३ नेपालीसहित ६ जना सगरमाथाकाे चुचुरोमा, २६औँ पटक सगरमाथा चढेका पासाङदावाको कीर्तिमान

 बैशाख ३१, २०८० आइतबार १०:५१:२७ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - ३ नेपालीसहित ६ जनाले सगरमाथाकाे आरोहण गरेका छन् ।

आज बिहान पौने ९ बजे ३ नेपाली र ३ विदेशी गरी ६ जना आरोहीले सगरमाथाको आरोहण गरेका हुन् । पहिलो आरोहणबाट नेपाली आरोही पासाङदावाले २६औँ पटक सगरमाथा चढेर कीर्तिमान राख्नु भएको छ।

खुम्बु पासाङल्हामु  गाउँपालिका वडा नम्बर ४ पाङबोचेका पासाङदावा शेर्पाले २६औँ पटक सगरमाथाको शिखर चुम्नु भएको हो ।

त्यस्तै आज सफल आरोहण गर्नेमा खुम्बु पासाङल्हामु ५ थामेका पासाङतेम्बा शेर्पा र त्यही गाउँका आङङिमा शेर्पा रहेका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो।

यस्तै, पहिलो आरोहणबाटै पाकिस्तानका नागरिक माइली तानी, अमेरिकाकी जेसिका र हङ्गेरीका मटन टि सेर्सले पनि सगरमाथाको आरोहण गरेका छन् ।  यो वसन्त ऋतुको पहिलो सफल आरोहण हो  ।

वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण हिजोदेखि सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।

अहिले आधार शिविरभन्दा माथि सयाैँकाे सङ्ख्यामा आरोहीहरु चुचुरोतर्फ लागेका छन् । आरोहणको ७० वर्षे इतिहासमा पहिलो पटक सगरमाथामा धेरै आरोहीले आरोहण अनुमति लिएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया