अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित

 फागुन १२, २०७९ शुक्रबार ११:१२:४८ | नवीन गुरुङ
unn.prixa.net

(खाँदबारी–४ मा लगाइएको आलु, तोरी । पानी नपर्दा बाली मौलाउन सकेको छैन । तस्बिर : नवीन गुरुङ/उज्यालो)

सङ्खुवासभा – पानी नपर्दा र हिमपात पनि नहुँदा अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित भएका छन् ।

लामो समयदेखि पानी नपर्दा हिउँदे बाली तथा बगानमा अलैँचीको बोटसमेत सुक्न थालेको छ । यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको खाँदबारी नगरपालिका–४ का भीमबहादुर गुरुङले गुनासो गर्नुभयो । गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पुर्‍याउन नसकिएको उहाँको भनाइ छ ।

अर्का किसान मानबहादुर गुरुङ गहुँ, तोरीमा सिँचाइ हुन नसक्दा बिउ पनि मासिने अवस्था आएको बताउनुहुन्छ । पानी नपरेका कारण सडक र खेतबारी सबैतिर धुलैधुलो मात्र उड्न थालेको गुरुङको भनाइ छ । लामो समय पानी नपर्दा जताततै धुलैधुलो, हुस्सु र बाक्लो बादल हुने गरेकाले मानवीय स्वास्थ्यमा समेत असर पार्न थालेको उहाँ बताउनुहुन्छ ।

‘करेसाबारीमा लहलह बढ्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घरखर्च चलाउन मुस्किल पर्न थालेको छ । तरकारी खेतीबाहेक अर्को आम्दानीको स्रोत नभएका हामीजस्ता किसान लामो समयकाे खडेरीले तरकारी बाली बोटमै सुक्न थालेपछि पिर पर्न थालेको छ’, गुरुङले गुनासाे गर्नुभयाे । 

तीन लाख ४७ हजार सात सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएकाे सङ्खुवासभामा कृषियोग्य जमिन ५९ हजार ६१ हेक्टर रहेको सिँचाइ कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कृषियाेग्य जमिनमध्ये १५ हजार दुई सय ९९ हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ । 

सङ्खुवासभाको हिमाली र उच्चपहाडी भेगहरू किमाथाङ्का, भोटखोला, मकालु, सिलिचोङ, सभापोखरी, तिनजुरे–मिल्के–जलजले (टीएमजे), चौकीमङ्गलबारे लगायतका क्षेत्रमा समेत यस वर्ष पर्याप्त हिमपात नहुँदा किसान चिन्तित भएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया