एक दशकपछि कवितासंग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’माथि परिचर्चा

 जेठ ७, २०८० आइतबार १०:२४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कवि राजेश ढुंगानाको कवितासंग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रा.डा. सावित्री मल्ल कक्षपतिले २०७० सालमा प्रकाशित कृतिको परिचर्चा अहिले किन ? भन्ने प्रश्न उत्पन्न भए पनि दोस्रो संस्करणको रुपमा यो कृति आएको र समय सान्दर्भिक भएकाले चर्चा गर्नु उपयुक्त हुने उहाँको टिप्पणी थियो ।

समालोचक प्रमोद प्रधानले कवि ढुंगानालाई ३६ साल, ४६ साल र त्यसपछिको राजनीतिक परिवर्तनले कवि बनाएको उल्लेख गर्नुभयो।

ढुंगानाका धेरैजसाे कविता  राजनीतिक विचारलाई कलात्मक आवरणमा प्रस्तुत भएका छन्,’ उहाँले भन्नुभयो ।

प्रा.डा. कुमार कोइरालाले कविता बाहिरबाट भित्र हेरेर र भित्रबाट बाहिर हेरेर लेखिने बताउँदै ढुंगानाका कविता दुवै खाले रहेको उल्लेख गर्नुभयो ।

राजनीतिक विषयका धेरैजसो कविताले विभिन्न घटनाक्रमको व्याख्या गरेको पनि उहाँले बताउनुभयो । नेपालीको वीरताको कथा, आशा र उन्नतिको कुरा पनि कवितामा समेटिएको उहाँले टिप्पणी गर्नुभयो । 

नाटककार अशेष मल्लले नेपाली साहित्यले राजेश ढुंगानालाई बिर्सिएको उल्लेख गर्नुभयो । बीस वर्ष काठमाडौँ छाड्दा उहाँ नेपाली साहित्यबाट टाढा पुगेको  बताउनुभयो ।

राजेशमा कवि व्यक्तित्व र राजनीतिक व्यक्तित्व रहेको उल्लेख गर्दै २०४६ सालको जनआन्दोलनमा साहित्यकारको रुपमा सक्रिय भूमिका निर्वाह गरेको उहाँले स्मरण गराउनुभयो । 

कार्यक्रममा कवि राजेश ढुंगानाले पाँचवटा कविता वाचन गरेर सुनाउनुभएको थियो । कवि पत्नी मीरा ढुंगानाले कृतिकै रुपमा प्रकाशित नभए पनि धेरै कविता लेखिएको र चाँडै नयाँ कृति आउने पनि जानकारी दिनुभयो । 

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले यति सशक्त कवि यति लामो समयसम्म हराउँदा उहाँलाई मात्र नभएर नेपाली साहित्यलाई नै घाटा भएको टिप्पणी गर्नुभयो ।

परिचर्चा कार्यक्रम समाजका महासचिव  देविका तिम्सिनाले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमका सहभागीहरुलाई रञ्जना निरौलाले स्वागत गर्नुभएको थियो।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया