मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'

 चैत १५, २०७९ बुधबार २०:१८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

सूचना प्रविधिको सहायताले दैनिकी सहज बनाउने, कामलाई छिटो छरितो र कम लागतमै सम्पन्न गर्ने कुरा अब नयाँ विषय रहेन । इमेल इन्टरनेट, सामाजिक सञ्जाल, टेलिमेडिसिन, भर्चुअल बैठक र भर्चुअल काम लगायतका विषयमा नयाँ पुस्ता अभ्यस्त भइरहेको छ । यी काम र अभ्यासको बारेमा चर्चा गर्दा नयाँपनको झल्को आउँदैन । सूचना प्रविधिको क्षेत्रमा हरेक दिनजसो नयाँ–नयाँ आविष्कार र प्रयोग भइरहेको समयमा पछिल्लो समय च्याट जीपीटीले धेरैलाई सहजमात्रै होइन आश्चर्य र हैरान बनाइदिएको छ । 

गएको नोभेम्बर ३० तारिखमा सार्वजनिक भएको च्याट जीपीटीबारे सुरुमा धेरैले वास्ता राखेनन् । तर जब यसले मानिसले गर्ने काम फ्याट्ट–फ्याट्ट गरिदिन थाल्यो तब ध्यान जान थाल्यो ।

सन् २०१५ मा स्थापना भएको ओपन एआई संस्थाले अहिले आर्टिफिसियल इन्टेलिजेन्स एआईमार्फत नै धेरैको जिज्ञासा समाधान गरिदिने र काम गरिदिने गरी च्याट जीपीटी चलाइरहेको छ । यसमा हामीले अर्को व्यक्तिसँग प्रत्यक्ष कुरा गरेजस्तो प्रश्नोत्तर गर्न सकिन्छ । अन्योल नहटेसम्म मज्जाले प्रश्नोत्तर गरेर प्रस्ट हुन सकिन्छ । झट्ट हेर्दा लाग्छ, हामीले सशरीर उपस्थित भएको कुनै विज्ञसँग कुरा गरिरहेका छौँ । 

त्यसो त गुगलमा वर्षाैँदेखि आफूले चाहेजस्तो सामग्री खोज्न सकिन्छ र गर्न लागेको कामबारे विचार लिन पनि सकिन्छ । सर्च इन्जिनमा गुगल जस्तो शक्तिशाली अहिलेसम्म अर्को टुल आएको छैन भन्नेहरू पनि छन् । तर गुगलले तपाईँकाे जिज्ञासा समाधान गरिदिन्छ, काम गरिदिन्न । च्याट जीपीटीले भने तपाईँको काम नै गरिदिन्छ । 

उदाहरणका लागि तपाईँ बिरामी बिदामा बस्नुपर्‍याे भने कार्यरत संस्थालाई बिदाको निवेदन लेखिदिने काम च्याट जीपीटीले गर्छ । कुन कामका लागि बिदा बस्नुपरेको हो ? थाेरै, धेरै, औपचारिक भाषा, अनौपचारिक भाषा, कुन डिजाइन लगायतका सबै विकल्प हुन्छन् । 

यस्तै तपाईँले जलवायु परिवर्तनबारे कतै प्रस्तुतिकरण दिनुपर्‍याे भने तपाईँलाई सबै जानकारीसहित वर्ड फाइलदेखि पीडिएफसम्म यसले नै तयार पारिदिन्छ । शब्द, चित्र, अडियो, भिडियो लगायतको प्रयोग गरेर कुनै विज्ञले बनाएजस्तो प्रस्तुति च्याट जीपीटीले केहीबेरमै तयार पारिदिन्छ ।

तपाईँलाई चाहिएका विभिन्न निबन्ध, सामान्य ज्ञानका विषय, निवेदन, समाचार लगायतका जिज्ञासा यसले तत्कालै समाधान गरिदिन्छ । च्याट जीपीटीले अब यस्ता सामान्य कामसँगै निकै जटिल काम पनि गरेर चकित बनाउन थालेको  छ ।

च्याट जीपीटी यतिसम्म शक्तिशाली र क्षमतावान् भयो कि एमबीबीएससम्मका परीक्षा उत्तीर्ण गरेका खबर आइरहेका छन् । केही समयअघि च्याट जीपीटीले अमेरिकी मेडिकल लाइसेन्स परीक्षा पास गरेको थियो । यस्तै कानुन व्यवसायीको लाइसेन्सको परीक्षा पनि सहजै उत्तीर्ण गरेको छ । थुप्रै रिसर्च पेपर पनि यसले नै बनाएको छ ।

एप बनाउने, गीत लेख्ने, कविता सृजना गर्ने, स्केच बनाइदिने, गेम बनाउने लगायतका काम यसले केही क्षणमै गर्छ । यस्ता अनेकाैँ फिचरका कारण अहिले प्रयोगकर्ता दिनदिनै बढिरहेका छन् । मानिसको शक्तिशाली दिमागले जस्तै च्याट जीपीटीले काम गरिरहेको छ । 

मानव मस्तिष्क र सृजनासँग प्रतिस्पर्धा

मानिसले गर्न सक्ने विभिन्न काम गर्न थालेपछि अहिले च्याट जीपीटीलाई मानव मस्तिष्कको विकल्प र प्रतिस्पर्धीकाे रूपमा लिन थालिएको छ । यसले मानिसले वर्षाैँसम्म सङ्घर्ष गरेर आर्जन गरेको सीपलाई छायामा पार्नेदेखि मानव रोजगारीलाई नै चुनौती दिइरहेको बहस चलेको छ । च्याट जीपीटीले रोजगारीमा पार्न सक्ने असर र मानव सृजनालाई दिन सक्ने चुनौतीबारे अध्ययन पनि हुन थालेका छ्न् । 

मानिसको मस्तिष्क प्रयोग गरेर हुने काम च्याट जीपीटीले नै गरिदिन थालेपछि यसलाई अवसर, चुनौती र प्रतिस्पर्धीको रूपमा हेरिएको छ । कुन काम मानव मस्तिष्क प्रयोग गरेर बनाएको हो र कुन काम च्याट जीपीटीले गरेको हो भनेर छुट्याउनै नसकिने गरी बडो भरपर्दा तरिकाले काम गरेको हुनाले यसलाई मानव मस्तिष्कको विकल्पका रूपमा चर्चा गर्न थालिएको छ । 

इन्भेस्टभेन्ट ब्याङ्क गोल्डमन स्याक्सले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले च्याट जीपीटीसहितका आर्टिफिसियल इन्टेलिजन्स एआई प्रविधिले ३० करोड पूर्णकालीन रोजगारीलाई विस्थापित गर्न सक्ने जनाएको छ ।

अध्ययन प्रतिवेदनका अनुसार एआई प्रविधिले अमेरिका र युरोपमा कामका एक चौथाइसम्मका क्रियाकलापलाई विस्थापित गर्न सक्नेछ । पुराना रोजगारी कटौती गर्ने चुनौतीमात्र होइन नयाँ विचारमार्फत नयाँ रोजगारी सृजना गर्न सक्ने अवसर पनि एआईले गरिदिन सक्ने भएकाले अहिले नै मानिसहरू डराइहाल्नु नपर्ने पनि अध्ययनमा उल्लेख छ ।

यस्तै च्याटजीपीटीको निर्माता ओपनए आईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले समेत अब मानिसको रोजगारी र सृजनामा केही न केही चुनौती थपिएको स्वीकार गरेका छन् । तत्कालै यसले लाखौँ रोजगारीमा चुनौती सृजना नगर्ने तर बिस्तारै मानिसका कैयौँ काम च्याट जीपीटी र एआईका अन्य माध्यमले नै गरिदिने अल्टम्यानको भनाइ छ । 

‘कुनै मानिसले एउटा रिसर्च पेपर लेख्न एक महिनाको समय लगाउँछ भने च्याट जीपीटीले केही घण्टामै यो काम गर्न सक्छ, यदि कसैले पारिश्रमिक लिएर रिसर्च पेपर लेख्ने काम गरेको छ भने उसको त रोजगारी जाने नै भयो’, उनले भनेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया