गफले देश बन्दैन, देश बनाउन इमानदार नेताकाे आवश्यक छ : सांसद गुरुङ

 माघ २२, २०७९ आइतबार १४:१७:३३ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नागरिकको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताउनुभएको छ । 

प्रतिनिधि सभाको आज आइतवारको बैठकको विशेष समयमा बोल्दै उपसभापति गुरुङले देश भयानक आर्थिक सङ्कटर्फ धकेलिँदै गएको उल्लेख गर्दै दशको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताउनुभयो । ‘नेताहरू गफमात्र गरिरहन्छौँ, काम गर्दैनौँ, धेरै वाचा गर्छाैँ तर त्यसलाई प्रमाणित गरेर देखाउन सक्दैनौँ । देश उधोगतिमा अग्रसर छ’, उहाँले भन्नुभयो, ‘देश बनाउन कर्मशील र इमानदार नेताको आवश्यक छ । दृष्टिकोणसहितको नेताको अभावले नागरिकले दुःख पाइरहेका छन् ।’  

पछिल्लो समय आर्थिक सङ्कट बढ्दै जाँदा व्यवसायी र नागरिक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उपसभापति गुरुङले आर्थिक सङ्कटका कारण व्यवसायीमा कोकोहोलो मच्चिरहेको बताउनुभयो । ‘तर सरकारमा बस्नेले कुनै चासो नदिएको देखिएको छ । घोचपेच, दाउपेच, होच्याउने कुरा मात्रै सुन्छौँ । गफले देश बन्दैन’, उहाँले भन्नुभयो ।

छोटो समयमा मलेसिया, दक्षिण कोरियालगायत देशले ठूलो प्रगति गरिरहेका दृष्टान्त पेस गर्दै सांसद गुरुङले गफ गर्नेभन्दा पनि काम गरेर देखाउनुपर्ने बेला आइसकेको बताउनुभयो । अहिले देखिएको आर्थिक सङ्कट सबैको साझा समस्या रहेको जनाउँदै उहाँले अर्थतन्त्रमा परेको सङ्कट समाधान गर्न सरकारलाई विश्वासको मत दिइएको जिकिर गर्नुभयो । 

‘राजस्वले चालु खर्च धान्न सकेको छैन । विदेशी मुद्रा सञ्चिति घटिरहेको छ । हामीले सरकारलाई दह्रोसँग खुट्टा टेक्न आग्रह गर्‍यौँ’, उहाँले भन्नुभयो, ‘आर्थिक सङ्कट टार्न सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भनेर हामीले प्रतिपक्षमा रहेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौँ ।’

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया