नुवाकोटको म्यागङ गाउँपालिकाले एसईईमा चार जीपीए ल्याउनेलाई ५० हजार रुपैयाँ दिने

 चैत ४, २०७९ शनिबार ९:२८:५७ | रासस
unn.prixa.net

नुवाकाेट - नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ। 

हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको गाउँपालिकाको उपाध्यक्ष सीता तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार एसईईमा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार रुपैयाँ र तीन दशमलव छदेखि चारभन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय भएको छ ।

एसईईमा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजाररुपैयाँ र तीन दशमलव छ देखि चारभन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय भएअनुसार कार्यविधि बनाएर कार्यान्वयन गर्न लागिएको शिक्षा शाखा प्रमुख शेरसिंह रावतले जानकारी दिनुभयो । उहाँको अनुसार यो व्यवस्था चालु शैक्षिकसत्रदेखि सुरु गर्न लागिएको हुँदा आवश्यक बजेटको सुनिश्चित भइसकेको छ भने कानुनी प्रक्रिया अन्तिम चरणमा पुर्‍याइएको छ ।

'अहिले विद्यार्थी एसईईको तयारीमा लागिरहेकाले उनीहरुको मनोबल उच्च बनाउन नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको हो', शिक्षा शाखा प्रमुख रावतले भन्नुभयो, 'यसअघिका परीक्षा र हालै भएको कक्षा १० को आन्तरिक परीक्षामा उत्कृष्टको नजिक–नजिकको अङ्क ल्याएकालाई थप लगनशील बनाउन गाउँपालिकाको यस्ताे निर्णयले थप ऊर्जा मिल्दछ ।'

विभिन्न छ वडा रहेको म्यागङ गाउँपालिकामा माध्यमिक तहसम्म अध्ययन गराउने विद्यालयको सङ्ख्या सात रहेको छ । ती विद्यालयमा चालु शैक्षिक सत्रमा एसईई दिने विद्यार्थीको सङ्ख्या तीनसय हाराहारीमा रहेको शिक्षा विकास तथा समन्वय एकाई नुवाकोटले जनाएको छ ।

तस्बिर : गाउँपालिकाकाे फेसबुक पेज

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया