तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिमको विजयी सुरुवात

 चैत ४, २०७९ शनिबार २०:२८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही - बुटवलमा आजदेखि २२औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेल जित्दै सुदूरपश्चिम ११ ले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोलअन्तरले पराजित गरेको हाे । जितसँगै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देवीनगरमा रहेकाे एन्फा मैदानमा भएको खेलमा सुदूरपश्चिमका लागि फागुराम थारूको दुई र स्वाम्या हार्दिकले एक गोल गरे ।

खेलको सुरुआतदेखि नै रुपन्देहीमाथि हाबी देखिएको सुदूरपश्चिमका लागि खेलको ३१औँ मिनेटमा थारुले फ्रि किकमार्फत् गोल गरेका थिए । खेलको दोस्रो हाफको सुरुआती मिनेटमै प्राप्त फ्रि किकलाई सदुपयोग गर्दै सुदूरपश्चिमका हार्दिकले गोल गर्दै खेल २–० अवस्थामा ल्याए ।

खेल अवधिभर उत्कृष्ट खेल प्रस्तुत गर्दै निरन्तर गोलको अवसर सिर्जना गरिरहेका थारूले दोस्रो हाफको २३औँ मिनेटमा थप एक गोल गर्दै टिमलाई ३–० को अग्रतामा पुर्याएका थिए । दोस्रो हाफको अतिरिक्त समयको अन्तिम समयमा रुपन्देहीका लागि विदेशी खेलाडी फोडे फोफोनाले सान्त्वना गोल गरे ।

सुदूरपश्चिमका फागुराम थारू म्यान अफ दी म्याच घोषित भए । दुई विभागीयसहित आठ टीम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ पुरस्कार पाउने सङ्घले जनाएको छ । गोल्डकपको उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख वा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् । यस्तै उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले जनही ३० हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । म्यान अफ दी म्याचलाई पनि ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया