ग्यास चुहिएर जुम्लामा आगलागी, ठूलाे क्षति हुनबाट जाेगिएकाे प्रहरीकाे भनाइ

 फागुन ६, २०७९ शनिबार १७:२२:३ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा ग्यास चुहिएर एक घरमा आगलागी भएको छ ।  चन्दननाथ नगरपालिका ६ बसपार्कमा रहेकाे मेघराज न्यौपानेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । 

प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार न्यौपानेको तीन तले घरको भुइँतलामा आगलागी हुँदा चार वटा कोठा, कोलिया र माथिल्लाे तला जाने भर्‍याङमा क्षति पुगेकाे छ । यस्तै, आगलागी हुँदा दोस्रो र तेस्रो तलामा रहेका ५ जनाको उद्धार गरिएकाे छ । नयाँ बनिरहेको घरबाट भर्‍याङ लगाएर उनीहरुकाे उद्धार गरिएको निरीक्षक जोशीले बताउनुभयाे ।

प्रहरी निरीक्षक जोशीका अनुसार घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीकाे सहयाेगमा आगो नियन्त्रणमा आएकाे हाे । समयमै उद्धार हुँदा ठूलाे क्षति हुनबाट जाेगिएकाे उहाँकाे भनाइ छ ।

प्रहरीका अनुसार त्यस घरमा भाडामा बसेका नवराज खड्का खाना पकाउँदै गर्दा ग्यास चुहावटका कारण रेगुलेटरमा आगो सल्केर आगलागी भएको हो । आगो निभाउन खोज्दा ग्यास ढलेको र अन्य कपडामा आगो सरेपछि थप आगजनी भएको नवराज खड्काकाे भनाइ छ । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया