श्रमिक, रोजगारदाता र म्यानपावरलाई जोड्ने ‘उज्ज्वल सपना’ मोबाइल एप

 चैत १५, २०७९ बुधबार १७:१५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इसरा इन्स्टिच्युटले श्रमिक, रोजगारदाता र म्यानपावरलाई एकै ठाउँमा जोड्ने ‘उज्जल सपना’ मोबाइल एप ल्याएको छ ।

मंगलबार ललितपुरमा एक कार्यक्रमकाबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल र इसरा इन्स्टिच्युटकी कार्यकारी निर्देशक डा. लिजा रेन्डी टेलरले संयुक्त रूपमा एप सार्वजनिक गर्नुभएको हो । 

यो एपबाट विशेष गरी मलेसिया जान चाहने श्रमिकले मलेसियाका रोजगारदाता, त्यहाँ उपलब्ध रोजगारी, त्यस काममा पठाउने म्यानपावर लगायतका बारेमा जानकारी प्राप्त गर्ने छन् । 

यो एप एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सक्नेछन् । प्ले स्टोरमा ‘गोल्डेन ड्रिम’ नाममा यो एप उपलब्ध रहेको इन्स्टिच्युटले जनाएको छ ।

म्यानपावर कम्पनी कस्तो हो, त्यस म्यानपावरका बारेमा अरू श्रमिक तथा सरोकारवालाले कस्तो समीक्षा गरेका छन् भन्ने जानकारी पनि एपमार्फत पाइने छ ।

म्यानपावर कम्पनीले पनि आफूले कुन कम्पनीमा कुन काममा श्रमिक पठाउने हो त्यसबारेमा जानकारीका साथै लाग्ने रकम लगायतको बारेमा यस एपमा जानकारी राखेका राख्न सक्छन् । त्यो कामका लागि श्रमिकले मोबाइल एपबाटै आवेदन दिन सकिने इसरा इन्स्टिच्युटले जनाएको छ । 

वैदेशिक रोजगारीको अवसर खोजिरहेका श्रमिकले यो एपमा आफ्नो अनुभवसहित आफूले गर्न चाहेको कामको बारेमासमेत उल्लेख गरी आफ्नो बायोडाटासमेत बनाएर राख्न सक्नेछन् । श्रमिकले राखेको बायोडाटा र कामको माग मिलेमा म्यानपावर कम्पनीले श्रमिकलाई सम्पर्क गर्न सक्ने विकल्प पनि एपमा छ ।

यस्तै यो एपबाट कामको माग आएका कम्पनी कस्तो हो, त्यो कम्पनीमा के कस्तो काम गर्नुपर्छ लगायतको जानकारी पनि पाउन सकिन्छ । 

‘उज्ज्वल सपना’ प्रवासी कामदार र वैदेशिक रोजगार खोजी गर्नेहरूका लागि श्रम कानुन र अधिकार, म्यानपावर कम्पनी, रोजगारदाता, सेवा प्रदायक, दैनिक अद्यावधिक गरिएका सूचना तथा समाचारसहित विस्तृत जानकारी दिने उद्देश्यले तयार पारिएको स्मार्टफोन एप हो । यो एपमा बर्मेली, खमेर र नेपाली भाषामा नेपाल र गन्तव्य देशका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । 

अत्यावश्यक सेवा प्रदायक निकायको बारेमा जानकारी पनि यो एपबाट पाउन सकिन्छ । मलेसियामा काम गर्ने नेपाली श्रमिकले यो एपमार्फत आफू नजिक रहेको अस्पताल, प्रहरी, दूतावास लगायतका निकायको सम्पर्क नम्बरसँगै अन्य जानकारी पाउन सक्नेछन् भने नेपालमा श्रमिकलाई सहयोग गर्ने विभिन्न सरकारी र गैरसरकारी निकायहरूको बारेमा पनि यो एपमा जानकारी राखिएको छ ।

यो एपमा वैदेशिक रोजगारीमा जानु पूर्व गर्नु पर्ने कुराहरू, अपनाउन पर्ने सावधानी र महत्त्वपूर्ण समाचारका लिङ्कहरू पनि उपलब्ध छ ।

एप सार्वजनिक कार्यक्रममा श्रम मन्त्रालयका सहसचिव पोखरेलले नेपालीका लागि वैदेशिक रोजगारी बाध्यता भएको बताउँदै श्रमिकमैत्री वैदेशिक रोजगार ऐन बनाउन मन्त्रालयले गृहकार्य गरिरहेको र पाँच वर्षे रणनीतिसमेत तयार गरेर काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरिबहादुर थापाले यो एपले सबैलाई एउटै स्थानमा ल्याउन सहयोग पुर्‍याउने बताउनुभएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया