विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

 माघ १७, २०७९ मंगलबार १६:४३:८ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुमा निर्माण गरिएको जलविद्युत् आयोजनाले न्यूनतम मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत भएको छ । जिल्लामा निर्माण सम्पन्न भएर बिजुली उत्पादन सुरु गरेको ९ दशमलव ५ मेगावाटको मध्य सोलु खोला जलविद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा अहिले सोलु खोला सुक्खा बगरमा परिणत भएको हो ।

खोलामा बगिरहने पानी आयोजनाले सबै लगेपछि अहिले सोलुदुधकुण्ड नगरपालिका ३ र ४ क्षेत्रको खोला नै सुक्खा बनेको छ । विद्युत् विकास विभागको नियमअनुसार आयोजना निर्माण गर्दा कम्तीमा १० प्रतिशत पानी खोलामा छोड्नुपर्ने मापदण्ड भए पनि यहाँका आयोजनाले त्यसलाई पालना गरेका छैनन् । जसका कारण सोलु खोलाको जलप्राणीहरूको अस्थित्व नै गम्भीर सङ्कटमा परेको स्थानीय दावा तामाङले बताउनुभयो ।

जिल्लामा तल्लो सोलु खोला, माथिल्लो सोलु खोला, बेनी, लिखु खोला लगायत आधा दर्जनभन्दा बढी आयोजना निर्माणाधीन अवस्थामा छन् । धेरैजसाे आयाेजनाले खोलामा मापदण्डअनुसारको पानी छाड्न आनाकानी गरिरहेका स्थानीयले बताएका छन् ।

यसैबीच सोलु खोलाको पानी सुकाएर बगरमा परिणत भएपछि अहिले सोलु खोला नै  क्रसरहरूको नदीजन्य पदार्थ उत्खनन गर्ने थलो बनेको छ । खोलामा पानी नभएपछि क्रसर उद्योगहरूले गाडी नै खोलामा लगेर ढुङ्गा उत्खनन गर्न थालेका छन् । रोजगार दिने भन्दै क्रसर उद्योगीहरूले आफूहरूलाई खोलाभित्रको ढुङ्गा निकाल्न लगाएको स्थानीय रमन तामाङले बताउनुभयो ।

जलविद्युत् आयोजनाले सामान्य मापदण्ड पालनामा ख्याल नगर्नु र खोलाको ढुङ्गा क्रसरले धमाधम उत्खनन गरिरहँदासमेत पालिकादेखि प्रशासनसमेत मौन छ । जसका कारण वातावरणदेखि प्राणी जगतको जीवनचक्रमा समेत खलल पुग्न सक्ने वातावरण विज्ञ राजन थापा चिन्ता व्यक्त गर्नुहुन्छ । जङ्गली जनावर तथा जल प्राणीहरूको अस्थित्व जोगाउनसमेत खोलामा कम्तीमा १० प्रतिशत पानी छोड्नैपर्ने थापाको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया