प्रदेश सरकार फेरबदल हुँदैन : मुख्यमन्त्री गिरी

 फागुन १५, २०७९ सोमबार २०:१:५१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले संसदीय व्यवस्थाको मर्मअनुसार प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ । नेकपा एमालेकाे 'मिसन ग्रास रुट' अभियानअन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘प्रदेश सरकार फेरबदल हुँदैन । हामी संसदीय व्यवस्थाको मर्मअनुसार अगाडि बढ्छौँ ।’

प्रदेश सभाको ठूलो दलको हैसियतले सबै दलको सहमति र सहकार्यअन्तर्गत एमाले अगाडि बढ्ने बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘अहिलेसम्म सङ्घीय सरकारमा देखिएको समस्या प्रदेश सरकारमा देखिएको छैन । सत्ता साझेदार दलसँगको आपसी समझदारीअनुसार अगाडि बढिरहेका छौँ । प्रदेश सभामा रहेका सबै दलसँग सहकार्य गरी अगाडि बढ्छौँ ।’

केन्द्रीय सरकारमा देखिएको समस्याले वामपन्थी आन्दोलनलाई कमजोर बनाएको भन्दै मुख्यमन्त्री गिरीले देशी/विदेशी शक्तिकेन्द्रको प्रभावमा परेर परिवर्तन विरोधी काम हुन थालेको बताउनुभयो । ‘एमाले–माओवादीबीचको गठबन्धन टुट्नु वामपन्थी आन्दोलनमाथिको कुठाराघात हो । यसले वामपन्थी आन्दोलन थप पछाडि ढकेलिने खतरा बढ्यो । विदेशीको इसारामा परिवर्तन विरोधी गतिविधि सञ्चालन भइरहेका छन् । यसले देश थप सङ्कटग्रस्त बन्छ ।’

नेपाली नागरिककाे लामो सङ्घर्षपछि राजनीतिक आन्दोलनमा सफलता प्राप्त गरे पनि विकास र समृद्धिको आन्दोलनमा विजय हासिल गर्न बाँकी रहेको भन्दै मुख्यमन्त्री गिरीले पार्टीलाई नागरिकसँग जोडेर जनमतको बलमा समृद्धिको आन्दोलनमा सफलता हासिल गर्ने बताउनुभयो । नागरिककाे माया, ममता र सद्भावबाट हुर्किएको नेकपा एमाले नागरिककाे बीचबाट टाढा हुन जान थालेपछि नागरिकसँग पार्टीलाई जोड्न 'मिसन ग्रास रुट' अभियान सञ्चालन गरेको मुख्यमन्त्री गिरीको भनाइ थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया