अस्पतालको काम छाडेर ठेकेदार सम्पर्कविहीन, भवन निर्माण अलपत्र

 चैत १२, २०७९ आइतबार १५:४४:३५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – भवन निमार्णकाे जिम्मा लिएकाे ठेकेदार कम्पनी काम छाडेर सम्पर्कविहीन भएपछि रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बामा निर्माणाधीन १५ शय्याकाे दोरम्बा अस्पतालको निमार्ण काम एक वर्षदेखि अलपत्र परेको छ । 

दोरम्बा अस्पताल भवन निमार्ण गर्न आरोग्य सुवेदी जेभी कम्पनीले भ्याट र पीएससहित ११ करोड ३० लाख ११ हजार रुपैयाँमा २०७८ सालकाे चैत १६ गतेसम्म सम्पन्न गर्ने गरी २०७७ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले २ करोड २६ लाख रुपैयाँ निकालेर भवनको जग र पिलर हाल्ने काम गरेपछि बीचमै सम्पर्कविहीन भएकाे हाे । भवनकाे काम झन्डै १५ प्रतिशतमात्र भएकाे छ ।

भवन निर्माणका लागि ठेकेदार कम्पनीलाई पहिलो पटक ८२ लाख ४७ हजार रुपैयाँ भुक्तानी दिइसकेको र दोस्रो बिलको ४६ लाख १३ हजार रुपैयाँ भुक्तानीका लागि आवश्यक कागजात तयार गरिएको गाउँपालिकाले जनाएको छ । रकम बुझेकाे कम्पनी त्यसपछि भवन निर्माणकाे काममा फर्किएकाे छैन । सम्झौताअनुसारको समय सकिएपछि दोरम्बा शैलुङ गाउँ कार्यपालिकाको बैठकले पहिलो पटक २०७८ असोज १६ गतेसम्मका लागि म्याद थप गरेको थियो । त्यस अवधिमा पनि कुनै काम नभएपछि गाउँपालिकाले २०८० असार २४ गतेसम्मका लागि दोस्रो पटक म्याद थप गरेको छ । 

अस्पताल भवन निर्माणकाे जिम्मा लिएकाे कम्पनीले काम नगर्दा पिलरकाे रडमा खिया लागेको छ । याे भवन निर्माणका लागि ल्याइएका सामग्रीहरू ठेकेदार कम्पनीले रातारात उठाएर अर्कै ठाउँमा लगेको दोरम्बा–२ का मीनबहादुर तामाङले बताउनुभयाे । अस्पतालजस्तो संवेदनशील विषयमा निर्माण व्यवसायीले राजनीति गरेकाे भन्दै कम्पनीलाई कानुनअनुसार कारबाही गरेर भए पनि काम सम्पन्न गराउन लाग्नुपर्ने उहाँकाे भनाइ छ ।

अस्पताल भवन नहुँदा दैनिक उपचार लिन आउने सेवाग्राहीहरूलाई जस्ताको टहरामा राखेर उपचार गराउनुपर्ने बाध्यता रहेको दोरम्वा अस्पतालका अहेब प्रवीण बराइली बताउनुहुन्छ । ‘दोरम्बा अत्यन्तै चिसो ठाउँ भएकाले बिरामीलाई राख्ने ठाउँ अभाव हुँदा भर्ना गर्नसमेत समस्या भएको छ’, उहाँले भन्नुभयाे ।

कम बीचमै छाेडेर सम्पर्कविहीन भएकाे कम्पनी अहिले सम्पर्कमा आएको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘हामीले धेरै पटक प्रयास गर्दा निर्माण व्यवसायी सम्पर्कमा आएका छन् । अलपत्र परेको भवनको काम तत्काल सुरु गर्न निर्देशन दिएका छौँ । उनीहरूले चाँडै काम सुरु गर्ने जनाएका छन् ।’

अन्तिम अपडेट: चैत ३, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया