हुम्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव

 चैत १८, २०७९ शनिबार १५:५७:४८ | रासस
unn.prixa.net

हुम्ला - हुम्ला जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । अस्पतालमा तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ ।

अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा अहिले २५ प्रकारका मात्रै रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो । 'जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन महिनादेखि रित्तै छ । प्रदेश सरकारले खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधि अभाव भएको हो', उहाँले भन्नुभयो ।

प्रमुख सिंहका अनुसार उपचार गर्न आउने प्रायजसाे बिरामी औषधि नपाएर रित्तै फर्किने गरेका छन् । सिमकोट र नाम्खा गाउँपालिकामा रहेकाे स्वास्थ्य चौकीबाट सापटी मागेर बिरामीको उपचार गर्नु परेको उहाँको भनाइ छ ।

प्रदेश सरकारलाई औषधि अभावबारे पटक–पटक जानकारी गराएको भए पनि अहिलेसम्म सुनुवाइ नभएको प्रमुख सिंहले बताउनुभयो । दुई–तीन पटक मन्त्रालयमा गएर यसबारे जानकारी गराउँदा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । पन्ध्र शय्याको जिल्ला अस्पतालमा यसबाट बिरामी मारमा परेका छन् । 

औषधि सापट मागेर बिरामीको उपचार

केही दिनअघि विष खाएका सिमकोट गाउँपालिका–१ का वीर भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइयो । औषधि अभावका कारण सामान्य उपचार गरी नेपालगञ्ज पठाइएको अस्पतालले जनाएको छ ।

अस्पतालमा औषधि अभाव भएपछि बिरामीले निजी क्लिनिकबाट औषधि किन्नुपर्ने बाध्यता रहेको खार्पुनाथ गाउँपालिका–४ का प्रजित रोकायाले बताउनुभयो । यस्तै श्रीमतीको उपचार गर्न जिल्ला अस्पताल आउनुभएका सर्केगाड गाउँपालिका–२ का मनसिंह कार्की पनि निजी क्लिनिकबाट महँगोमा औषधि किन्नु परेको बताउनुहुन्छ ।

रुघाखोकीका बिरामी बढ्दै

जिल्ला अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढ्न थालेका छन् । मौसममा एक्कासी आएको परिवर्तनका कारण बिरामी दैनिक बढिरहेका अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो ।

'दैनिक ८० देखि ९० जना सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । जटिल प्रकृतिका बिमारीलाई भर्ना गरेर राख्नुपर्ने भए पनि शय्याको अभाव हुन थालेको छ', उहाँले भन्नुभयो । सङ्ख्या बढेपछि भुइँमा राखेर बिरामीको उपचार गर्नुपरिरहेको बोहराले बताउनुभयो ।

प्रदेश सरकारबाट उपलब्ध १० लाख रुपैयाँ बराबरको औषधि दुई महिनाभन्दा बढी समयलाई नपुग्ने अस्पतालका स्टोरकिपर मनिकृष्ण जैसीले बताउनुभयो । बजेट अभावका कारण औषधि खरिद गर्न नसकिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया