रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्च अदालतद्वारा सदर

 जेठ २, २०८० मंगलबार १७:४२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सर्वोच्च अदालतले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका प्रतिवादी रेशमलाल चौधरीलाई सफाइ दिन अस्वीकार गरेको छ ।

आज मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । अदालतले टीकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । यस्तै लक्ष्मण थारुको पाँच वर्षको कैद सजाय घटाएर तीन वर्ष कायम गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

२०७२ साल भदौमा भएको टीकापुर घटनामा मुख्य योजनाकार भएको अभियोगमा जिल्ला अदालत कैलाली एवम् उच्च अदालत दिपायलबाट रेशम चौधरीसहित ११ जना दोषी ठहर भएका थिए । चौधरी यसअघिको प्रतिनिधि सभामा कैलाली क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित भएका थिए । चौधरीले सांसदको शपथ ग्रहण गरेको केही दिनपछि सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न तल्लो अदालतले दिएको आदेशलाई सदर गरिदिएको थियो ।

थरुहट आन्दोलन चर्किँदा कैलालीमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गर्दा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । चौधरीले भने आफू निर्दोष रहेको र अदालतबाट न्यायको पर्खाइमा रहेको बताउँदै आएका थिए । चौधरीले जेलबाटै गठन गरेको नागरिक उन्मुक्ति पार्टीले गएको मङ्सिरमा भएको प्रतिनिधि सभा चुनावमा चार सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अहिलेको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री हुनुहुन्छ । उहाँले चौधरीसहित टीकापुर हत्या प्रकरणमा जेल परेकाहरूलाई छुटाउन दबाब दिँदै आउनुभएको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया