महाकालीपारिकाे दोधारा चाँदनीको दुःख

 बैशाख २६, २०८० मंगलबार १३:१४:१७ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

दाेधारा–चाँदनी पुल

कञ्चनपुर – बर्सेनि बाढी र डुबानको चपेटामा पर्दै आएको कञ्चनपुरको दोधारा चाँदनीमा 'सेफ हाउस' बन्ने भएको छ । कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकाका धेरैजसाे बस्ती प्रत्येक वर्ष बाढीले प्रभावित हुने गरेका छन् । विशेषगरी महाकाली नदी र जोगबुढा नदीमा आउने बाढीका कारण नगरपालिकाकाे वडा नम्बर २, ३, ४, १० बर्सेनि डुबानमा पर्ने गर्छन् । महाकाली नदीमा बाढी आएका बेला जोगबुढा नदी थुनिएर वडा नम्बर १० कुतियाकबर डुबानमा पर्ने गर्छ । बाढी र डुबानको समयमा कुतियाकबरको बस्तीको नेपालसँग सम्पर्कविच्छेद हुन्छ ।

नगरपालिकाका मेयर किशोरकुमार लिम्बूले विभिन्न सङ्घ–संस्थाको सहयोगमा 'सेफ हाउस' बनाउन लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो जाेखिम क्षेत्रमा पर्छ । तत्काल उद्धार गर्न आउन पनि नसकिने स्थिति हुन्छ । नगरपालिका, निड्स नेपाल , मर्सी कोर ज्यूरीच बाढी उत्थानशीलता सञ्जाल र स्थानीयको संयुक्त लगानीमा ३६ लाख रुपैयाँमा अग्लो सेफ हाउस बनाउन लागेका छाैँ । महाकाली र जोगबुढा नदीको तटबन्धका लागि स्थानीय बजेटले पुग्दैन । ’

दोधारा चादँनी नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारतीय सीमा रहेको छ भने पूर्वमा भीमदत्त नगरपालिका र शुक्लाफाँट वन्यजन्तु आरक्ष छ । कुतियाकबर महाकाली र जोगबुढा नदीको दोभानमा छ । भारतले शारदा नहरको पानी जोगबुढा नदीमा छोड्दा मनसुनमा मात्रै नभई हिउँदमा पनि कुतियाकबर डुबानमा पर्ने गर्छ । कुतियाकबरको पश्चिम, दक्षिणमा भारतकाे उत्तर प्रदेशको बङ्गाली बस्ती छ । बस्तीका धेरैजसाे घरको आँगन सीमासँग जोडिएको छ । सीमा क्षेत्रमा बेलाबेलामा समस्या आउँदा विवाद हुने गर्छ । त्यसको प्रत्यक्ष मारमा पनि कुतियाकबरका बासिन्दा नै पर्ने गरेका छन् । हिउँदमा गहुँका बाला लहलह भएको भूभाग वर्षाकाे समयमा जलमग्न हुन्छ । अनि स्थानीयलाई ज्यान जोगाउन हम्मेहम्मे पर्छ । जोगबुढा नदीमा झोलुङ्गे पुल भए पनि झन्डै डेढ किलोमिटर टाढा वडा नम्बर ९ मा रहेकाे श्री अम्बिका माध्यमिक विद्यालय जाने बाटो जलमग्न हुने भएकाले स्थानीय ज्यान जोगाउन भारतीय सिमाको बङ्गाली बस्ती छिर्ने गर्छन् । कुतियाकबरका बासिन्दासँग विलासी जीवन बाँच्ने लालसा छैन । एउटै सपना छ, आफ्नो र समुदायको ज्यान जोगाउने ।

स्थानीय ४५ वर्षीय टेकबहादुर सुनारको पक्की घर बनाउने, सुख सयल गर्नेजस्ता महत्त्वाकाङ्क्षी सपना छैनन् । बाढीको बेला आफ्नो र समुदायको ज्यान जोगाउने एउटै सपना छ उहाँसँग । पछिल्ला केही वर्षदेखि बाढीको पूर्वसूचना उहाँको मोबाइलमा नै आउन थालेको छ तर सुरक्षित ठाउँमा जाने बाटो नै जलमग्न हुने भएकाले डुङ्गालगायतका आपत्कालीन उद्धार सामग्रीको आवश्यक पर्छ । नदीले कटान गर्दै गर्दा भारतीय सिमाको दशगजामा पुगेको उहाँ सम्झनुहुन्छ । ‘आधा जमिन खोलाले फालिसक्यो । हामीहरू जाने कता ? अहिले हामी दशगजाभित्रै बसेका छौँ । केराको बुङ्गाे काटेर काठले बाँधेर पनि हामी आफूलाई बचाउने गर्थ्याैँ । अहिले त डुङ्गा पनि बनाएका छौँ तर सबैलाई पुग्ने छैन’, उहाँले गुनासाे गर्नुभयाे ।

विभिन्न सङ्घ–संस्थाको चेतनामूलक कार्यक्रममार्फत टेकबहादुरले विपदमा आफू र समुदायलाई बचाउने ज्ञान प्राप्त गर्नुभयाे । अनि आफैँ जुट्नुभयाे 'सेफ हाउस' (उँचो घर) बनाउने काममा । उहाँले आफू बाँच्ने र समुदायलाई बचाउने सपना पूरा गर्न भोगचलन गर्दै आएको डेढ कट्ठा जमिन 'सेफ हाउस' बनाउन उपलब्ध गराउनुभयाे । उहाँ भन्नुहुन्छ, ‘पानीको सतह बढिरहेको छ तपाईँहरू सुरक्षित ठाउँमा जानुहोस् भन्ने म्यासेज आउनुभन्दा अगाडि नै हामी असुरक्षित भइसकेका हुन्छौँ । जथाभाबी हिँड्दा डुबिन्छ कि भन्ने डर पनि हुन्छ । त्यसैले हामी घरको माथि सारी, धोती वा कम्बलको झोलुङ्गा बनाएर बच्चा र महत्त्वपूर्ण कागजात राख्ने गर्छाैँ । बाढी आएपछि आफू बच्ने, समुदाय जतासुकै जाऊन् भन्ने हुन्थ्यो । अहिले भने अरूलाई पनि बचाउने किसिमको ज्ञान सङ्घ–संस्थाले सिकाए । त्यसपछि सेल्टर हाउसको ज्ञान हामीलाई आयो । अनि बाँच्ने सपना पूरा गर्नका लागि आफैँले जमिन दिएँ । छ/सात वर्ष अघिदेखि हामीले उँचो घरको सपना देखेका थियौँ । अब सपना साकार होलाजस्तो लागेको छ ।’

'सेफ हाउस' बन्ने भएपछि टेकबहादुरलाई मात्रै नभई कुतियाकबरका सबैलाई खुसी लागेको छ । स्थानीय मायादेवी सुनार बाढी आएको बेला धोतीको झोलुङ्गे बनाएर ज्यान जोगाएको सम्झिनुहुन्छ ।दैनिक खाद्यान्न, औषधोमुलो, रोजगारी अनि विपद्को बेला पनि भारतीय सीमापारिकै शरणमा जानुपर्दा उहाँ पनि खुसी हुनुहुन्न । परिवारका सदस्य सबैलाई रोजगारीका लागि भारत पठाउनुभएकी मायादेवी 'सेफ हाउस' बन्ने भएपछि ज्यान जोगिने भयो भनेर खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बाढीले खेत बगाएर लगेपछि के खाने ? खानका लागि पनि उनीहरूलाई काममा पठाउँछु, म घर कुरेर बस्छु । बाढी आउँदा बस्ने अग्ला अग्ला घर भइदिएको भए ज्यान जोगाउने थियौँ । घर छोडेर जाने हो भने बोर्डर नजिकै छ । सबै लगिदिन्छन् । कसरी जाने ? कि जमिन किनेर जानुपर्‍याे । हामी त विना हतियारका सीमा सुरक्षाकर्मीको रूपमा बसेका छौँ ।’

स्थानीय श्यामलाल सुनार बाढीले वर्षभरिका लागि खाने धानखेती बगाउनुका साथै घरभित्रको अन्नअनाजमा पनि क्षति पुर्‍याउँदा हातमुख जोर्न नै कठिन हुने गरेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयाे, ‘बाढीले हामीलाई हर साल लपेटेको लपेटेई छ । यता उता कतैबाट कमाएर ल्यायो, खेतीबारीमा लगायो, बाढी आएर स्वाट् लगिगयो । उस्ताको उस्तै । उठ्नै पनि पाइएको छैन । यहाँ गतिलो घर बनाएर बस्न कसैले पाएको छैन । ’

२०२२ सालदेखि याे ठाउँमा बस्दै आउनुभएका नरबहादुर सुनारसँग अहिले आफ्नो भन्ने जमिन छैन । स्थानीय वसन्ती बुढा सरकारसँग पनि बाढी आएको बेला भागाभाग गरेर ज्यान जोगाउनुपरेको नमिठो सम्झना छ । वसन्तीलाई दशगजामा सीमा संरक्षकको रूपमा रहेकोमा गर्व त लाग्छ तर त्यहाँको समस्या सम्झेर आँखा भरिन्छन् । उहाँ भन्नुहुन्छ, ‘जमिन छैन । सरकारले केही गर्नै सकेको छैन, राम्रो ठाउँमा लगेर राखिदिए हुन्थ्यो । इन्डियाकाे बार भएर बस्नुपरेको छ । सुरक्षाकर्मी त हामी भयौँ । हामी नभएको भए इन्डियाले के गर्थ्याे । अरू जग्गामा हेर्नु न कस्तो छ । ’

अहिले गहुँका बाला लहलह भएको भूभाग वर्षाकाे समयमा जलमग्न हुन्छ । बस्तीभित्रै पानी पस्छ । बाढीले बगाएर ल्याएका काठका मुढा नै घरभित्र पसेपछि सुरक्षाकर्मी लगाएरै घर सफा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । नगरपालिकाकाले विपद् व्यवस्थापन प्रयाेजनका लागि मात्रै पछिल्लो तीन आर्थिक वर्षमा ४६ लाख २६ हजार नाै सय ८१ रुपैयाँ खर्च गरेको छ । कटान रोकथामका लागि प्रदेश पूर्वाधार र समपूरक तथा नगरपालिकाको वार्षिक बजेटसमेत गरी दुई करोड २८ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । वन्यजन्तु पीडित, वन्यजन्तु नियन्त्रण, आगलागीलगायत आकस्मिक विपद्को राहतमा ४० लाख रुपैयाँ खर्च भएको छ । महाकाली नदीमा महाकाली सिँचाइ र जोगबुढा नदीमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट तटबन्ध निर्माणको काम भइरहेको छ ।

विभिन्न सङ्घ–संस्थाको सहयोग तथा पालिका र सामुदायिक विपद् व्यवस्थापन इकाइकाे सक्रियतामा कुतियाकबरमा निर्माण गर्न लागिएको सुरक्षित आवास गृहले मानवीय क्षति त रोक्ला तर हरेक वर्ष बाढीका कारण हुने भौतिक सम्पत्तिकाे हानी–नोक्सानीकाे भरपाई हुन सक्दैन । त्यसैले सरकारले कुतियाकबरजस्ता कैयाैँ जोखिमयुक्त बस्तीमा पुगेको भौतिक सम्पत्तिकाे हानी–नोक्सानीको मूल्याङ्कन गरी अन्तर्राष्ट्रिय वित्त कोषसमक्ष क्षतिपूर्तिको दाबी गर्नु जरुरी देखिन्छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया