नेभिगेशन

सप्तरीको कृष्णाराम मरौटी उपेक्षाकाे चपेटामा

सप्तरी – पर्यटकीय सम्भाव्यता बोकेको सप्तरीको साविक बकधुवा गाविस हाल अग्निसाइर कृष्णाशवरण गाउँपालिकाको चुरे क्षेत्रमा रहेको कृष्णाराम मरौटी स्थलको उपेक्षाको सिकारका कारण विकास हुन सकेको छैन । 

वर्षौंअघि कृष्णाराम यदुवंशी भैंसी चराउन चुरे वनमा जाने गरेको तथा त्यसै क्रममा उनका भाइ सोवरण र कृष्णारामकोसमेत जंगलमा मृत्यु भएको थियो । त्यो ठाउँमा अहिले पनि नेपाल तथा भारतको विभिन्न स्थानहरुबाट जनार(खीर चढाउन) दिनका लागि किसान तथा पशुपालकहरु जाने गर्दछन् ।

मरौटीमा दुध, लड्डु, पान, सुपारी, खीरसहितका सामग्रीहरु पूजाको रुपमा चढाइन्छ । 

कृष्णारामको पूजा गरेपछि पशुको वंश वृद्धि तथा गाई(भैंसीले बढी दूध दिने समेत जनविश्वास रहँदै आएकोले पशुपालकको घरमा गाई वा भैंसी ब्याएपछि पहिला कृष्णारामलाई नै दुध, खीर तथा दही बनाएर चढाउने गरिन्छ ।

यस सम्बन्धमा लुम्बिनी विश्व विद्यालयका रजिष्टूार तथा इतिहासविद् प्रा.डा. पिताम्बर लाल यादवले सप्तरी जिल्लामा यस्ता धार्मिक एवं ऐतिहासिक स्थलहरु रहेपनि सरकारले वास्ता नगरेका कारण अस्तित्वविहिन बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । स्थानीय स्तरमा रहेका स्थलहरुको विकास गर्नका लागि तत्काल सरकारको ध्यान केन्द्रित हुनुपर्ने उहाँको सुझाव थियो ।

पूर्वपश्चिम लोकमार्गको सप्तरी अन्तर्गत महुलीबाट उत्तर तर्फ जंगलको ३ घण्टा पैदल यात्रा पछि त्यहाँ पुग्न सकिन्छ । यस क्षेत्रलाई विकास गर्नका लागि उचित सुविधाका साथै भौतिक पूर्वाधार समेत आवश्यक रहेको छ । 

सो स्थानमा पूर्व सभासद् सिवराम यादवले उक्त क्षेत्रको विकासका लागि दुई तल्ले धर्मशाला समेत निर्माण गर्नु भएको छ । उक्त धार्मिक स्थललाई सम्बन्धित सबै पक्षको सहयोग भए कृष्णाराम मरौटीलाई नेपालकै एक नमूना पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने स्थानीय सरोरकावालाहरुको भनाई छ ।

प्रकाशित मिति:
थप समाज