आकाश झार्नु भनेकाे छैन, एक महिनाभित्र पशुपति सफा हुनुपर्छ : मन्त्री किराँती

 माघ १७, २०७९ मंगलबार १७:३३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिनुभएको छ ।

मङ्गलवार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीलाई मन्त्री किराँतीले पशुपति क्षेत्र असाध्यै फोहर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर पशुपति सफा गर्न आग्रह गर्नुभयो । उहाँले पशुपति परिसरमा रहेका शौचालय एकदमै फोहर भएको भन्दै शौचालयको सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । 

मन्त्री किराँतीले पशुपति क्षेत्र विकास कोषले पशुपति विकासका लागि गर्ने कामको तत्कालीन, अल्पकालीन र दीर्घकालीन क्यालेन्डर बनाउन पनि आग्रह गर्नुभयो । उहाँले पशुपतिजस्तो पवित्र स्थानमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने चेतावनी दिनुभयो । पशुपति क्षेत्र विकास कोषले कल्याणकारी कामहरू गर्नसक्ने भन्दै कोषले विश्वविद्यालय, अस्पताल र विद्यालय सञ्चालन गर्नु सामान्य काम भएको उहाँकाे भनाइ छ ।  

उहाँले भन्नुभयो, ‘पशुपति जस्तो पवित्र स्थान पाएर पनि हामीले राम्रोसँग प्रयोग गर्न सकेका छैनौँ । हाम्रो ज्ञान, क्षमता र संस्कृतिमाथि गम्भीर प्रश्न बनेको छ । अब काम भए दया र बेइमान भए दण्ड हुन्छ । पशुपति विकास कोषले क्यालेन्डर बनाएर हामीलाई बुझाउनुपर्छ र त्यहीअनुसार अनुगमन हुन्छ । सफा पशुपति पवित्र पशुपति नाराका साथ एक महिनामा पशुपति क्षेत्र सफा हुनुपर्छ । एक महिनाभित्र सफा गर्नु भनेको छु । आकाश झार्नु भनेको छैन ।’

मन्त्री किराँतीले मन्त्री र सचिवलाई पैसा दिनुपर्ने भन्दै पशुपतिमा फूल महँगोमा बेच्ने गरिएको गुनासो आएकाले त्यसबारे नियमन गर्न निर्देशन दिनुभयो । उहाँले कुन सरकारको पालामा कुन मन्त्री र सचिवले पैसा लिए भन्ने नाम दिए पत्रकारको सामु पढेर सुनाउने बताउनुभयो । उहाँले एउटा शटर भाडामा लगाउन लाखौँ रुपैयाँको डिल हुने गरेको सुन्नमा आएको भन्दै अब त्यस्तो कुरा सुनिए तत्काल कारबाही गर्ने चेतावनी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया