बलियो टोलीसँग क्रिकेट खेल्न मौका पाएका छौँ : कप्तान पौडेल

 फागुन २८, २०७९ आइतबार १८:१०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय मान्यता जोगिएपछि आउँदा दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताएका छन् ।

भ्रमणकारी टोली यूएईलाई आइतवार १ सय ७७ रनकाे फराकिलाे अन्तरले हराएपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान पाैडेलले एकदिवसीय मान्यतापछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताएका हुन् । उनले विश्व कप छनोटमा पुग्नका लागि थप दुई खेलमा सुखद नतिजा निकै महत्त्वपूर्ण रहेको भन्दै ती खेलमा पनि केन्द्रित हुने प्रतिक्रिया दिए ।

टोलीमा नयाँ प्रशिक्षक मोन्टी देसाई आएसँगै खेलाडीलाई खुलेर खेल्ने अवसर भएको र त्यहीअनुसार सबै खेलाडीले मेहनतका साथ खेल्दा सफलता मिलेको कप्तान पाैडेलले बताए । एकदिवसीय मान्यता कायम भएसँगै नेपाली क्रिकेट थप व्यस्त हुने र धेरैभन्दा धेरै खेलाडीले मौका पाउने उनले बताए ।

यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाल क्रिकेट सङ्घसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको र अहिलेसम्मको यात्रा सुखद भएकोमा खुसी व्यक्त गरे । आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको र खेलाडीलाई दिइएको भूमिकालाई उनीहरूले राम्रोसँग निभाएकाे उनकाे भनाइ छ । खेलअघि केही कठिन निर्णयहरू गर्नुपरेको र रणनीति बनाउँदा आफू सफल भएकोमा उनले खुसीसमेत व्यक्त गरे । 

आजकाे खेलमा सर्वाधिक पाँच विकेट लिएका स्पिनर ललितनारायण राजवंशीले जितको सदस्य बन्दा खुसी लागेको प्रतिक्रिया दिए । उनले आफू टाेलीबाहिर रहे पनि टोलीको जितमा निकै खुसी भएको र टाेलीमा पर्नैपर्ने आकाङ्क्षा आफूमा नभएको बताए । एकदिवसीय मान्यता पाएसँगै नयाँ खेलाडीले अवसर पाउने र नेपालले अन्य बलिया टोलीसँग अनुभव बटुल्ने अवसर मिल्ने उनले बताए । यस्तै गुल्सन झाले पनि प्रशिक्षकले दिएको भूमिकामा न्याय दिन सकेको भन्दै खुसी व्यक्त गरे । 

लिग–२ अन्तर्गत नेपालले अब दुई वटा खेल खेल्न बाँकी छ । यसैअन्तर्गत नेपालले सोमवार अर्को पहुना टोली पपुवा न्युगिनी (पीएनजी) सँग खेल्नेछ । नेपालले बाँकी दुइटै खेल जिते विश्व कप छनोट खेल्ने मौका बनाउनेछ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया