गुठी जग्गा उपयोग प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय

 माघ २०, २०७९ शुक्रबार ११:३९:१३ | रासस
unn.prixa.net

काठमाण्डाै – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशमा रहेका गुठी जग्गा संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरु गरेको छ । गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्त्वयुक्त क्षेत्र भएकाले मन्त्रालयले उपयोगको प्रभावकारिता बढाउन जग्गाको संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल आरम्भ गरेको हो ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले गुठी जग्गा उपयोग गरी देवस्व बुझाउँदै आएका व्यक्तिलाई अपनत्वबोध गराई जग्गा व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउने उद्देश्यले छलफल सुरु गरिएको जानकारी दिनुभयो । मन्त्रालयले पछिल्लो समय जनकपुर, धादिङ र पाल्पाको अमरनारायण गुठीका सरोकारवाला र गुठी संस्थानका पदाधिकारीसँग छलफल गरिसकेको छ ।

मन्त्रालयले गुठीको ऐतिहासिक पक्ष यसका मूल्य, मान्यता, कानुनी व्यवस्था र जनसरोकारको विषयमा सरोकारवालासँग अन्तरक्रिया गरेर उपयुक्त समाधान निकाल्न शीघ्र गृहकार्य गर्न गुठी संस्थानलाई निर्देशन दिएको छ । सरोकारवालासँगको छलफलका आधारमा गुठी संस्थानले केही दिनभित्रै प्रतिवेदन पेस गर्ने सचिव रेग्मीले बताउनुभयो ।

पाल्पाको अमरनारायण गुठीको जग्गाको ऐतिहासिक महत्त्व र यसमा नागरिककाे सहभागिता विषयमा पाल्पाबाट प्रतिनिधित्व गर्नुहुने सांसद नारायण आचार्य र पूर्वसांसद कुलप्रसाद नेपाललगायतले संसद्को प्राकृतिक स्रोत समितिले दिएको सुझाव कार्यान्वयन गर्नु उपयुक्त हुने धारणा राख्नुभयो । गुठी संस्थानका प्रशासक किरण शाक्यले नयाँ गुठी ऐनको अभावमा यस्ता विषयहरू सम्बोधन गर्न अप्ठ्यारो परेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया