तराईका केही जिल्लामा तापक्रम ३० डिग्री सेल्सियस नाघ्यो, यसपालि गर्मी धेरै हुने अनुमान

 फागुन २६, २०७९ शुक्रबार ७:५७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रि-मनसुन सुरु भएसँगै तापक्रम बढ्न थालेको छ । तराईका केही जिल्लाको तापक्रम ३० डिग्री सेल्सियस नाघिसकेको छ ।

जनकपुरको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ । यस्तै, धरान ३१ दशमलव ८, भैरहवाको ३१ दशमलव ९, सिमराको ३१ दशमलव ४, विराटनगरको ३१ दशमलव २, नेपालगञ्जको ३० दशमलव ७ डिग्री सेल्सियस पुगेको छ । अन्य ठाउँमा पनि तापक्रम बढिरहेको छ । यसपालिको हिउँदमा खासै पानी नपरेकाले सुक्खापन बढेको छ ।

हिउँदयाममा वर्षा र हिमपात खासै नभएकाले गर्मी थप बढ्ने अनुमान गरिएको छ । यसपालि माघ महिनादेखि जाडो कम भइसकेको थियो । अहिले केही ठाउँको मौसम बदली भइरहे पनि अबको दुई/चार दिनसम्म खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ । अरु ठाउँमा भने घाम लागेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया