निराश नागरिकलाई ‘अनागरिक’ को साथ !

 माघ १५, २०७९ आइतबार १५:२२:४८ | मिलन तिमिल्सिना
unn.prixa.net

सडकको कुनामा गालामा हात लगाएर झोक्राइरहेकाहरू एकै ठाउँमा भेला भएपछि आ–आफ्ना दुःखका पोकाहरू फुकाउन थाले ।

मेरो नाम प्रेमप्रसाद । आफ्नै नाममाथि ठूलो विश्वास गरेर प्रेमको प्रसाद लिन मायाको आहालमा झ्वाम्म हाम फालेको थिएँ । तर मायाको भवसागर पार गर्न धौधौ भयो । ठूला–ठूला छाल र भूमरीले हायलकायल पार्‍याे । आफ्नै नाम मिसिएको प्रेमको आहाल पार गर्न नसकेर दलदलमा फसेँ । उसले मेरो मुटु चुँडेर लगी, फिर्ता गरिन । त्यसपछि रातदिन माया, प्रेम र धोका मिसिएका गीत सुन्दै छाती पिट्न थालेँ । अहिलेजस्तो मेला, महोत्सवमा गीतको तालमा छाती पिटीपिटी भाइरल हुने चलन आएको थिएन । नत्र त्यसै गर्नुहुन्थ्यो । बिछोड र धोकाका गीत गाउँदा–गाउँदै भात खान बिर्सेँ । लुगा लगाउन बिर्सेँ । आफ्नो घर बिर्सेँ, थर बिर्सेँ । आफ्नै प्रेम नाम चाहिँ बिर्सन सकिनँ, अहिले यो हालत भयो । म प्रेममा धोका खाएको असफल प्रेमी ।

प्रेममा असफल भएर ठिक गरेछौ साथी, नत्र अहिले मेरो हालत हुन्थ्यो । सुन मेरो कहानी । मेरो प्रेम विवाह भएको हो । विवाह भएको दुई/चार दिन त रमाइलै भयो । त्यसपछि नरमाइला र नमज्जाका दिनहरू सुरु हुन थाले । बिहेको रात पनि टिकटक बनाउँछु भनेर मोबाइल झिकेकी थिइ, बल्लबल्ल मोबाइल खोसेर टिकटक बनाउन रोकेँ । त्यसपछि त जुनसुकै बेला जहाँ गए पनि टिकटक । खाँदा पनि टिकटक, सुत्दा पनि टिकटक, उठ्दा पनि टिकटक, हिँड्दा पनि टिकटक । टिकटक लाइभमा बसेर भ्युज बढाउन सके पैसो आउँछ भनेर मोबाइल मात्रै थिचिरहने । त्यसमाथि मलाई देखाएर टिकटक बनाउँदा धेरैले हेर्दैनन् भन्दै एक्लै बसेर नानाथरी हाउभाउ गर्दै टिकटक बनाइरहने । यसैगरी टिकटक बनाउँदै जाँदा ठिकठाक भइरहेको हाम्रो जिन्दगीमा ठाकठुक हुन थाल्यो । त्यसपछि निस्केर हिँडेँ । अहिले उ घरमा टिकटिक बनाएर नाच्छे, म यहाँ अरूले टिकटक बनाएको हेरेर ताली बजाउँछु ।

ए तपाईँ चाहिँ टिकटक बनाउने श्रीमतीको पीडित हुनुहुँदो रहेछ । म चाहिँ श्रीमान् पीडित । जहाँ पनि महिला प्रतिनिधित्वको कुरा उठ्ने भएपछि यहाँ मैले सहभागिता जनाउनैपर्ने भएर आफ्नो कुरा राख्दैछु । हिजोआज हामी महिलाले भन्दा पुरुषले धेरै टिकटक बनाउँछन् । श्रीमतीसँगै सुत्दा पनि खाटको कुनातिर फर्केर मोबाइलमा च्याट गर्छन् । श्रीमतीको आँखा, कान छलेर अर्कीसँग रमाउँछन् । मेरो श्रीमान् भनाउँदो पनि यस्तै रहेछ, पछि मात्रै चाल पाइयो । सँगै बस्दा पनि मसँग नबोल्ने, सँगै हिँड्दा पनि मलाई नहेर्ने, सँगै सुत्दा कुनापट्टि फर्केर मोबाइलमा अर्कीसँग च्याट गर्ने, उसैगरी टिकटकमा नौटङ्की गरिरहने । मेरो पालो बिहान उठेर कुचैकुचाले हिर्काएको थिएँ, त्यसपछि घर मुन्टिएका छैनन् । मलाई पनि घर बस्न मन नभएर यतै भौतारिरहेको छु ।

तपाईँहरू माया, प्रेम र दाम्पत्य जीवनमा हन्डर खानुभएको मान्छे हुनुहुँदो रहेछ । म त ऋणले डुबेपछि मर्छु भनेर हिँडेको तर कहिले आफैँलाई मर्न आँट नआएर अनि कहिले चाहिँ सरकारले मर्न पनि नदिएर मर्नु र बाँच्नु अवस्थाको मान्छे । पढेपछि जागिर पाइन्छ भनेर डिग्रीसम्म पढियो । झोलाभरि प्रमाणपत्रका खात बोकेर जागिर खोज्दै हिँड्दा पाइएन । त्यसपछि सीप सिक्यो भने जागिर पाइन्छ भनेर मान्छेहरूले भने । सीप सिकियो, फेरि पनि देशमा जागिर पाइएन । त्यसपछि विदेशमा त पैसाको बोट हुन्छ भनेर कसैले सुनायो । त्यसपछि हाम फालेर उता गइयो, त्यता पनि पैसाको बोट भेटिएन, रित्तै फर्कनुपर्‍याे । अनि देशभित्रै केही गर्नेलाई सरकार र बैंकहरूले सहयोग गर्छन् भन्ने सुनेपछि त्यता लागियो । तर त्यो पनि टाठाबाठालाई मात्रै रहेछ । देशमै केही गर्छु भनेर अघि बढ्न खोज्दा ऋणमाथि ऋण लाग्यो । अरूले जस्तो झुन्डिन पनि सकिएन, आफैँलाई आगो लगाउन आँट पनि आएन । त्यसमाथि सरकारले बोतलमा पेट्रोल लिएर हिँड्न नदिने भनेछ । आगो लगाउन पनि नपाइने होला । झुन्डिन जाउँ भने रुखका हाँगा काट्ने होला । हाम फाल्न जाउँ भनेर भिर, पहरा नै भत्काउने होला । न जिउन सजिलो भयो, न मर्न । 

नमस्कार है साथीहरू । अब अरू बाँकी साथीले आ–आफ्नो व्यथा भनिरहन परेन । तपाईँहरू को कसलाई कस्तो चिन्ता र निराशा छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । कतिलाई घरबार नमिलेर चिन्ता छ, कसैलाई सरकारले केही नगरेर चिन्ता छ । मेरो झन् बेग्लै चिन्ता छ । अहिले तपाईँहरूसँगै होस्टेमा हैँसे गर्दै मिसिन आएको । म को भन्नुहोला । तपाईँहरूभन्दा बिल्कुल फरक एक अनागरिक । तपाईँहरूसँग त अरू थोक नभए पनि नागरिकता त छ नि ! मेरो त सबैथोक हुँदा पनि नागरिकता छैन । अझ छैन पनि हैन, छैन रे । अरूले भनेको । पत्याउनुहुन्छ ?

ओहो सर तपाईँ कसरी यहाँ आइपुग्नुभयो ? तपाईँलाई त अनागरिकभन्दा पनि नागरिकता नभएको अर्थात् पुनः नागरिकता प्राप्त नगरेको मान्छे भनेर पनि बुझ्नुपर्‍याे । हामी निराशावादीको हुलमा तपाईँ आउन मिल्दैन ।

किन नमिल्नु, हेर्नुहोस् म पनि तपाईँहरूजस्तै साधारण मान्छे हो । शक्तिशाली पदहरू एकै पटक गुमाउनुपर्दाको पीडा कस्तो हुन्छ भन्ने कुरा तपाईँहरूले बुझ्नु हुन्न । खैर यसमा केही भएन । अब निराशालाई आशामा बदल्नुपर्छ । मबाट तपाईँहरूले धेरै आशा गर्नुभएको छ । तपाईँहरूलाई थप निराशा बनाउन दिन्नँ । मलाई राम्रोसँग थाहा छ, सडकमा यसैगरी झोक्राएर निराशालाई आशामा बदल्न सकिँदैन, सरकारमै पुग्नुपर्छ त्यो पनि रोजेकै मन्त्रालयमा । म फेरि सरकारमै जाने बाटो हेर्दैछु, अहिले तपाईँहरूको भावनासँग मिसिन मात्रै यहाँ आएको । सरकारमा पुगेपछि पहिलेजस्तै निर्देशनको खात लगाएर तपाईँहरूको पनि निराशा मेटाउँला, मेरो त यसै मेटिन्छ । ल धेरै निराश नहुन तपाईँहरू सबैलाई निर्देशन दिन चाहन्छु, धन्यवाद !

अन्तिम अपडेट: चैत २७, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया