सिंहदरबारमा फोहोर छ, सिंहदरबारमा फोहर छैन !

 बैशाख ५, २०८० मंगलबार ८:२:२१ | वैद्यनाथ पाैडेल
unn.prixa.net

तीन वटा रिक्सामा फोहर भरिभराउ छ । फोहरमै बसेर तीन जना मानिस फोहर केलाउँदैछन् । यो दृष्य भने सिंहदरबार परिसरको हो ।

मुख्य सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको दक्षिणपट्टि केन्द्रीय उद्यान छ । हरियो दुबोले सजाइएको अनि ढकमक्क फूल फुलेका उद्यानको बाटोपारि दक्षिणतर्फ रेडियो नेपालको आडमा फोहर थुपारिएकाे छ । अलि भित्र भएका कारण फोहर हतपती देखिँदैन । धाएरै कसैले फोहर हेर्न जान्छु भन्दा मात्र सिंहदरबारको फोहर देखिन्छ । त्यसैले सिंहदरबारमा फोहर छ अनि सिंहदरबारमा फोहर छैन पनि !

सिंहदरबारको फोहर उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका चौध/पन्ध्र जना कर्मचारी यहाँ सफाइका लागि कार्यरत छन् । त्यसमध्येका तीन जना यहाँ रहेको फोहरको थुप्रोमा बसेर प्लास्टिक, कागज, सिसा, पानीका बोतल, टिन ओल्टाइपल्टाइ गरिरहेका छन् । कुनै काम लाग्ने चिज देख्यो कि उनीहरु बेग्लाबेग्लै राखिएको बोरामा हाल्छन् । यसरी सिंहदरबारको फोहर व्यवस्थापन गरिँदैछ । 

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि सिंहदरबारको फोहर नउठेका दश दिन भयो । दैनिक पाँच टन फोहर थुप्रिने सिंहदरबारमा अहिलेसम्म झण्डै पचास टन फोहरको थुप्रो लागिसक्नु पर्ने हो । तर, त्यसको अनुपातमा त्यहाँ पाँच टन पनि फोहर छैन । यसको कारण भनेको पहिलो त बिक्ने तथा पुनः प्रयोग गर्न सकिने सुक्खा फोहर केलाएर बाहिर बिक्रीका लागि लैजानु ।

त्यस्तै अर्को भनेको सिंहदरबार परिसरमा हुने रुखबिरुवाबाट निस्कने पातपतिङ्गर तथा अन्य फोहर भने बगैँचाका मालीहरुले मल बनाउनका लागि प्रयोग गर्नु हो । 

छानेका फोहरहरु कबाड सेन्टरमा बिक्रीका लागि लैजाने र कतिपय फोहरहरु किन्न नमाने पनि व्यवस्थापनका लागि त्यसै भए पनि राखिदिन अनुरोध गर्दै आएका कारण सिंहदरबारमा त्यति फोहर नभएको बताउनुहुन्छ सिंहदरबार सफाइको जिम्मा पाएको परिवर्तन सेवा प्रालिका प्रमुख व्यवस्थापक मित्रप्रसाद घिमिरे ।

घिमिरे भन्नुहुन्छ, ‘दैनिक पाँच रिक्सा फोहर आउँछ । फोहर दैनिक हदैसम्म घटाउने गरेर हामीले व्यवस्थापन गर्ने कोसिस गरिरहेका छौँ । चार जना मान्छे त फोहर छान्न मात्र लगाएको छ ।’

परिवर्तन सेवा प्रालिको जिम्मेवारी सिंहदरबारको फोहर उठाउने हो । यसका लागि कम्पनीले सहरी विकास मन्त्रालयसँग सम्झौता गरेको छ । तर, फोहर उठाउने लाइसेन्स भने काठमाण्डौ महानगरले दिएको छ कम्पनीलाई । गएको शनिवार मेयर शाहले फोन गरेर सिंहदरबारको फोहर नउठाउन र उठाए लाइसेन्स तथा गाडीसमेत सिल गर्ने बताएपछि कम्पनीका प्रमुख व्यवस्थापक घिमिरेको तनाव बढेको छ ।

‘यो फोहर जाने भनेको बञ्चरे ल्याण्डफिल साइटमा हो । बञ्चरे ल्याण्डफिल साइटमा फोहर लग्यो भने गाडी सिल गर्दिन्छु भन्नुभएको छ मेयरसा'पले,’ उहाँको दुःख यतिमा मात्र सीमित छैन, ‘हाम्रो काम गर्ने लाइसेन्स भनेको काठमाण्डौ महानगरपालिकाले दिएको हो । त्यो लाइसेन्स पनि सिल गर्दिन्छु भन्नु भएको छ ।’

महानगरपालिकाले फोहर उठाए गाडी सिल गर्ने तथा लाइसेन्स नै खारेज गर्दिन्छु भनेपछि अहिले सिंहदरबारको फोहर उठाएर ल्याण्डफिल साइटमा लैजानेभन्दा पनि वर्गीकरण गरेर त्यसलाई घटाउनतिर लागिरहेको छ कम्पनी । जसले गर्दा महानगरको वचन पनि नतोडियोस् र सिंहदरबार पनि फोहर नदेखियोस् । त्यसकारण अहिले कम्पनीले सिंहदरबारमा थुप्रिएको फोहर छानेर त्यसलाई मसिनो गरी केलाएर कबाडीमा लगेर बेच्ने काम गर्दै आएको छ । यसका लागि कम्पनीले नकुहिने, सुक्खा र पुनः प्रयोग गर्न सकिने फोहर जस्तै: प्लास्टिक, कागज टिन आदिलाई चार जना सफाइ कर्मचारी खटाएर छान्ने काम गरिरहेको छ । 

परिवर्तन सेवा प्रालिले अहिले सिंहदरबारमा थुप्रिएको फोहर छानेर त्यसलाई मसिनो गरी केलाएर बिक्ने सामान कबाडीमा लगेर बेच्ने तथा सिंहदरबार नदेखियोस् भनेर कतिपय फोहरहरु लिन नमाने पनि त्यसै भए पनि राखिदिन अनुरोध गर्दै आएको बताउनुहुन्छ घिमिरे । उहाँ भन्नुहुन्छ, ‘यो एकदमै दुःख गरेर कोसिस गरिएको छ । नेपाल सरकार र काठमाण्डौ महानगरपालिकालाई पनि सहयोग गर्ने रणनीति अनुसार काम गरिँदैछ ।’

सिंहदरबारका क्यान्टिन तथा त्यहाँ रहेका कार्यालयहरुबाट दिनको झण्डै पाँच टन फोहर उत्पादन हुन्छ । कार्यालयबाट निस्कने फोहरभन्दा पनि क्यान्टिनबाट निस्कने फोहर भने समस्या हुने गरेको छ । क्यान्टिनबाट निस्केको फोहरका कारण अहिले फोहर राखिएको ठाउँ वरपर भने अलि अलि दुर्गन्ध फैलिएको छ । 

सार्वजनिक स्थानमा चुरोट तथा रक्सी खान नपाइने नियम छ । त्यसमाथि सिंहदरबार जस्तो देशकै प्रमुख प्रशासनिक निकायहरु रहेको ठाउँमा त्यसको कल्पना पनि गर्न सकिन्न । तर, अचम्मको कुरा त्यहाँ थुप्रिएको फोहरमा भने रक्सीका सिसी तथा चुरोटका ठुटा पनि छन् । फोहरको थुप्रो तिर देखाउँदै घिमिरे भन्नुहुन्छ, ‘यहाँ पाँच किलो त चुरोटका ठुटा मात्रै होलान ।’

घर तथा टोलमा दुई/तीन दिन महानगरले फोहर नउठाउँदा दुर्गन्धले बसिनसक्नु हुन्छ भने सिंहदरबार र बागदरबारको विवादकाबीच दश दिन फोहर नउठेको सिंहदरबारको अवस्था कस्तो होला भन्ने जिज्ञासा सिंहदरबार छिर्ने आम नागरिकमा पनि देखिन्छ ।

राष्ट्रिय परिचय पत्र बनाउनका लागि खोटाङको खोटेहाङबाट आउनु भएका परशुराम राईको जिज्ञासा थियो, ‘यहाँको फोहर नउठेको एक हप्ता बढी भयो भन्छन् । फोहर पनि देखिँदैन । खासै गन्हाएको पनि छैन । कहाँ थुपार्छन हो फोहर चाहिँ ।’

बाटोभन्दा अलि पर भित्र फोहर फालेको चाल पाएपछि राई भन्नुहुन्छ, ‘यस्तो संवेदनशील ठाउँमा त यस्तो राजनीति छ । देशको अवस्था यसैबाट पनि थाहा हुन्छ ।’ 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया