१७ परिवारले चलाएकाे 'होमस्टे', जहाँ पर्यटक फर्कीफर्की आउँछन्

 चैत ३, २०७९ शुक्रबार १३:३:५६ | रासस
unn.prixa.net

सिन्धुली – पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्त्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय बीपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ मा ३० परिवारको बसोवास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरवास (होमस्टे) सञ्चालन गरेका छन् । जिल्लाकै पहिलो घरवासका रूपमा स्थापित भएको 'भद्रकाली सामुदायिक होमस्टे' मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अग्र्यानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लठ्ठ बनाउने गर्दछ ।

विसं २०७६ चैत २९ गतेदेखि सुरु भएको यस होमस्टे कोभिड–१९ को त्रासका कारण दुई वर्ष थलियो । अहिले पुनः पुरानै लयमा फर्किँदैछ । होमस्टेका अध्यक्ष चेतबहादुर थापामगरका अनुसार अहिलेसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटक चार दिनसम्म बसेर जाने गरेका उहाँले सुनाउनुभयो ।

जनमैत्री क्याम्पस भक्तपुरबाट नवराज गुरागाईँको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो । तर यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्दर्यताबाट मोहित भएर चार दिन बसेर फर्कियो । ‘होमस्टेमा आउने पर्यटक स्थानीय अग्र्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ’, अध्यक्ष थापामगरले भन्नुभयो, ‘एक पटक आएका पाहुना पटक–पटक आउनुहुन्छ ।’ 

होमस्टेमाथिको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रमअनुरूप १७ परिवारले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्नुहुन्छ । जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकार यहाँ पाइन्छ । टाढाको यात्राबाट थाकेर आएका यात्रु होमस्टेमा बस्न पाएनन् भने यही ठाउँमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिर खिचेर पुनः यात्रा तय गर्दछन् । 

पर्यटक होमस्टेमै आएर बस्छन् । एक पटकमा ५० जनासम्म अटाउने क्षमता छ । पर्यटकको चाहनाअनुसार बेलुकाको खानापछि यहाँ विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ । होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरणले सहजतामात्रै थपिदिएको छैन, स्थानीयलाई रोजगारी पनि दिएको छ । स्थानीय उत्तमकुमारी आलेमगर अरू व्यवसायभन्दा होमस्टेमा फाइदा देख्नुहुन्छ । होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम तथा अन्य जिल्लाका होमस्टेको अवलोकन भ्रमण गर्नुभएकी उहाँ ढुङ्ग्रेभज्याङवासीको भविष्य होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त हुनुहुन्छ ।

ढुङ्ग्रेभज्याङको विकासमा बीपी राजमार्ग वरदान सावित भएको छ । ३० वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाढी बजार पुग्नुको विकल्प थिएन । ‘राजमार्ग निर्माण अगाडि बढेपछि अन्यत्र ठाउँबाट आएका व्यक्तिले यहाँ किराना पसल चलाएका थिए । लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही पुरुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए । गृहस्थी महिला घर धानेर बसे’, आलेमगरले भन्नुभयो  । 

राजमार्गमा गाडीको चाप बढ्न थालेसँगै घर–घरमा पानी, बत्तीको सुविधा थपियो । ठाउँको विकास भएसँगै स्थानीयमा चेतनाको स्तर बढ्यो । आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थालेका छन् । ३० वर्षअघि मात्रै पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गरिएको हो । यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत सङ्घ–संस्थाको साथ र सहयोग रहेको उहाँले बताउनुभयो । 

‘सबै परिवार मिलेर सामूहिक होमस्टे सञ्चालनमा ल्याएका हौँ’, आलेमगरले भन्नुभयो, ‘लगानी गर्नु नपर्ने, आफ्नो गाउँठाउँमा उत्पादन भएको सागसब्जी, फलफूल, लोक कुखुरालगायतका अन्य परिकार, जो परिवारको लागि दैनिक बनाइन्छ । होमस्टेमा आउने अतिथि यसैमा रमाउँछन् । काम खोज्दै भौँतारिनु नपर्ने, अरू व्यापार, व्यवसायभन्दा सजिलो, हरेक दृष्टिकोणले फाइदा र सुरक्षित यसैमा भएकाले हामी उत्साहित छौँ ।’

होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिनुभएको र विभिन्न जिल्लामा रहेका होमस्टे भ्रमण गर्नुभएको उहाँलाई आफ्नो ठाउँमा पनि होमस्टेले आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा टेवा पुग्ने, स्थानीयको जीवनस्तर उकासिने र दैनिक जीवनयापनमा परिर्वतन देखिन थालेको देख्दा खुसी लाग्छ । विमला थापामगरले २७ अतिथिको सेवा गरेर ३३ हजार सात सय रुपैयाँ आम्दानी भएको सुनाउनुभयो । चुलोचौकामै सीमित रहनुभएकी उहाँ होमस्टेमा सक्रिय भएर लागेपछि घरपरिवारको खर्च आफ्नै कमाइले धान्नसक्ने हुनुभएको छ । 

चन्द्रकुमारी जर्गामगरलाई पहिलो पटक अतिथि आउँदा अत्याश लागेको थियो । तर अहिले उहाँमा धेरै परिर्वतन आएको छ । तालिम र अभ्यासले उहाँलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइदेखि अतिथि सत्कार, थरिथरिका परिकार बनाउन सिकाएको छ । छ कट्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन जर्गामगर आफैँले भ्याइरहनुभएको छ । ‘यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन । स्थानीयले सजिलै आम्दानी लिन सकिरहेका छन्’, उहाँले भन्नुभयो । 

होमस्टेमा चार दिन बसेर फर्किनुभएकी भक्तपुरकी सुभेच्छा भट्टराई यहाँको वातावरण, गाउँलेको व्यवहार र प्राकृतिक सुन्दरताले लोभ्याइरहने बताउनुहुन्छ । स्याङ्जाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे व्यवसाय अहिले देशभरि फैलिएको छ । होमस्टे महासङ्घ बाग्मती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईँका अनुसार अहिलेसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन् । एक हजार पाँच सय होमस्टे संस्थागतरूपमा दर्ता छन् । देशभर २२ हजार घरमा होमस्टे सञ्चालनमा रहेको उहाँ बताउनुहुन्छ । बाग्मती प्रदेशमा मात्रै एक सय २५ होमस्टे संस्थागतरूपमा दर्ता छन् । यसमध्ये ७५ होमस्टे सामुदायिक र अन्य निजीरूपमा चलेको तथ्याङ्क छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया