विदेशमा हुने साथीहरुले सामाजिक सुरक्षालाई नकारात्मक रुपमा नबुझौँ

 चैत १७, २०७९ शुक्रबार १८:४७:३७ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

विगत १२ वर्षदेखि म यूएईमा छु । मैले कतारबाट वैदेशिक रोजगारी सुरु गरेको हुँ । अहिले यूएईमा आफ्नै व्यवसाय रेष्टुरेन्ट सञ्चालन गरिरहेकाे छु । साथै मैले रोजगारी पनि दिएको छु । मेरो रेष्टुरेन्टमा काम गर्नेहरु नेपाली दाजुभाइ नै हुनुहुन्छ । 

सरकारले भर्खरै लागू गर्न खोजेको सामाजिक सुरक्षा योजना नराम्रो छैन । तर विदेशमा रहनुभएका धेरै साथीहरुले यसलाई नराम्रो भन्ने गरेको पनि सुनिन्छ । कसैले बुझेर वा नबुझेर पनि हुनसक्छ । यस्तै कसैले विरोध गर्नकै लागि विरोध गर्नुपर्छ भन्ने हेतुले पनि हुनसक्छ । म यसलाई नराम्रो भन्ने पक्षमा पटक्कै छैन । ढिलोछिटो यो गर्नु पर्ने नै थियो । विदेशमा रहेका आफ्ना नागरिक विदेशमा रहँदा, त्यहाँ उनीहरुलाई समस्या पर्दा, अपांग हुँदादेखि ज्यान जाँदासम्म के गर्ने, नेपाल फर्केपछि  के गर्ने ? त्यो अवस्थामा राज्यले सोच्नुपर्ने र योजना ल्याउनुपर्ने पहिले नै थियो । राम्रै भएको छ । यद्यपि यसका चुनौतीहरु धेरै छन् । र श्रमिकले शंका गर्ने ठाउँहरु धेरै छन् । किनकी यसको बारेमा विदेशमा रहेका नेपालीहरुलाई नै बुझाइएको छैन । 

धेरै श्रमिकहरुले यसको फाइदा के हो, यो कसको लागि किन गरिएको हो भनेर धेरैले बुझेका छैनन् । यसलाई बुझाउनु सरकारको पहिलो दायित्व हुन्छ । बुझ्दै नुबुझेपछि शंका गर्ने ठाउँ पनि रहन्छ । किनकी वैदेशिक रोजगारीमा जाने नेपालीहरु पलपल आफ्नै देशमा ठगिएका उदाहरणहरु प्रसस्तै छन् । सरकारले त पहिले पनि बाहिर जानको लागि फ्री भिसा  फ्री  टिकेट अर्थात् सेवासुल्क बापत दश हजार रुपैयाँ भन्दा बढी तिर्नुपर्दैन भनेर यस्ता मिठा कुराहरु धेरै पहिलेदेखि गर्दै आएको छ । कागजी कानुनमा ती कुराहरु अझै पनि उल्लेख होलान् । तै पनि सरकारकै आँखा अगाडि नै सरकारकै नियमको आँखा छल्दै म्यानपावर व्यवसायीहरुलाई लाखौँलाख तिरेर खाडी आउनुपर्ने बाध्यता अझै कायम छ । त्यसैले गर्दा मिठा कुरामा मात्र श्रमिकहरु अर्थात् जोकोही नेपाली पत्याइहाल्ने अवस्थामा छैनौँ ।

हामीलाई राम्रै कुरा पनि फरक दृष्टिबाट फरक कोणबाट अर्थात् विभिन्न शंका गरेर सोच्नुपर्ने बाध्यता छ । यो रहर होइन बाध्यता हो । किनकी विगतमा सरकारी तवरबाट बनेका नीति नियम र बनेका योजनामा हामीले बारबार धोका खाँदै आइरहेएका छौँ । जस्तै बिमाकै हकमा हेर्यौँ । बिमा त यसभन्दा पहिले पनि विदेश जाँदाखेरि गरिन्थ्यो । तर कदमकदाचित त्यो श्रमिकको ज्यान गयो भने उसको परिवारले त्यो बिमा पाउनको लागि आकासको तार झार्नुभन्दा बढी कठिन हुन्छ । कतिपयले पाउँदैनन् । यी सरकारी झन्झट र सहज रुपमा नपाउने अप्ठेराहरु जुन् छन्, त्यसले गर्दा पनि हामीले शंका गर्नुपर्ने ठाउँहरु छन् । 'ए हाम्रै लागि हो र ?' भन्ने शंका उत्पन्न हुने ठाउँहरु छन् । किनकी हामीले बारबार त्यही खालका समस्याहरु भोग्दै आइरहेका छौँ । 

त्यसैले पहिले त सरकारले जनचेतना फैलाउन जरुरी छ । यो श्रमिककै हकहितको लागि हो भनेर जनचेतना जगाउनुपर्छ । प्रवासमा रहेका संघसंस्था, गैर आवासीय नेपाली संघ वा विभिन्न देशमा त्यहाँको वश्वास कमाएर बसेका संघसंस्थालाई परिचालन गरेर हुन्छ या कसरी हुन्छ । बुझाउनुपर्छ । यस्तै विदेश आउनुभन्दा अगाडि किन यो योजनामा जोडिने भनेर अभिमुखीकरण तालिम दिनुपर्छ । त्यसैले सम्बन्धित व्यक्तिसम्म सूचना जगाउनुपर्छ । 

सरकारले यो योजनामा श्रमिकलाई आबद्ध गर्न खोजेको एकदमै राम्रो हो । तर त्यो भन्दा अगाडि श्रमिकले प्रत्यक्ष रुपमा भोगिरहेका जनसरोकारका साझा सवालहरु, जो अहिले अत्यावश्यक थिए । ती कुरालाई अझ पूरा गर्दै जान सके अझै राम्रो हुन्थ्यो । विदेशमा ज्यान गुमाएका कति श्रमिकको शव यतै छ, नेपाल झिकाउनै नसकिने, वा प्रक्रिया नै अप्ठेरो हुँदा उनीहरुका नेपालमा रहेका परिवारले अन्तिम संस्कार गर्नै पाउँदैनन् । यस्तै यहाँ श्रम शोषणमा परेका, झुटो आरोप लागेर जेलमा परेकाहरुलाई उद्धार गर्न सके, त्यस्ता पीडितहरुलाई न्याय दिन सके राम्रो हुन्थ्यो । अर्थात् श्रमिकले भोग्दै आएका साझा समस्याको समाधानतर्फ पनि ध्यान दिन जरुरी छ ।  

सामाजिक सुरक्षाले यस्ता समस्यालाई पनि छुन सकोस् । त्योभन्दा पहिले त विदेशमा रहेका नेपालीहरुको लागि सामाजिक सुरक्षा योजना किन आवश्यक छ भन्ने कुरा सरकारले हामीहरुलाई बुझाउन जरुरी छ । 

(जयराम पराजुली अर्थात् जे. सागरसँग रेडियो कार्यक्रम देशपरदेशको लागि गरिएको कुराकानीमा आधारित ।)

 


अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया