अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी

 चैत २, २०७९ बिहिबार १६:३४:३२ | रासस
unn.prixa.net

म्याग्दी - फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अर्गानिक जुस मुस्ताङका मौलिक उत्पादन हुन् । प्रचारप्रसारको अभावमा जिल्लाभित्रै सीमित रहेका यी रैथाने उत्पादनले अब भने बाहिरी बजारमा आफ्नो स्वादलाई चखाउन पाउने भएका छन् ।

यहाँ पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले जिल्लाका महिला उद्यमीलाई चार दिने ‘डिजिटल मार्केटिङ’सम्बन्धी तालिम प्रदान गरेपछि आफ्नो उत्पादनलाई बाहिरी बजारमा पठाउने तयारी सुरु भएको छ।

जिल्लामै खपत हुने फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको जुसलगायत हिमाली रैथाने उत्पादनको माग काठमाण्डौ र  पोखरामा उच्च छ । व्यापारिक ज्ञानको अभावमा जिल्लाभित्र नै सीमित रहेका यी उत्पादन अब ‘डिजिटल मार्केटिङ’ का माध्यमबाट जुनसुकै ठाउँमा पनि पुर्याउन सकिने तालिमका प्रशिक्षक आँखीझ्याल टेक्नोलोजिका इञ्जिनियर उज्ज्वल पौडेलले जानकारी दिनुभयो । जिल्लामा उत्पादन हुने वस्तुबारे अनलाइनका माध्यमबाट थाहा हुने र सिधा सम्पर्कबाट खरिद गर्न पाउने उहाँले बताउनुभयो ।

अनलाइन, इमेल, इन्टरनेट, सामाजिक सञ्जालका माध्यमबाट पर्यटन प्रवर्द्धन र उत्पादनको बजारीकरणको उपायबारे जान्न पाउँदा यहाँका महिला उद्यमी उत्साहित भएका छन् ।    

तालिममा अनलाइनका माध्यमबाट पर्यटन प्रवर्द्धन र उत्पादनको बजारीकरणमा कसरी काम गर्न सकिन्छ भन्नेबारेमा उद्यमीलाई सिकाइएको थियो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र घरपझोङ गाउँपालिकाको सहयोगमा टेवानले तालिम दिएको हो ।

तालिममा मुस्ताङ र पोखराका पर्यटन व्यवसायीबीच भएको अन्तरक्रियामा पर्यटकीय साझेदारीको आवश्यकतामा जोड दिइएको थियो । मुस्ताङका होटल व्यवसायी पनि तालिमबाट लाभान्वित भएका स्थानीय शोभित शेरचनले बताउनुभयो ।  

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङ क्षेत्रको पर्यटकीय प्रवर्द्धनका लागि पोखराको सहयोग आवश्यक रहेको बताउनुभयो । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले मुस्ताङ धार्मिक पर्यटनको विशिष्ट गन्तव्य रहेको उल्लेख गर्दै यस्ता मौलिक उत्पादन नेपाली बजारमा मात्रै होइन विश्व बजारमा समेत प्रवर्द्धन गर्न सक्नुपर्ने बताउनुभयो।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया