खुलामञ्चमा प्रवेश गर्न नदिएपछि गेटमा धर्ना दिँदै मिटरब्याज पीडित

 चैत १३, २०७९ सोमबार १९:५४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले विरोध प्रदर्शनका लागि काठमाण्डौ आएका मिटरब्याज पीडित आन्दोलनकारीहरूलाई खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चकै अगाडि प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी गरिरहेका हुन् । खुलामञ्चमा काठमाण्डौ महानगरका नगर प्रहरीले प्रवेश गर्न नदिएपछि आफूहरू खुलामञ्चको गेटमै प्रदर्शन गरेर बसिरहेको मिटरब्याजविरुद्ध सङ्घर्ष समितिले जनाएको छ । अहिले ९२ जना मिटरब्याज पीडितहरूले गेटमै धर्ना दिइरहेका पनि समितिले जनाएको छ ।

खुलामञ्चमा प्रवेश नदिए आफूहरू रातभरि गेटमै बसेर भोलि मङ्गलवार संसद् भवन वा प्रधानमन्त्री कार्यालय घेर्न जाने कार्यक्रम रहेको पनि समितिले जनाएको छ । साथै कानुन बनाउनका लागि दबाब दिनुपर्ने भएका कारण यस पटक आफूहरू माइतीघर मण्डलामा भने नबस्ने पनि समितिले जनाएको छ ।

प्रदर्शनमा सहभागी धेरैजसो पीडितहरू महोत्तरीको बर्दिवासबाट ११ दिनको पैदलयात्रा तय गरेर हिजो आइतवार काठमाण्डौ आएका हुन् । यसअघिका आन्दोलनमा सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको भन्दै प्रधानमन्त्रीसमक्ष आफ्ना माग फेरि सुनाउन भन्दै उनीहरू बर्दिवासदेखि पैदल यात्रा गरेर काठमाण्डाै आएका हुन् ।

यसैबीच काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पीडितहरूलाई पशुपति धर्मशालामा बस्ने र खाने व्यवस्था मिलाएको भए पनि उनीहरू अटेरी गरेर खुलामञ्चमा प्रवेश गर्न लागेको बताउनुभएको छ । फेसबकुमा स्टाटस लेख्दै बालेन्द्र शाहले महानगरपालिका पीडितहरूको पक्षमा रहेको भन्दै माग सुनाउन पीडितहरू काठमाण्डौ आउने अवस्था रोक्न सङ्घीय सरकारले काम गर्नुपर्ने बताउनुभएको छ । 

तस्बिर : सबिन धमलाकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया