अब पुरानो ढर्राको राजनीति र नेताहरुले देश बन्दैन, त्यसैले बाटो बदलेँ : स्वर्णीम वाग्ले

 चैत १८, २०७९ शनिबार १६:४०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेस छाडेका अर्थशास्त्री स्वर्णीम वाग्लेले अब पुरानो ढर्राका पार्टी र नेताहरुबाट देश परिवर्तन नहुने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको पत्रकार सम्मेलनमा वाग्लेले नेपाल विकसित बनाउन निकै ढिलो भइसकेको तर पुराना ढर्राका पार्टी र नेताहरुबाट यो सम्भव नरहेको बताउनुभयो ।

देश बनाउन ढिलो भएको आभाषले नै आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महाअभियानमा उभिन बाध्य बनाएको वाग्लेको भनाइ छ । समय सीमा नै तोकेर अब देशलाई परिवर्तन गर्नुपर्ने वाग्लेले बताउनुभयो ।

‘व्यवस्था नै परिवर्तन गरेपछि नागरिक र देशको अवस्था परिवर्तन हुन्छ भनेर हामीले ७० वर्ष खेर फाल्यौँ । तर व्यवस्था मात्रै फेरियो, अवस्था फेरिएन ।  राणा शासन, पञ्चायत र राजतन्त्र लगायतका व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन भएन । त्यसैले म पनि बाटो बदल्न बाध्य भएँ’ वाग्लेले भन्नुभयो । 

उहाँले अब पुरानो ढर्राको राजनीतिले देशले केही नपाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो केही गरौँ भनेर उदाएको र विज्ञ व्यक्ति नेता भएको पार्टीमा आफू जोडिएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया