आगोको भुङ्ग्रोमाथिको अनौठो नाच

 जेठ ३, २०८० बुधबार १९:३२:२८ | रासस
unn.prixa.net

भक्तपुर – मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो । मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरूसमेत आगोको भुङ्ग्रोमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए ।

साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको परबाह नगरि वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो । चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलको बस्नेत–गिरी बस्तीका पहलमान बस्नेतको घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको एक सय आठ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किँदै थियो । केही व्यक्तिहरू बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए । राति ९ बजेदेखि तीन वटा रुखबाट काटिएको दाउरा दनदनी बल्दै थियो ।  

दुई घन्टाभन्दा बढी समय बलेको दाउरा सबै आगोका भुङ्ग्रोमा परिणत भयो । मध्यराति झन्डै ११ बजे यो बस्तीसँगै वरिपरिबाट भेला भएका मानिस बारीको डिल र वरिपरि बसेर निकै कौतुहलताका साथ अग्निकुण्डतर्फ हेर्दै अब के हुन्छ, आगोको सबै भुङ्ग्रोमाथि उफ्रेर सबै आगोको गोल निभाउँछन् कि निभाउँदैनन् भनेर हेर्दै थिए । 

आगोको भुङ्ग्रो नजिकै गुरु रुदबहादुर खड्काले तान्त्रिक विधिअनुसार पूजा गरेपछि कुल देवताका नाममा बोकाको बलि दिइयो । त्यसपछि पहलमानको मूल घरमा भित्रिएका सेतो गन्जी र धोती लगाएका पुरुषहरूले पूजा गरेर बत्ती खाएसँगै शरीर कमाउँदै स्नान गरेर फर्किएसँगै काम्दै उफ्रँदै थुपारिएको आगोको भुङ्ग्रोमाथि तीन पटक घुमेपछि गुरुको आदेश पाउने बित्तिकै आगोमाथि दौडिन थाले ।

केहीबेरमा मूलको घरको पूजाकोठाभित्र गुरुदेखि विभिन्न देवदेवी र वायु शरीरमा चढेका केही मानिस काम्दै घरबाट निस्किए र आगोको भुङ्ग्रोतर्फ लम्किए । अगाडि बाजा घन्किरहेको थियो । वरिपरि बढेको भिड आगोमाथिको नाच हेर्न लालायित थिए । त्यसपछि देवदेवी एवम् वायु चढेका सेता गन्जी, धोती लगाएका, माला लगाएका व्यक्तिहरू काम्दै उफ्रँदै दाउराको आगोको भुङ्ग्रो अगाडि पुगे । कोही देवदेवीको जयजयकार गर्दै थिए ।

हातमा थाल बजाउँदै उफ्रिरहेका र अर्का मूल गुरु रुद्रबहादुर खड्का एकै छिनमा आगोको भर्भराउँदो भुङ्ग्रोमा लात्तीले हानेर उफ्रिन थाले । त्यसलगत्तै एकपछि अर्को आगोमा होमिए र त्यसैगरी लात्तीले हाने । गुरुको आदेशपछि नयाँ तथा पुराना डाङ्ग्रेहरू टाउको निहुराउँदै मुखबाट ‘भुर्भुर्भुर्भुर्भुर’ आवाज निकाल्दै जोस्सिँदै एकमाथि अर्को आगोमा होमिन थाले । उनीहरू आगोको भुङ्ग्रोमा लात्तीले हान्दै आगोलाई यताउति छर्दै त्यहीँ माथि उफ्रँदै नाच्न थाले । मानौँ त्यो एउटा खेलकुद मैदान हो, आगोका तीन भङ्ग्रो फुटबल हो र उनीहरू त्यही, त्यहीँ फुटबल खेलिरहेका छन् ।

नाङ्गो पैतालाले आगोमाथि मानिस नाचेको र उफ्रिएको देखेर कतिका आँखा आश्चर्यले चम्किला भए । भुङ्ग्रोमाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो । काम्दै र मन्त्र फलाक्दै डाङ्ग्रे भर्भराउँदोे भुङ्ग्रोमा नाचिरहे । आगोमा नाचेको डिलमा बसेर हेरिरहेकाहरू चकित मात्रै परेनन्, आफ्ना छोरा र श्रीमान् आगोमा नाच्दा आमा र श्रीमतीहरूको मन भने कटक्क खायो । शरीरमा कुलको मूल देवता अर्थात् खप्परमास्टर शरीरमा धारण गरेका ४० वर्षीय राजकुमार बस्नेत, कुलका मामा भान्जी शरीरमा धारण गरेका २४ वर्षीय सौरभ बस्नेत, वायु धारण गरेका ४० वर्षीय सुवास बस्नेत, दिनेश बस्नेत, सुमन बस्नेत आगोमा उफ्रिन थाले । 

नजिकै डिलमा उभिएकी एक किशोरी भन्दै थिइन्, ‘ओहो, आगोको भुङ्ग्रोमा उफ्रिँदा हाम्रो ड्याडीलाई पोलेन होला त ? जिउ पनि दुख्यो होला है ।’ हेर्नेमध्ये धेरैले जिज्ञासा राखे, यसरी भुङ्ग्रोमाथि नाच्नेको पैतालाको हालत के भयो होला ? तर खली खुवाउने कार्य सम्पन्न भएपछि भुङ्ग्रोमा नाच्नेको पैतालामा आगोले पोलेको कुनै सङ्केत नदेखिँदा हेर्नेहरू चकित परे । 

आगोमा नाचेपछि शरीरमा देवदेवी र वायुको कम्पन आइरहेका सबैलाई गुरुले आगामा नाच्दा सुरक्षित भए नभएको एवम् काँचो वायु तथा कुलदेवदेवीले पूर्णता पाए÷नपाएको जिज्ञासा राख्दै पालैपालो सबैलाई सोधे । पूर्णता पाएको र डाङ्ग्रेको शरीर सुरक्षित रहेको बताएपछि भने फेरि जयजयकार गर्दै खुसीको धुनसहितको बाजा बजाउँदै सबै काम्दै सुरुमा निस्किएकै घरमा पसे, बलिरहेको बत्ती मुखमा हाल्दै शरीर कम्पन छाड्दै पुरानै अवस्थामा फर्किए र बाहिर निस्किए ।

आफ्नो कुलदेवतालाई उचित स्थान दिने र अकालमा ज्यान गुमाएर भड्किएको मृतात्माको मुक्तिका लागि सदियौँदेखि चल्दै आएको तान्त्रिक विधिअनुसार गरिने खली प्रथालाई बस्नेत परिवारले चौथोपटक पूर्णता दिएका थिए । मूल गुरु खड्काले भन्नुभयो, ‘खली प्रथालाई चमत्कार वा अन्धविश्वास भन्न हुँदैन, यो शृष्टिको उत्पत्ति कालदेखि नै चल्दै आएको परम्परा मानिन्छ । गुरुहरूले प्राचीन तान्त्रिक प्रक्रियामार्फत प्रेतात्माको मुक्तिका लागि खली प्रथा चल्दै आएको हो । मैले नै यहीँ कुलमा योसमेत तीन पटक वायु उतार्ने र खली खुवाउने कार्य गरेको छ । २० वर्षअघि पनि यो कुलमा खली खुवाइएको थियो ।’

उहाँका अनुसार अकालमा मृत्यु भएकाको उद्धार नगरि पिशाचको रूपमा रहँदा त्यो कुल वंशभित्रका परिवारलाई दुःख कष्ट दिने, घरमा बिरामी नछुट्ने, अकल्पनीय दुर्घटनाहरू हुने, पशु चौपायाहरू बिरामी नै नभई अचानक मर्नेलगायतका घटना हुन्छन्, अकालमा मृत्यु भएकाको वायु उतारेर त्यही कुलवंशका व्यक्तिको शरीरमा धारण गरेपछि वायुदेवका रूपमा स्थान पाउने भड्किएको आत्माले मुक्ति पाउने विश्वास रहेको छ । अकालमा मृत्यु भएकाहरू सबै वायुदेवका रूपमा कुलदेवतासँगै राखेर पूजा गर्ने भएपछि कुलवंशमा राम्रो भएर आउने पूर्ण विश्वास रहेको मूल गुरु खड्का बताउनुहुन्छ । तान्त्रिक विधि र कुल देवताको शक्तिले आगोको भुङ्ग्रोमा उफ्रिँदा पनि डाङ्ग्रको खुट्टाको रौँसमेत नजल्ने उहाँ बताउनुहुन्छ ।

यहाँका बस्नेत कुलमा अकालमा ज्यान गुमाएकाहरूको आत्मा मुक्तिको कर्मका लागि खली खुवाउन तीन हप्ताको तान्त्रिक विधिअनुसार सबै प्रक्रिया पूरा गरेर खली खुवाउने कार्य सम्पन्न गरिएको हो । तीन हप्तादेखि हरेक दिन राति खाना खाएपछि कुलका सबै पुरुष शुद्ध भई जम्मा भएर प्रत्येक रात गुरुमार्फत वायु उतार्ने काम सम्पन्न गरेपछि खली खुवाएर त्यसलाई पूर्णता दिइएको नवीन बस्नेत बताउनुहुन्छ । 

शरीरमा कुलको मूलदेवता अर्थात् खप्परमास्टर शरीरमा धारण गरेका ४० वर्षीय राजकुमार बस्नेत, भान्जाभान्जी चेतबराह र मण्डली धारण गरेका २४ वर्षीय सौरभ बस्नेत, वायु धारण गरेका ४० वर्षीय सुवास बस्नेत आगोको भुङ्ग्रोमा उफ्रिएका थिए । पुरोना धामी दिनेश बस्नेतको आङ अर्थात् शरीरमा धारण गरेको खप्परमास्टर राजकुमारको शरीरमा र पुरानो धामी सुमन बस्नेतको शरीरमा रहेको भान्जाभान्जी चेतबराह र मण्डली सौरभको आङ अर्थात् शरीरमा हस्तान्तरणसमेत गरिएको नवीन बस्नेतले बताउनुभयो । 

आफ्नो कुलमा अकालमा ज्यान गुमाएर मोक्ष नपाएका पितृको उद्धारका लागि गरिने प्राचीन र तान्त्रिक विधिलाई खली खाने प्रथा भन्ने गरिएको गुरु खड्का बताउनुहुन्छ । सुरुमा गुरुमार्फत कुलका सबै जम्मा भएर एक भाइका घरमा वायु उतार्ने गरिन्छ ।

अन्तिम अपडेट: जेठ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया