विद्यालयले लगाएको महायज्ञमा एउटै परिवारबाट ३० लाख रुपैयाँ सहयाेग

 फागुन १०, २०७९ बुधबार १८:५९:२५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका ९ अर्लाङ्कोटमा रहेकाे ज्ञानज्योति आधारभूत विद्यालयले लगाएकाे ज्ञान महायज्ञमा एउटै परिवारले ३० लाख २६ रुपैयाँ सहयोग गरेकाे छ । अर्लाङ्कोटका बलीभद्र सापकोटाको परिवारले विद्यालयलाई ३० लाख रुपैयाँ सहयाेग गरेकाे हाे । यो महायज्ञ सञ्चालन भएको दोस्राे दिनसम्मको सबैभन्दा ठूलो राशीको सहयोग रहेको मूल समारोह समिति सचिवालय सदस्य रामकृष्ण कँडेलले जानकारी दिनुभएको छ । 

त्यसैगरी अर्लाङ्कोटकै स्व. दुल्लप सापकोटाका छोरा नातीहरू खर्याना साहुका १२ भाइ परिवारवाट २० लाख २१ हजार एक सय ५१ रुपैयाँ सहयोग प्राप्त भएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित रजत जयन्ती महोत्सव एवम् धनधान्याचल ज्ञान महायज्ञमा सहयोगीहरूकाे सङ्ख्या बढ्दै गएकाे छ ।

महायज्ञको दोस्राे दिनसम्म डेढ करोड रुपैयाँ सङ्कलन भइसकेको छ । स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरूबाट रकम सङ्कलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् मूल समारोह समिति संयोजक यदुलाल सापकोटाले बताउनुभयो । 

विद्यालय स्थापनाको २५ औँ वर्ष पूरा भएकाे अवसरमा धनधान्याचल ज्ञान महायज्ञको आयोजना भएकाे हाे । महायज्ञको १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज र १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले हिजाे मङ्गलवार शुभारम्भ गर्नुभएको थियो । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने र माध्यमिक तहसम्म अध्ययनका लागि तीन करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाले बताउनुभयो । 

यही फागुन १६ गतेसम्म सञ्चालन हुने रजत महोत्सव एवम् धनधान्याचल महायज्ञमा अर्लाङ्कोटमा जन्मेर रोजगारी र व्यवसायका क्रममा स्वदेश तथा विदेशमा रहेका व्यक्ति, स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा श्रद्धालुहरूको सहभागिता रहेको समितिका उपसंयोजक प्रेम सापकोटाले बताउनुभयो । 

विद्यालयले राखेको उद्देश्य पूरा गर्न  विभिन्न व्यक्तिहरूले स्वतःसस्फूर्तरूपमा सहयोग गर्न थालेका छन् । सहयाेगीहरू बढ्दै जाँदा थप उत्साह थपिएको आर्थिक समिति संयोजक विश्वनाथ सापकोटाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया