यसपालिको ल्हाेसारमा पनि आउन सकिन आमा

 फागुन १०, २०७९ बुधबार ७:२९:५१ | फुर्वा शेर्पा
unn.prixa.net

आमा,

हरेक दिनको सम्झना अनि टासिदेलेक आमाको महिमालाई शब्दमा व्यक्त गर्न त असम्भव छ । आमाको सम्झना अनि सम्मानको लागि पत्र लेख्ने धेरै पहिलादेखिको सोच आज पूरा गर्दै छु । परदेशको व्यस्त समयलाई व्यवस्थापन गर्दै आज ल्यापटपको किबोर्डमा औलाहरु खेलाउदै इन्टरनेटको सहायताले यो पत्र प्रेषित गर्न गइरहेको छु ।

आमा..... तपाईंले आँखाबाट बलिन्द्र आँशुका थोपाहरु बगाएर मन नलागी नलागी हात हल्लाएर बिदाइ गर्नुभएको पनि धेरै वर्ष भइसकेछ । मलाई यसरी तपाईंको न्यानो माया अनि साथ छाडेर परदेशिने मन पटक्कै थिएन । मातृभूमिमा नै बसेर आफ्नै घरमा आमाले ढिंकीजाँतो गरेर पकाइ दिनुभएको ढिंडो अनि च्याख्ला खाएर आफ्नै देशको माटोमा पसिना बगाइ जीवन गुजारा गर्ने मन नभएको पक्कै पनि होइन ।

हाम्राे देश नेपालको अवस्था तपाईंले राम्ररी बुझिसक्नुभएको छ । हाम्रो राजनैतिक अवस्था बेराेजगार विभिन्न क्षेत्रहरुमा देखिएको भ्रष्टाचार अनियमितता लापारबाहीका कारण म जस्ता लाखाै युवाहरु विदेशिन बाध्य पारिएको छ । हाम्रो देशमा नै समान रुपमा अवसर अनि ज्ञान, सीप ‌,रुचि ,चाहना ,याेग्यता अनि क्षमता अनुसार राेजगारकाे अवसर प्राप्त भइदिएको भए मन भारी भएर जन्मदिने आमालाई रुवाउँदै देशको सीमा काटेर यसरी पराइ भूमिमा पसिना बगाउन कसैलाई रहर हुँदैन थियाे हाेला । तर बाध्यता कै कारण म जस्ता धेरै नेपाल आमाका सन्तानहरु परदेशमा आफ्नो श्रमसँग पैसा विनिमय गरिरहेका छन् ।

आमा विदेश भनेको एउटा सपना र झिलीमिली मात्र रहेछ । यहाँ आफै स्वावलम्बी भइ आफ्नो खुट्टामा आफै उभिन सकिएन भने धेरै गाह्रो छ । परिवारसँगै बसेर खानपीन रमाइलो गर्ने परिवारमा एकले अर्कालाई सद्भाव माया भन्ने कुरा हामी नेपालीहरुमा जस्तो विदेशीहरुमा बिरलै भेटिँदोरहेछ । तर अन्य देशको तुलनामा जापान धेरै सुरक्षित अनि शान्त देशको रुपमा चिनिन्छ । अरु देशहरुमा जस्ताे विदेशीहरुलाई तुच्छा व्यवहार गर्ने, मानसिक तथा शारीरिक यातना दिने घटनाहरु न्यून हुन्छ ।

यहाँ त बिदाको दिन बाहेक धेरै जसो समय काममै खर्च हुन्छ । आदरसत्कार, कामप्रतिको लगाव, आफ्नो जिम्मेवारीप्रतिको सजगता, इमान्दारिता, अनुशासन ,समयको पालना सबैसँग मिठो र मित्रवत व्यवहार नै जापानको विशेषता रहेछ । मैले सोचे अनुसारको पैसा कमाएर आफ्नो घरपरिवारको लागि अपेक्षित सहयाेग गर्न नसकिए पनि परदेश तथा कर्मभूमि जापानमा भोगेका अनुभव तथा सीपहरुलाई मातृभूमि नेपाल फर्किएपछि व्यवहारमा लागू गर्ने अठोट गरेको छु । यो नै मेरो परदेश तथा कर्मभूमि जापानमा बसेर कमाएको सम्पति तथा उपलब्धि हो ।

आमा..... माया र सम्झना भैागोलिक रुपमा जति टाढा त्यति धेरै गाढा हुन्छ भन्ने कुरा परदेशी भूमिमा पाइला टेकेपछि महसुस गरेको छु । सुरुवाती दिनहरुमा हजुरको मायाले धेरै सताइएको थियाे । मनलाई भुलाउन मैले सधै काेशिस गरे । परिवार तथा घरदेशकाे यादले सताएका पलहरु परदेशी भूमिमै परिचित साथीहरुसँग साटासाट गरे । उनीहरुका सुख अनि दु:खका कुराहरु पनि सुनिदिने गर्थेँ ।

दशै तिहार ल्होसार बुद्दजयन्ती जस्ता चाडपर्वहरुमा परिवारबाट टाढा हुँदा नरमाइलाे महसुस हुँदोरहेछ । हजुरलाई पनि यस्ता महत्वपूर्ण चाडपर्वहरुमा आफ्नाे सन्तान नजिक नहुँदा मन मेराे भन्दा पनि सयाैँगुणा रुन्छ होला । चाडपर्वहरुको आगामन हुँदा गाँउघरमा आफन्तजनहरुसँगै भेला भइ रमाइलो गरेको, मिठो मसिनो खानाका परिकार सबैजना सँगै बसेर खाएको तस्बिर आँखा अगाडि देख्छु । साथीभाइहरुसँग रमाएका ती पलहरु झल्झली सम्झनामा आउँछन् ।

हामी शेर्पाहरुको ल्हाेसारको आगमनले हाम्रो घर गाँउ रमाइलो भएको होला । हरेक घरघरमा खाप्से छिमार डेसिल अनि क्ष्याङफुत जस्ता ल्हाेसार परिकारहरुले सजिसजावट भइसकेको होला । गुम्बा माने अनि डाँडा काँडाहरु ध्वजा पतका अनि लुङदार फर्फराउनुका साथै ओम माने पेमे हुँको सुमधुर धुनले गाँउनै गुञ्जायमान भएको होला । तर म जस्ता लाखौँ परदेशिएका छोराछोरीहरु भने ल्हाेसारको दिन पनि पराइको ठाँउमा बसेर पसिना बगाउनुपर्दा अनि बुवा आमासँगै बसेर ल्हाेसार मनाउँन नपाउँदा चाहिँ याे मन रुँदो रहेछ ।

आमा, तपाईंले फेसबुकबाट पठाउनुभएको ल्हाेसार परिकार अनि रमाइलो गर्नुभएको फोटो हेरेरै चित्त बुझाइरहेको छु । वर्षदिनमा १ चोटि आउने महान चाड ल्हाेसारमा आफ्ना सन्तान साथमा नहुँदा तपाईंभित्रकाे पीडालाई म बुझ्छु आमा । त्यसैले त फोन अनि भिडियो कल गरेर तपाईंभित्रको पीडा अनि उकुस मुकुसलाई कम गराउने कोशिस गरिरहेको छु ।

आमा आजैको तिथिमा नभए पनि मैले कर्म गरिरहेको देश जापानमा पनि फ्रेब्रुवरी २६ तारिख शेर्पा संघ जापानले ल्हाेसार कार्यक्रम अनि शुभकामना तथा सा‌ंस्कृतिक कार्यक्रम गर्न लागरहेको छ । त्यो कार्यक्रमको आयोजक अनि म पनि शेर्पा संघ जापानको सदस्य भएकोले सहभागी हुन जाँदैछु ।

परदेशको ल्हाेसार जन्मभूमिमा रहेर मनाए जस्तो त पक्कै हुँदैन तर जन्म दिने आमा अनि जन्मभूमिलाई त्यो दिन अझै बढी सम्झनेछु । यसपालि ल्हाेसारमा घर आउँछाै कि नाइँ भनेर हरेक ल्हाेसारमा सोध्नुहुन्थ्यो । यसपालिको ल्हाेसारमा जसरी पनि आउँछु भनेर पोहोर भनेको थिएँ । तर आमा तपाईंसँग गरेको त्याे वाचा यसपालि पनि पूरा गर्न सकिनँ ।

त्यसैले मन भारी हुँदै याे ल्होसारमा आउन नसिकेकाे खबर यसै पत्रबाट जानकारी गराउन चाहन्छु । हजुरलाई सधैँ खुसी राख्न सकु । यी आँखाले हजुरको आँखाबाट कहिल्यै आँशु झरेको देख्न नपरुन् । बाँकी अर्काे पत्रमा .........

उही तपाईंको प्यारो छोरा,

फुर्वा शेर्पा, जापान ।

अन्तिम अपडेट: जेठ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया