सोलुखोला दूधकोशी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

 माघ २८, २०७९ शनिबार १८:१५:३६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुमा निर्माण सम्पन्न ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

निजि क्षेत्रकै सबैभन्दा ठूलो लगानी रहेको साहास ऊर्जा कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित आयोजना शुक्रवारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

अघिल्लो हप्तादेखि परीक्षण उत्पादनको क्रममा रहेको आयोजनाले सबै उपकरणहरुको परीक्षण सफल भएपछि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहास उर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले बताउनु भयो । करिब २ हप्ताको परीक्षण उत्पादनपश्चात व्यावसायिक उत्पादन थाल्ने उहाँको भनाइ छ । 

सोलुदूधकण्ड नगरपालिका–११ मा रहेको सोलुखोलाको पानी ४ हजार ६ सय ७९ मिटर लामो सुरुङ मार्ग र १९ सय ३८ मिटर लम्बाइको पाइप लाइनमार्फत थुलुङदूधकोशी–३ मैकुबेसिमा खसाइ ८६ मेगावाट विद्युत् उत्पादन गरिएको हो ।

नदी प्रवाहमा आधारित विद्युत आयोजना लाम्माने सबस्टेशनमा रहेको १३२ केभीए सोलु करिडोरमा जोडिएको छ । साहास ऊर्जाको विद्युत् गृहदेखि लाम्माने सम्म १३ किलोमिटर ग्रीड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडेको हो ।

आयोजनामा २५ प्रतिशत संस्थापक तथा शेयरधनी र ७५ प्रतिशत बैंकको लगानी गरी करिब १३ अर्बको कुल लागतमा निर्माण सम्पन्न भएको हो ।  यसअघि सोलु खोलामै निर्माण भएको २३ दशमलव ५ मेगावाट क्षमताको अपर सोलु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

सोलुखोलामा अझै १ सय ५० मेगावाटभन्दा बढी क्षमताका विद्युत् आयोजनाहरु निर्माणको क्रममा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया