नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता

 माघ २०, २०७९ शुक्रबार १२:३६:२० | रासस
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे बिहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्नुहुन्छ । नदी तर्नका लागि उहाँले अस्थायी काठको पुल बनाउनुभएको छ । पुलमार्फत ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उहाँ शुल्कलिनुहुन्छ । 

पुलमार्फत नदी वारपार गर्ने मोटरसाइकल सवारले ४० र साइकल सवारले पाँच रुपैयाँ बुझाउनुहुन्छ । रानाको यो पछिल्लो तीन वर्षदेखिको दिनचर्या हो । 

रानाले नदी छेउमै काठको वेरियर छेउ सानो पसल पनि राख्नुभएको छ । पुल भएर ओहरदोहर गर्ने साइकल तथा मोटरसाइकल सवार यात्रुबाट हुने आम्दानीले उहाँले घर खर्च चलाउनुभएको छ । पुल प्रयोग गर्नेहरूबाट उहाँले दैनिक एक हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म रकम उठाउनुहुन्छ । श्रीमानको निधन भएपछि छोरा बुहारी, नाती नतिनाको खर्चको जोहो गर्न उहाँले नदीमा अस्थायी पुल राख्नुएको हो ।

‘रोजगारी छैन । खेती गर्न जग्गा छैन । नदीले जग्गा बगाएपछि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएका छौँ’, उहाँले भन्नुभयो, ‘हरेक वर्ष बर्खा सकिएपछि कात्तिकदेखि नदीमा अस्थायी पुल राख्ने गरेकी छु ।’ उहाँले कात्तिकमा राखेको पुल जेठतिर निकालेर घरमा राख्नुहुन्छ । नदीमा सात महिना राखिने पुलबाट हुने आम्दानीले रानाको परिवार चलेको छ ।

रानाले अस्थायीरूपमा काठको पुल राखेको स्थानभन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठडयाइएका छन् । तर एक दशकअघिदेखि यसैगरी उभिएका पिलरले कहिले मूर्त रूप कहिले लिने हो टुङ्गो छैन ।

स्थानीय बोटसिंह राना भन्नुहुन्छ, ‘कृष्णपुर नगरपालिकाको बाणी हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो । निर्माण अलपत्र परेपछि अस्थायी पुलमा शुल्कतिरेर तर्न बाध्य छौँ ।’ 

दोदा नदी नजिकैको वनहरा नदीमा पनि अस्थायी काठको पुल निर्माण गरिएको छ । नदी तर्नेबाट त्यस ठाउँमा समेत शुल्क लिइने गरिएको छ । नदीमा निर्माण गरिएको झोलुङ्गे पुल गएको भदौको अन्तिम हप्ता आएको बाढीले ढालेपछि स्थानीय शुल्क तिरेर काठको अस्थायी पुल तर्दै आएका छन् । 

नदीमा काठको अस्थायी पुल राखेर शुल्क उठाउँदै आएका रामबहादुर रानाले १५ जना मिलेर अस्थायी पुल राखेको बताउनुभयो । पुलबाट उठेको केही रकम स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने र बचेको रकम १५ जानाले बाँडेर लिने गरेको उहाँले सुनाउनुभयो । 

दुवै नदीमा बनाइएका अस्थायी पुलमार्फत पैदल यात्रु, साइकल र मोटरसाइकल आवतजावतका लागि प्रयोग हुने गरेको छ । ‘अस्थायी भए पनि निर्माणकर्ताले काठको व्यवस्था गरी पुल राख्दा थोरै समयका लागि भए पनि सुविधा पुगेको छ’, स्थानीय प्रकाश खुनाले भन्नुभयो, ‘थोरै शुल्क लिँदा चित्त दुखाएका छैनौँ बरु सेवा पाएका छौँ ।’

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया