सुदूरपश्चिममा बान्नीकी चैतली मेला सुरु

 चैत २०, २०७९ सोमबार १२:३७:७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - सुदूरपश्चिममा प्रसिद्ध मेला बान्नीकी चैतलीको रौनक छ । होली पूर्णिमादेखि सुरु हुने मेला चैत्र शुक्ल पूर्णिमासम्म लाग्ने गर्छ ।

मेला सुरु भएपछि हरेक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो भएर व्रत बस्ने बान्नी मष्टाका पुजारी नृपराज जोसीले बताउनु भयो । 

उहाँका अनुसार परापूर्वकालमा महिसासुर दानवले बान्नी मष्टासँग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मादेवि प्रकट भइ महिसासुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गर्छ ।

सुर्मादेवीले दानवको बध गरेको प्रतीकका रुपमा चैत्र औँसीका दिन काटेको लिङ्गोलाई चैत्रशुक्ल त्रयाेदशीका दिन तोलेनी भन्ने खेतमा हिँडाउने गरिन्छ । दर्शनार्थीले हिजो बान्नीको काङ्कर अर्थात् लिङ्गो र बान्नी मष्टाको दर्शन गरेका छन् ।

झन्डै ३५ मिटर लामो लिङ्गोलाई समाएर झन्डै ३ सय मिटर हिँडाउने गरिन्छ । यसरी हिँडाएर ल्याएको लिङ्गोलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुन्डो बनाएर खेल्ने प्रचलन छ।

लिङ्गो हिँडाएको र भकुन्डो खेलेको हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौँ दर्शनार्थी बझाङको छविसपाथीभेरा गाउँपालिकाको बान्नी चौरमा पुग्ने गर्छन् । बझाङमा नयाँ वर्षको स्वागत गर्न विसुपर्व समेत मनाउने गरिन्छ । 

मेलाको अवसरमा १ लाख ६ सय २० रुपैयाँ पुरस्कार राशिकाे क्रिकेट प्रतियोगिता, १ लाख ३३ हजार ६ सय २० रुपैयाँ पुरस्कार राशिकाे नगर तथा पालिकास्तरीय पुरुषतर्फ भलिबल प्रतियोगिताको आयोजना गरिएको बान्नी चैतली मेला व्यवस्थापन समितिका सचिव सुरेश रोकायाले बताउनु भयाे । यस्तै, मेलामा देउडा प्रतियोगिता समेत रहेको उहाँले जानकारी दिनुभयो। 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया