अर्को वर्ष निफ सातै प्रदेशमा : अध्यक्ष पाठक

 चैत ३, २०७९ शुक्रबार १४:५३:२३ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै – छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अहिले काठमाण्डाै उपत्यकाका तीन जिल्ला (काठमाण्डाै, ललितपुर र भक्तपुर) मा सञ्चालन भइरहेको छ । चैत २ गतेदेखि सुरु भएको मेलामा ५५ देशका पाँच सय बढी चलचित्र मध्येबाट छनोट गरी ३५ देशका ९५ चलचित्र प्रदर्शन भइरहेका छन् । यी चलचित्रको प्रदर्शन काठमाण्डाैका अत्याधुनिक चार वटा सिनेमा हलरू–  काठमाण्डाैका सिभिल मल र छाया सेन्टर, ललितपुरकाे लबिङ मल, भक्तपुरकाे भाटभटेनीमा रहेको हलबाट प्रदर्शन भइरहेको छ । ओपनिङ फिल्मको रूपमा कोरिन शर्मा निर्देशित चलचित्र चरी (बिहीवार) प्रदर्शन भइसकेको छ । विगतका तुलनामा यस पटक उल्लेख्य मात्रामा फिल्म मेकर र दर्शकहरू आएका छन् । मेला अझै तीनदिन अर्थात् चैत ६ गतेसम्म सञ्चालन हुनेछ । यही सेरोफेरोमा रहेर न्युज एजेन्सी नेपालले निफका अध्यक्ष केपी पाठकसँग गरेकाे कुराकानीकाे अंश– 

निफ के हो र किन ?

निफ नेपाली इन्टरनेशनल फिल्म फेस्टिबल हो । जुन विश्वव्यापी मान्यताअनुसार विश्वव्यापी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संरचनाअनुसार निफ सञ्चालन भएको थियो, त्यसलाई अघि बढाउने क्रममा आजको दिनसम्म आइपुगेका छौँ । यो विश्वव्यापीरूपमा हरेक फिल्म फेस्टिबलमा देखाइने सिनेमाहरू पब्लिक थिएटरमा देखाइने चलन हुन्छ । हाम्रो त्यो किसिमको संस्कृतिभन्दा अलि फरक किसिमको संस्कृति बनेको थियो । नन थ्रिएटिकल ठाउँहरूमा सिनेमा देखाउने र त्यहीँ बहस छलफल आदि गर्ने, संस्कृति बनेको थियो । त्यसलाई नै इन्टरनेशनल फिल्म फेस्टिबल संस्कृति भन्ने हामीले बुझेका छौँ । सामान्यतया हामीले देखेको पनि त्यत्ति नै हो । अलि फरक छ भन्ने देखाउनका लागि हामीले यस वर्ष सिनेमा देखाउने नै हलमा फिल्म देखाउने वातावरण तयार गरेका छौँ । पोखराबाट हामीले पहिलो संस्करण सुरु गरेका थियौँ । एउटा ठाउँबाट फिल्म फेस्टिबल गरिरहेको बेला अहिले पाँच वटा ठाउँमा फिल्म देखाउने अवस्थामा आइसकेका छौँ । त्यति बेला १०/१५ जनामात्रै फिल्म मेकरहरूको सहभागिता रहेको थियो भने अहिले ५० जनाभन्दा धेरै फिल्म मेकरहरूको सहभागिता रहेको छ । त्यति बेला एउटा मात्रै जुरी कमिटी बन्थ्यो भने अहिले तीन वटा जुरी कमिटी बन्ने अवस्थामा हामी पुगेका छौँ । त्यो पनि अन्तर्राष्ट्रिय जुरी कमिटी । त्यसैले आजको दिनसम्म आइपुग्दा निफले आफ्नो लक्ष्य हासिल गरेर अघि बढेको भन्ने लाग्छ । यो बीचमा हामी बेल्ट टाइम रोड फिल्म फेस्टिबल अलायन्सको सदस्य बन्यौँ । विभिन्न फिल्म सोसाइटीको सदस्य बन्यौँ । करिब जिरोबाट अहिले ८०/९० देशहरूमा निफको सम्बन्ध विस्तार भएको छ । हामीलाई अहिले पाँच सयभन्दा धेरै फिल्महरू सामान्यरूपमा आउँछन् । ५०/६० भन्दा धेरै देशहरूबाट सङ्गठित हुन्छन् । अहिले भएका फिल्महरू देखाउन नसकेर नाै सय ९० वटा फिल्म छान्नुपर्ने अवस्थामा हामी पुगेका छौँ । यो भनेको विश्वव्यापी फिल्म मेकरहरूले हामीलाई विश्वास गर्ने वातावरण बनेर हामी यहाँसम्म आइपुगेका छौँ । 

निफ कसका लागि हो ?

इन्टरनेशनल फिल्म महोत्सव दर्शकका लागि हो र फिल्म मेकरका लागि हो । दर्शकमा फिल्म हेर्ने संस्कृतिको विकास गर्ने हो, सिनेमा हेर्ने बानी बनिसकेपछि अर्को देशको सिनेमा पनि प्रचार हुन्छ । दर्शकका लागि बजारमा नपाइने, युट्युबमा नपाइने वा कुनै पनि ठाउँमा नपाएने फ्रेस सिनेमाहरू हुन्छन् र फिल्म मेकरलाई अन्य देशका फिल्म मेकरहरूको भेट र चलचित्रका बारेमा छलफल हुने ठाउँ हो । निफ अहिले यस्तो क्षेत्र बनेको छ जहाँ ५०/६० जना फिल्म मेकर विदेशी हुनुहुन्छ । नेपालका फिल्म मेकरहरू पनि आउनुभएको छ । आइडिया शेयर, मार्केटिङ र कोलाब्रेशनको विस्तार गर्ने माध्यम बनेको छ । हामीले कतिपय फिल्महरू अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा पठाइरहेका छौँ । यस अर्थमा दर्शक र फिल्म मेकरका लागि हो । फिल्म मेकरका लागि यो उत्सव हो, दर्शकका लागि पनि विभिन्न देशका सिनेमाहरू चिन्ने प्ल्याटफर्म हो । 

निफले राजनीतिकर्मी र सरकारलाई बढी महत्त्व दिन खोजेको जस्तो देखिन्छ तर त्यहाँबाट जहिले पनि धोका पाएको जस्तो देखिन्छ नि, किन यस्तो भइरहेको छ ?

चलचित्रको अहिलेसम्म बनेको नीति पनि कार्यान्व्यनमा आएको छैन । त्यो नीतिलाई कार्यान्वयनमा ल्याउनुछ । आवश्यकताअनुसारको नीति बनाउन र यस्ता फेस्टिबलहरू राज्यलाई देखाइएन वा राज्यलाई सुनाइएन वा भनिएन भने भोलिका दिनमा अझै गाह्रो हुन्छ । अहिलेको भन्दा झनै गाह्रो हुने देखिन्छ । त्यसैले फिल्म फेस्टिबल नर्मल्ली राज्यको फन्डिङमा प्रायोजित हुने हो । धेरैजसाे देशहरूमा फन्डिङ एजेन्सीहरू हुन्छ । राज्यले प्रत्यक्ष पनि सपोर्ट गर्छ । तर हाम्रोमा त्यस्तो स्थिति बनिसकेको छैन । किनभने हामीले कतै न कतै राज्य, सरकार, नेताहरूलाई बुझाउन नसकिएको हुनसक्छ । फिल्म फेस्टिबलमा ठूला मान्छेहरू आइरहेको बेलामा राज्यका ठूला निकायका मानिसहरू, ओहोदामा बसेका व्यक्तिहरूले आएर सम्बोधन गर्नुभयो भने हाम्रो सम्मान भएको अनुभुति हुन्छ । अन्य देशका मानिसले नेपालमा त सिनेमालाई प्राथमिकतामा राखेको रहेछ भनेर अरू देशलाई म्यासेज दिनसके उनीहरूको नेपालप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ भन्ने हिसाबले राजनीतिक नेताहरू, सरकारलाई ल्याउने र उहाँहरूको प्रतिबद्धता लिनका लागि हो । राजनीतिक मान्छेहरूको प्राथमिकता राजनीति नै होला । हाम्रा लागि प्राथमिकता सिनेमा हो । उहाँहरूको कर्मलाई प्राथमिकता दिनुपरेको होला, त्यसैले हाम्रो कर्मतिर उहाँहरूले प्राथमिकता दिनुभएन । 

निफलाई अघि बढाउन कस्ता योजनाहरू बनाउनुभएकाे छ ?

हामीले निफमा राम्रो फिल्म र फिल्म मेकरहरू ल्याएका छौँ । दर्शकहरूलाई विभिन्न देशका स्वाद पस्किएका छौँ । तर महत्त्वपूर्ण गर्नैपर्ने काम हामीले गर्नसकेका छैनौँ । किनभने हामीसँग स्राेतको अभाव छ । कर्पोरेट हाउसले हामीलाई सपोर्ट गर्दैन । सरकारको फन्डिङ एजेन्सीहरू छैन । सरकारले वार्षिक कार्यक्रममा राखिदिए हुन्थ्यो भन्ने हो, यस्ता फेस्टिबललाई वर्षको तीन करोड रुपैयाँसम्म छुट्याउने अवस्था बन्यो भने त्यो काम गर्न सकिन्छ । कुनै पनि फिल्म फेस्टिबलको क्रिएटिबिलिटी बढ्नका लागि त्यो फेस्टिबलमा मार्केट, फिल्मको बजार किनबेच हुनुपर्छ । निफ अहिलेसम्म किनबेच हुने प्ल्याटफर्मको रूपमा विकास भइसकेको छैन । त्यसका लागि बजार, फिल्म प्रोडक्शनको कम्पनीहरू ल्याउन सक्नुपर्छ । यस पटक पनि गर्ने पहल गरेको हो, स्राेत र साधनले दिएन । यस पटक काठमाण्डाै, ललितपुर र भक्तपुरमा किन विस्तार गरेका हौँ भन्दा हाम्रो आउँदाे लक्ष्य देशव्यापीरूपमा दिने हो । सातै प्रदेशमा एउटै कन्टेन दिएर फेस्टिबल गर्न सकिन्छ कि भनेर काठमाण्डाैबाहिरका मानिसले पनि संसारका फिल्म हेर्न पाउने गरी विकास गर्न गइरहेका छौँ । त्यसका लागि सरकारले वार्षिक कार्यक्रमअन्तर्गत यो फेस्टिबल राखिदिए कम्तीमा दुई/तीन करोड रुपैयाँ बजेट छुट्याइदियो भने अर्को वर्षदेखि काम गर्न सकिन्छ । नत्र भने यही सानो क्षेत्रबाट बाहिर उठ्न सक्दैनौँ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया