हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण

 चैत १२, २०७९ आइतबार १७:३८:३२ | रासस
unn.prixa.net

काठमाण्डौ – पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण देशको हवाई सुरक्षा सुदृढीकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ ।

स्वदेशी तथा विदेशी वायु सेवा कम्पनीको उडानमा लापरबाही, हवाई सुरक्षा पालनामा देखिएको हेलचेक्र्याइँलाई मध्यनजर गर्दै प्राधिकरणले हवाई सुरक्षामा विशेष चासो देखाएको हो । 

देशमा बढ्दो हवाई सुरक्षामा देखिएका जोखिमलाई मध्यनजर गरी प्राधिकरणले विभिन्न तवरले सुक्ष्म निगरानी बढाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । ‘हवाई सुरक्षाका विषयमा प्राधिकरणले सुक्ष्म निगरानी गरिरहेको छ । हवाई सुरक्षामा लापरबाही गर्ने वायु सेवा कम्पनी र संलग्नलाई आवश्यक कारबाही पनि भइरहेको छ’, उहाँले भन्नुभयो ।

हवाई क्षेत्रको ‘सेफ्टी’ र ‘सेक्युरिटी’प्रति सचेत हुँदै प्राधिकरणले उडान सुरक्षा उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याइरहेको प्रवक्ता निरौलाले उल्लेख गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन पटक–पटक निर्देशन पनि दिँदै आउनुभएको छ ।

शनिवार पत्रकारसँगको अन्तरक्रियामा पनि उहाँले हवाई सुरक्षाप्रति कुनै किसिमको कमी कमजोरी हुन नदिन आफूले सम्बन्धित निकायका अधिकारीलाई बारम्बार ध्यानाकर्षण गराइरहेको बताउनुभएको थियो ।

यसैबीच प्राधिकरणले नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) सँग आकाशमै ठोकिनबाट जोगिएको एअर इन्डियाको जहाजको सम्बन्धमा छानबिन गर्ने भएको छ । प्राधिकरणले यस घटनामा संलग्न एअरलाइन्समाथि छानबिन गरिने प्राधिकरणका प्रवक्ता निरौलाले बताउनुभयो ।

गएको शुक्रवार नेपाल एअरलाइन्सको जहाज मलेसियाको क्वालालम्पुरबाट काठमाण्डौको त्रिभुवन विमानस्थल आउँदै थियो । त्यही समय दिल्लीबाट काठमाण्डौका लागि उडेको एअर इन्डियाको जहाज १९ हजारको फिटको उचाइबाट उडिरहेको थियो । एअर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिविना नै एअर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एअरलाइन्सको जहाजसँग झन्डै ठोकिन पुगेको थियो । लगत्तै नेपाल एअरलाइन्सले उडान केही फिट डाउन गरेकाले दुर्घटना हुनबाट बचेको थियो । उहाँका अनुसार त्यस घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको र घटनामा एअर इन्डियाको तर्फबाट देखिएको लापरबाहीका सम्बन्धमा छानबिन गर्न एक समिति गठन गरिएकोे छ । 

जतिसक्दो छिटो अध्ययन गरी प्रतिवेदन पेस गर्न त्यस समितिलाई निर्देशन दिइएको छ । यसअघि फागुन १५ गते पनि कतारको दोहाबाट काठमाण्डौ आउँदै गरेको कतार एअरवेज र मलेसियाको क्वालालम्पुरबाट काठमाण्डौ आउँदै गरेको नेपाल एअरलाइन्सको जहाज आकाशमै ठोकिनबाट बचेका थिए । त्यस घटनामा आन्तरिक उडानमा रहेको  बुद्ध एअरको जहाज पनि जोखिममा थियो ।

यही चैत ९ गते प्राधिकरणले काठमाण्डौ–लुक्ला उडानका क्रममा टावरमा रहेका एअर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अपशब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई निलम्बन गरेको थियो । त्यसैगरी उडान सुरक्षा मापदण्ड उलङ्घन गर्ने थप दुई हेलिकप्टर कम्पनी क्रमशः एअर डाइनेस्टी र फिस्टेल एअरका पाइलटलाई पनि निलम्बन गरिएको थियो ।

यसअघि यही चैत ७ गते प्राधिकरणले वायु सेवा निगमको ट्विनअटर जहाजका चालकदलसहित सात जनालाई निलम्बन गरेको थियो । ताप्लेजुङबाट     काठमाण्डौका लागि उडान भरेको निगमको नाइन एन एबीटी विमानमा लोड सिट क्षमताभन्दा एक सय पाँच केजी बढी सामान बोकेको सूचना पाएपछि प्राधिकरणले जाँच गर्दा कागजमा देखाइएको भन्दा बढी तौल भेटिएकाले उडान अनुशासन पालना नगर्ने जहाजका चालकदलका सदस्यसहित विमान ग्राउन्डेड गरिएको प्राधिकरणले उल्लेख गरेको छ ।

चालक दलका तीन सदस्य, निगमका मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई निलम्बन गर्नुका साथै घटनाबारे आवश्यक छानबिन गरिने प्राधिकरणले जनाएको छ । त्यसैगरी गएको फागुन २५ गते काठमाण्डौबाट भैरहवा उडेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको थियो । 

श्री एअरलाइन्सको उडान नम्बर ८२१ को जहाजको इन्जिनमा  ‘फायर वर्निङ’ देखिएपछि बिचबाटै डाइभर्ट गरेर काठमाण्डौ आकस्मिक अवतरण गरिएको हो । घटनालगत्तै प्राधिकरणले त्यस एअरलाइन्सका उडानमा रहेका सबै जहाज एक दिन ग्राउन्डेड गरी जाँच गराएपछि भोलिपल्ट जहाज पुनः उडानका लागि अनुमति दिएको थियो ।

यसरी हवाई सुरक्षा पालनामा लापरबाही गर्ने र आचरण विपरीत काम गर्ने विमान कम्पनी र संलग्न पाइलटलाई कानुनी दायरामा ल्याउन प्राधिकरण आक्रामकरूपमा प्रस्तुत भएको हो । देशको हवाई सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उडान सुरक्षालाई सुदृढ र प्रभावकारी तुल्याउन लागि परेको प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया