झ्याल र ढोकाबाट सूचना दिँदैनौँ : मन्त्री पौड्याल

 माघ १८, २०७९ बुधबार १८:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले मन्त्रालयका सूचनालाई झ्याल र ढोकाबाट नभइ सबैलाई एकमुस्टरूपमा दिइने बताउनुभएकाे छ । बुधवार मन्त्रालयमा भएकाे पत्रकार सम्मेलनमा उहाँले सबै सञ्चारकर्मीलाई ह्वाट्सएप वा इमेल ग्रुपबाट सूचना दिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘सूचना हामी समयमा नै दिनेछौँ । ह्वाट्सएप वा इमेल ग्रुपमा काम गर्नेछौँ । सकेसम्म हामी ग्रुपमा सूचना दिन्छौँ । कसैलाई ढोकाबाट, झ्यालबाट गर्दैनौँ ।’

यसैबीच पाैड्याल मन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रूपमा श्रीलङ्का जानुहुने भएको छ । उहाँ बिहीवार श्रीलङ्कातर्फ प्रस्थान गर्नुहुने भएको हो । मन्त्री पौड्यालले श्रीलङ्का भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्त्वका अवसरहरूमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्री पाैड्यालले श्रीलङ्का भ्रमणका क्रममा सार्कको बारेमा पनि साइडलाइन कुराकानी सम्भव भएसम्म गर्ने बताउनुभयो । उहाँले परराष्ट्र नीतिका बारेमा पनि एक पटक विज्ञहरूसँग बसेर छलफल गर्ने कार्यक्रम बनाइरहेको बताउनुभयो । 

शुक्रवार मन्त्री पौड्यालले श्रीलङ्काका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको र त्यही दिन स्वागत लञ्चको कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ । त्यही दिन उहाँले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औँ वर्षगाँठका अवसरमा श्रीलङ्का सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी भइसकेपछि त्यसै दिन मन्त्री पौड्यालले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया