाग्ने तथा अन्य नजिकका मानिसहरुले थाहा नपाउँछन् भन्ने हिसाबले लुकाउने गरेको पाइन्छ ।

मानसिक व्यथाको प्रवृति शारीरिक पीडा भन्दा बिल्कुलै फरक हुन्छ । यही असहनीय पीडाकै कारण बिरामीहरु आफू मर्न वा अरुलाई मार्न समेत पछि पर्दैनन् । विश्वमा हुने आत्महत्याहरुको प्रमुख कारण मानसिक अस्वस्थता नै रहेको अध्ययनले देखाउँछ । प्रायः हत्याकाण्डहरु पनि मानसिक वा सामाजिक विकृतिकै कारण हुने गरेको विज्ञहरुले बताउँदै आएका छन् । त्यसैले पनि हामीले मानसिक रुपमा अस्वस्थ व्यक्तिहरुको समयमै उपचार गरायौं भने बिरामीहरुलाई एउटा नयाँ जीवन प्रदान गर्न सक्दछौं । यसै सन्दर्भमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले नशा तथा मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डेसँग कुराकानी गरेको छ । डा.पाण्डे अल्का अस्पतालमा नशा तथा मनोरोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।

विशेषज्ञहरु नशा र मनोरोग एकै ठाउँमा जोडेर हेर्ने गर्छन्, तर नशाको समस्या अर्कै हो, मनोरोगको समस्या अर्कै हो भन्ने आम बुझाइ छ, खासमा यो कस्तो खालको समस्या हो र कस्तोकस्तो किसिमको लक्षण अथवा समस्या देखिँदा मेडिकल टर्ममा यो समस्या भएको बुझिन्छ ?

न्युरो साइक्याट्रिक भनेर भन्छौँ हामी । यसमा खास किन न्युरो साइक्याट्रिक अथवा साइक्याट्रिकमा चाहीँ नशा कसरी जोडियो भन्ने कुरा आउँछ । न्युरो साइक्याट्रिक भनेकै मन सम्बन्धीको विषय हो । मन भनेपछि हामी मुटुलाई हेर्छौं । हामी माइण्ड र ब्रेनको बारेमा कुरा गर्छौं । ब्रेन जोडिने बित्तिकै ब्रेनसँग हजारौँ न्युरोन्सहरु जोडिन्छ । त्यहीँबाट मन, विचार उत्पादन भइरहेको छ । त्यही भएर हामीले न्युरो साइक्याट्रिक भनेका हौँ । यो नशासँग जोडिएकै विषयवस्तु हो । अब यसका के, कस्ता लक्षणहरु हुन्छन् भन्दा, यसको सयौँ रोगहरु छन् । यसमा खासगरी हुने लक्षणहरु भनेका निन्द्रा नलाग्ने, टाउको दुख्ने, डर लाग्ने, ढुकढुक हुने, आत्तिने, मर्छु जस्तो लाग्ने, शंका लाग्ने, अरु कसैले मलाई बिर्गान लागे, मार्न लागे, मेरो बारेमा कुरा गरिरहेको छ कि भनेर शंका, उपशंकाहरु हुने । मन निराश हुने, दिक्क लाग्ने, कुरा खेल्ने, नरमाइलो लाग्ने, आत्महत्याको महशुस हुने । चुरोट, रक्सी, खैनी, गाँजा, ट्याब्लेट, इन्जेक्शनहरुको सेवन गर्ने, हातखुट्टा झमझम गर्‍यो । पोल्यो, ज्यान दुख्यो भन्ने । त्यस्तै बेहोसीको समस्या । सास फेर्न गाह्रो हुने । याैन समस्या, चाहनाहरु कम हुने । यसमा धेरै खालका समस्याहरु हुन्छन् । सामान्य समस्या तपाईंलाई अचम्म लाग्ला पेटसम्बन्धी समस्या पनि मनको कारणले गर्दा हुनसक्छ । ग्यासट्राइटिक (ग्याष्ट्रिक)को औषधि खाँदाखाँदा सञ्चाे नभएपछि आजकाल पेटकै डाक्टरहरुले पनि हामीकहाँ पठाउनुहुन्छ । ग्यासट्राइटिक सञ्चाे भएन, उल्टी भयो । साइकोजेनिक बोमेटिङ भन्छौँ हामी । मनको कारणले गर्दा डाइरिया हुने, मुटु ढुकढुक हुने, छाती दुख्ने, मन भारी हुने मान्छे गंगालाल गएर देखाउनुहुन्छ, केही पनि छैन भनेर भन्दिनुहुन्छ । लास्टमा फेरि उहाँहरु हामी भएको ठाउँमा आउनुहुन्छ मुटुको समस्या लिएर । हेर्दाखेरि मुटुको लक्षणजस्तो देखिन्छ तर रियालिटीमा मनको समस्या । सबै ब्रेनले गरिरहेको छ । कोही हात चलेन भन्दै आउनुहुन्छ । औँलाहरु लाटो भयो, हातखुट्टा दुख्यो, झमझम भयो भन्दै आउनुहुन्छ । कोही बेहोसीमा परेर आउनुहुन्छ, कोही टाउको दुखेर उल्टी भएर आउनुहुन्छ । विभिन्न लक्षणहरु नशा र मनसँग जोडिएर आएको हुन्छ ।  

कुन स्टेजमा तपाईंकहाँ बिरामी आइपुग्छन् ?

सामान्यतया मानसिक रोग भन्ने बित्तिकै नेपाली जनमानसले आज पनि म पागलको डाक्टरकोमा गएँ की, बौलाहाको डाक्टर कहाँ गएँ की भन्ने डरको कारणले गर्दाखेरि समस्या हुँदाहुँदै पनि उसले आत्महत्याको प्रयास गरिसकेपछि वा कुलतमा पनि एकदमै इन्जेक्शन हानेर खुट्टा काट्नुपर्ने अवस्था भइसकेपछि मात्रै घरका मान्छेहरुलाई अनुभूति हुन्छ । यस्तै कुनै घटना भइसकेपछि चाहे आफैँलाई असर परिसकेपछि अथवा अरु कसैलाई असर पारिसकेपछिको परिस्थितिपछि मात्रै घरपरिवारका मान्छेहरु आउने गर्नुहुन्छ । सामान्यतया हाम्रो समाजले के भन्छ भने आफै बलियो भएर बसे भइहाल्यो नि किन कुरा खेलाउने ? त्यहाँ मानसिकको डाक्टरकोमा गयो भने बौलाहाको औषधि दिन्छ । दिमागले काम गर्दैन । त्यहाँ जानु हुँदैन । मलाई पनि डिप्रेशन भएको थियो आफैँ बलियो भएँ । किन कुरा खेलाइरहने, राम्रो राम्रो सोच्यो भने त सञ्चाे भइहाल्छ नि । भनेर परिवारका मान्छेसँग सहयोग माग्दा उसलाई त्यहाँबाट पन्छाइदिने । त्यो आफैँ बलियो हुने भनेको के हो त्यो कसैलाई पनि थाहा छैन । त्यो खालको कारणले गर्दाखेरि परिवारबाट पनि साथ नपाउने । समाजबाट पनि त्यो चिजको साथ नपाउने, आत्महत्या जस्ता समस्या आउने गर्छन् । हरेक दिनजसो म अस्पतालमा दुई/तीनवटा आत्महत्याको प्रयास गरेर आउने बिरामीहरु हरेक दिन हेर्छु । म एउटा डाक्टरले दिनमा दुई, तीन जना हेर्छु भन्दा महिनामा ६०, ७० जना बिरामी त म एक्लै हेर्छु । भनेपछि यस्तो कतिवटा अस्पताल होलान् ? भनेपछि यो कुन फेजमा रहला ? कोभिडपछि, भूकम्पपछि मानसिक समस्या एकदमै विकराल रुपमा छ । बेरोजगारी, आर्थिक समस्या आदिलाई कसरी व्यवस्थापन गर्नसक्छ त ? यि सबै समस्याहरुलाई मान्छेले जब व्यवस्थापन गर्न सक्दैन त्यसपछि उसलाई इमोशनमा, फिलिङ्समा, थर्ट प्रोसेसमा, बिहेभियरमा समस्या आउँछ । उसको विचार फरक बनिदिन्छ । सोचहरु फरक बनिदिन्छ । अनुहारको हाउभाउ फरक बनिदिन्छ ।  रिसाउने भइदिन्छ । चिटचिटापन भइदिन्छ । अहिले त नयाँ समस्या के देखिएको छ भने सात वर्षदेखिको बच्चाहरु मानसिक समस्याहरु लिएर आइराख्नुभएको छ । सात, आठ वर्षका बच्चाहरु मोबाइल चलाउने । मोबाइल पाएन भने टाउको फुटाएर आउने । पब्जि खेल्न पाएन भने झगडा गर्ने । स्कुल नजाने । कति बच्चाहरु चौबिस घण्टा हिन्दी सिनेमाहरु हेर्दा हेर्दा नेपाली र अंग्रेजी भाषा नै बिर्सिएर पागल जस्तो भएर आइदिने । यस्ता यावत् चिजहरु ११/१२ वर्षका बच्चाहरुले आत्महत्या गरेका । निद्रा नपरेका । टाउको दुख्यो भन्दै आउने । एकदमै लार्ज स्केलमा । हामीले छलफल गर्नुपर्ने तर छलफल नगरिएको विषयवस्तुमा यो पर्छ । र हामीले छलफल गरे पनि नगरे पनि यो समस्याले हामीलाई छोड्दैन ।

तपाईंले बालबालिकाको कुरा गर्नुभयो, यति प्रतिशत बालबालिकाहरु प्रभावित भइराखेका छन् अथवा बढ्दै गइरहेको छ भन्ने कुनै डेटा छ ?

नेशनल सर्भे त हामीसँग छैन । तर मेरो अनुभव मैले दश वर्ष पहिला अभ्यास शुरु गर्दाखेरि मैले सायद एउटा पनि पेसेन्ट हेर्दिन थिएँ भने अहिले उस्तै पर्‍यो भने ६ वर्षदेखि १४/१५ वर्षका ३/४ जना बिरामी मैले दैनिक हेर्नु परिराखेको छ । यस्तो हरेक ठाउँमा हरेक स्थानमा भइराखेको होला । यही तहमामा बढीराखेको होला यो समस्या । बच्चाहरु हावा चले पनि डराउने, एक्लै बस्न नसक्ने, समाजमा गएर कुरा गर्न नसक्ने । समाजबाट एक्लिँदै छौँ भन्ने सोच्ने, बच्चाले बोल्न नपाउँदा आवाज नै नफुटेको । ढिलो बोल्ने । नयाँ मान्छेहरु सँग गफ गर्न नसक्ने । बच्चाहरुका यी समस्या एकदमै धेरै छन् ।

उपचारपछि बिरामीमामा आएको परिवर्तन कस्तो छ ? के पाउनुभएको छ ?

त्यो एकदमै राम्रो छ । ९५ प्रतिशत भन्दा धेरै बिरामी निकाे भएर जानुहुन्छ । केही सीमित बिरामीमा हामीले त्यसमा औषधि पनि बन्द गरिदिन्छौँ । बिरामीलाई के लाग्छ भने, समाजलाई के लाग्छ भने मानसिक रोग भनेको पागलपन हो । मानसिक रोग हेर्ने डाक्टर पनि पागल हुन्छ । रोग पनि पागलपनको रोग हो । त्यो कारणले गर्दाखेरि हामी सकेसम्म पागलपनको डाक्टरकहाँ जाने होइन । आफैँ कोशिस गर्नुपर्छ । योगा गरेर, ध्यान गरेर, मनमा कुरा नखेलाएर, सकारात्मक सोच्यो भने आफैँ सञ्चाे हुन्छ भनेर हामी आफ्नै समस्यालाई लम्ब्याउँदै जान्छौँ र एकैचोटी आत्महत्या गरेर आईसीयूमा आइपुग्ने अवस्था हुन्छ । यो खालको परिस्थितिमा बिरामीहरु बसिराख्नुभएको छ । यही परिस्थितिमा हाम्रा छोराछोरीलाई, हाम्रा दाजुभाइलाई, हाम्रो समाजलाई कहिलेसम्म यो समस्याबाट ग्रसित गराइराख्ने ? अथवा यसको बारेमा कसले बोल्ने त ?

विगत एक वर्षको समयको विश्लेषण गर्दा कस्तो खालको समस्याको प्रकृति लिएर आउने र उमेर समूह पनि कस्तो खालका बढेका छन् ?

अहिले सबभन्दा कमन देखिएको एन्जाइटी । डर, ढुकढुक हुने, आत्तिने, सास फेर्न गाह्रो हुने, अर्को अनिद्रा, युवा पुस्तामा चाहीँ अनिद्राको समस्या । मोबाइल, टेक्नोलोजी, सोसल मिडियाको प्रयोगको कारणले गर्दा अधिक मान्छेहरु यसको शिकार भइराखेका छन् । सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक कुरा पनि आउँछन् । तर त्यसको छनाेट कसरी गर्ने ? फिल्टर कसरी गर्ने ? नकारात्मक सोच र नकारात्मक जानकारीहरुको प्रभाव हाम्रो मनमा कसरी परिरहेको छ ? आफैँले रोग पत्ता लगाएर आफैँले उपचार गर्न खोज्ने प्रवृत्तिको कारणले गर्दा मानिसहरुमा यावत समस्याहरु देखिएको छ । मिडियाको प्रयोगले गर्दा मान्छे १/२ बजे सुत्ने । मोबाइल चलाउने, टिकटक चलाउने, पब्जी लगायतका गेम खेल्ने यसरी मानिसहरु अल्मलिइरहनुभएको छ । त्यसो हुँदा युवापुस्ताको ब्रेन, क्रेटीभिटी सबै हट्दै गइरहेको छ ।

मानिसहरुलाई तपाईंको सुझाव के छ, के–के भयो भने नडराइकन मनाेविद् अर्थात् न्युरो साइक्याट्रिककोमा आउनुस् भन्नुहुन्छ ?

नशा तथा मानसिक रोग भनेको कुनै ठूलो समस्या होइन । एकदमै सामान्य समस्या हो ।  ग्यास टाइटिक (ग्याष्ट्रिक) को समस्यामा औषधि खाएर सञ्चाे भएको जस्तै मनको पनि समस्या भयो भने औषधि खाएर सञ्चाे हुन्छ । यसका सयौँ प्रकृतिका रोग छन् । एउटै मात्र प्रकृतिको रोग छैन । जाने बित्तिकै डाक्टरले दिमागले काम नगर्ने औषधि दिन्छ भनेर कल्पना गर्नुपर्दैन । हामी सामान्य गफ गरेर, काउन्सिलिङ गरेर पठाउन सक्छौँ । कति पटक हामी साइको थेरापी सेसनहरु प्लान गर्नसक्छौँ । त्यति धेरै डराउनुपर्ने आवश्यकता छैन । औषधि खाइहाल्दा पनि डाक्टरलाई सोध्दा हुन्छ कति समयसम्म खानुपर्छ औषधि भनेर । डाक्टरले प्रष्ट रुपमा भन्नसक्छ, १ वर्षजति खायो भने मज्जाले पुग्छ । सामान्य रोगहरुको अवस्थामा । तर सर्टेन रोगहरुमा चाहीँ औषधि अलि लामो समय खानुपर्ने हुन्छ । त्यो कुरा पेसेन्टलाई राम्रोसँग भनिएको हुन्छ । बिरामीलाई रोगको बारेमा भनिएको हुँदैन भने बिरामीको मान्छेलाई भनिएको हुन्छ । यो चिजहरुबाट रोक्नका लागि तपाई आफैँले नै आफूबाट शुरु गर्नुपर्छ । आफ्नो घरबाट शुरु गर्नुपर्छ ।

निस्कर्षमा यो न्युरो साइक्याट्रिक समस्या पछिल्लो समय बढ्दै गइरहेको छ भन्नसक्छौँ ? बालबालिकाको उमेर समूहमा पनि बढेको छ ?

मज्जाले भन्नसक्छौँ । कोभिडपछि बालबालिकाको उमेर समूहमा पनि बढेको छ । युवा, किशोरमा पनि बढेको छ । कोभिडको कुरा मात्र रहेन । आर्थिक समस्याको कुरा मात्र रहेन । बुबाआमाले समय दिन नसक्नु, यसमा विभिन्न फ्याक्टरहरु छन् । धेरै तत्त्वहरुकाे भूमिका छ । आमा, बुवाको दोष अथवा पैसाको कमी यो कुनै एउटा चिज छैन । 

अन्तिम अपडेट: जेठ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया