बेनी–गलेश्वर सडक खण्डकाे स्तरोन्नतिका लागि आजदेखि १५ दिन म्याद थप

 फागुन १६, २०७९ मंगलबार १३:१६:२४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–गलेश्वर खण्डमा गाडी रोकेर सडक स्तरोन्नतिको काम भइरहेको छ । बेनी–गलेश्वर खण्ड स्तरोन्नति गर्नका लागि अहिले दैनिक साढे छ घण्टा सडक बन्द गरिएको हो ।

सडक खण्ड स्तरोन्नतिको कामलाई तीव्रता दिन हिजो (सोमवार) जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको बैठकमा बेनी–गलेश्वर खण्डमा यातायात सञ्चालन गर्न र बन्द हुने समयतालिका बनाइएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा राजमार्ग–सडक अवरोध हटाउन जिल्ला समन्वय समितिको बैठक बसेर स्तरोन्नतिका लागि सडक बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रजिअ पौडेलको अध्यक्षतामा बेनी नगरपालिकाका मेयर सुरत केसी, स्थानीय जनप्रतिनिधि, बेनी–जोमसोम–कोरला सडक योजनाका प्रतिनिधि, सुरक्षा निकाय, निर्माण कम्पनी, यातायात व्यवसायीलगायत सहभागी बैठकमा दैनिक साढे छ घण्टा बन्द गरी सडक स्तरोन्नतिको काम गरिने निर्णय भएको थियो । 

बैठकको निर्णयअनुसार आजदेखि आउँदो ३० गतेसम्म (१५ दिन) पुनः दैनिक रुपमा बिहान ६ बजेदेखि ८, दिउँसो साढे ११ बजेदेखि साढे १ बजेसम्म र राति साढे ८ बजेदेखि ११ बजेसम्म गाडी आवतजावत बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने निर्णय भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो । यसैगरी दकमल, एम्बुलेन्सलगायत अत्यावश्यक गाडीलाई भने आवश्यक सहजीकरण गरी आवतजावतको व्यवस्था मिलाउने समेत निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

सडक स्तरोन्नतिको काम र यातायात सञ्चालन सँगसँगै हुँदा सम्भावित दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रुलाई सास्ती र निर्माणकार्य पनि प्रभावित भएपछि समयतालिका बनाएर लागू गरिएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले २ किलोमिटर १ सय २ मिटर दूरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न जय–धनञ्जय–मङ्गलादेवी–सुवास जेभीसँग १२ करोड ७५ लाख ९४ हजार चारसय २६ रुपैयाँमा ठेक्का सम्झौता गरेको जनाएको छ ।

निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले सम्झौतापछि अहिले दैनिक रुपमा सडक स्तरोन्नतिको काम भइरहेको बताउनुभयो । आउँदाे दुई वर्षभित्र सडकमा १० मिटरसहित नाली निर्माण गर्ने, भू–क्षय तथा पहिरो नियन्त्रणका लागि पर्खाल लगाउने र खोल्सामा कल्भर्ट बनाउने तथा ८ मिटरको सडकमा कालोपत्रे गरिनेछ । अहिले सडक स्तरोन्नतिको काममा दैनिक ८ वटा डोजर तथा १ सय ७० जना मजदुरहरु परिचालन गरिएको छ ।

बेनीदेखि गलेश्वरसम्म ३ किलोमिटर दूरीको यो खण्डले बेनी नगरपालिकाको ६, ८ र ९ नम्बर वडाको भूगोललाई जोड्छ । बेनी–गलेश्वर खण्ड म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण भएर मुस्ताङ र प्रशिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेकाले उत्तरी म्याग्दी र मुस्ताङवासी, तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणले प्रयोग गर्ने गर्दछन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया