प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृतिसँगै लिन सकिन्छ यी सेवा

 माघ १७, २०७९ मंगलबार १३:१९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृति सेवासँगै वैदेशिक रोजगारी सम्बन्धी अन्य काम पनि गर्न थालेका छन् । 

नयाँ, संस्थागत र पुनः श्रम स्वीकृतिसँगै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरूले कामको माग निर्धारण, अनुगमन, मूल्याङ्कन लगायतको काम पनि गर्न सुरुवात गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

 यसअघि प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट श्रम स्वीकृति सम्बन्धी सेवा मात्रै प्रदान हुँदै आएको थियो । 

तर पछिल्लो समय भने वैदेशिक रोजगारीमा श्रमिक पठाउन निश्चित सङ्ख्यामा कामको निर्धारण गरी पूर्व स्वीकृतिका लागि प्राप्त निवेदन लिने र पूर्व स्वीकृति प्रदान गर्ने काम पनि श्रम कार्यालयहरूले गर्न थालेका छन् । 

यस्तै म्यानपावर कम्पनीहरूले विज्ञापन गरे नगरेको सम्बन्धमा नियमित अनुगमन गरी सत्य तथ्य बुझ्ने, श्रम स्वीकृतिको स्टिकरको लागि निवेदन लिने र श्रम स्टिकर दिने, व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान चाहनेको निवेदन लिने र स्वीकृति दिने काम पनि श्रम कार्यालयहरूले गर्छन् । 

यसका साथै म्यानपावर कम्पनीको शाखा कार्यालयहरूको अनुगमन तथा निरीक्षण गर्ने काम पनि अब श्रम तथा रोजगार कार्यालयहरूबाट हुने छ । 

पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनबाटै प्रदान भइरहेको छ । वैदेशिक रोजगारीमा रहेकाहरूले गन्तव्य देशबाटै पनि अनलाइनमार्फत लिन सक्छन् । 

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया