पर्यटकीय केन्द्र बन्दै जुम्लाकाे तातोपानी धारा

 माघ १७, २०७९ मंगलबार १३:५०:१७ | नेत्र शाही
unn.prixa.net

जुम्ला - तातोपानी गाउँपालिकामा रहेको तातोपानी धारामा नुहाउने पर्यटक बढेका छन् । चिसो माैसममा ताताेपानीमा नुहाउने आन्तरिक पर्यटक बढेका हुन् । तातोपानी गाउँपालिका वडा नम्बर २ मा रहेको जर्मी गाउँमा अहिले दैनि एक सय जनाभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । 

शनिवार अझ धेरै पर्यटक आउने गरेका तातोपानी धाराका कर्मचारी धनबहादुर रावतले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रति महिना अहिलेको सिजनमा १ लाख १५ देखि २० हजार रुपैयाँसम्म  आम्दानी हुने गरेको छ । तर गर्मी सिजनमा भने पर्यटककाे सङ्ख्या घट्ने गरेकाे उहाँले बताउनु भयाे । ताताेपानी धाराबाटै वार्षिक करिब १२ देखि १४ लाख रुपैयाँसम्म आम्दानी हुने गरेकाे छ । 

अहिले विदेशी नागरिकलाई प्रवेश शुल्क एक सय तथा अन्यलाई ३० रुपैयाँ टिकट दर कार्यान्वयन भइरहेको कर्मचारी रावतले बताउनुभयो । धाराको सञ्चालन तथा व्यवस्थापन वियमा तातोपानी गाउँपालिकाले कार्यविधि समेत बनाएको छ । तातोपानी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष चन्द्रमान बुढाले कार्यविधि भर्खर पास भएको र कार्यविधि अनुसार नयाँ शुल्क निर्धारण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । अहिले धाराको व्यवस्थापनको जिम्मेवारी वडा कार्यालयले लिएको र ३ जना कर्मचारी रेखदेखका लागि राखिएकाे छ । 

तातोपानीमा नुहाउन पाउँदा भने पर्यटक खुशी देखिन्छन् । जुम्लामा हिउँदे सिजनमा चिसो पानीमा नुहाउन कठिन हुने भएकाले तातोपानीमा नुहाउनेको भिड पनि लाग्छ । अझ शनिवारको दिन कार्यालयका कर्मचारी तथा आन्तरिक पर्यटकहरु नुहाउन आउने गरेका छन् । तातोपानीमा नुहाउन आएका जुम्ला हिमा गाउँपालिकाका देविकृष्ण अधिकारीले तातोपानीले नुहाउने मात्रै नभइ औषधि समेत हुने विश्वास रहेको बताउनुभयो । 

पछिल्लो समय तातोपानीमा सरसफाइ पनि निरन्तर गर्ने गरिन्छ । गाउँपालिकाले तातोपानीको सरसफाइमा बढी जोड दिएको अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताउनु भयाे । उहाँले जिल्लाकै पर्यटकीय केन्द्र तातोपानी भएको हुँदा यसलाई विशेष ध्यान दिने बताउनु भयाे । 

तातोपानीको धारा व्यवस्थापनका लागि पर्याप्त बजेट अभावका कारण समयअनुकूल संरचना बनाउन नसकिएकाे उहाँले बताउनु भयाे। यसका लागि स्थानीय सरकारले पहल गरिरहेको छ । अहिले महिलाहरु नुहाउने धारा सुरक्षित गरिएको वडा कार्यालयले जनाएको छ । तातोपानीमा जुम्लासहित नजिकको जिल्ला कालीकोट, मुगु, जाजरकोट, डोल्पाबाट पनि मानिसहरु नुहाउन आउने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया