नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चाैधरी कारागार चलान

 माघ २०, २०७९ शुक्रबार १२:२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । १३ वर्ष पुरानो आगजनीको घटनामा छ महिना कैद सजाय सुनाइएका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी आज शुक्रवार जेल चलान भएका हुन् ।  

बिहीवार बेलुका कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराइ कैद पुर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो । फरार सूचीमा रहेका चाैधरीलाई हिजाे बिहीवार बाँकेबाट पक्राउ  गरिएकाे थियाे । चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्जबाट जहाजमा काठमाण्डाै लगेको थियो । काठमाण्डाैबाट उनलाई बिहीवार नै जहाजमा धनगढी ल्याएको थियो ।

सांसद चौधरी नौ वर्षदेखि फरार थिए । कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा गरेका थिए । विसं २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले सांसद अरुणकुमार चौधरीसहित पर्शुराम र वीरबहादुर गरी तीन जनालाई छ महिना कैद सजाय सुनाएको थियो । अदालतले पीडितलाई आठ लाख १८ हजार चार सय २३ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनेसमेत फैसला गरेकाे थियाे । 

नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ । सांसदलाई पक्राउ गर्न सभामुखको अनुमति लिनुपर्ने भए पनि त्योसमेत नलिइ उनलाई पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताउनुभएको छ । तर प्रहरीले भने फौजदारी अभियोगका अभियुक्तलाई पक्राउ गर्न सभामुखको अनुमति लिन नपर्ने व्यवस्था भएकाले आफूहरूले कानुनअनुसार नै पक्राउ गरेर फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरेको बताएको छ ।

यसैबीच हिजाे नै विज्ञप्ति निकालेर नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद चाैधरीलाई रिहाइ गर्न २४ घन्टे अल्टिमेटम दिएकाे थियाे । २४ घन्टाभित्र रिहाइ नगरे आन्दोलनमा जाने पार्टीले चेतावनी दिएकाे छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया