‘५ रुपैयाँमा बन्दागोभी बेच्न मनले मानेन’

 जेठ ७, २०८० आइतबार २०:४९:५४ | रासस
unn.prixa.net

घोराही–६ गुरुवागाउँकाे बारीमा सुकेको बन्दागोभी । तस्बिर : रासस

दाङ – दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक बिघा जमिनमा लगाउनुभएको बन्दागोभी बिक्री नहुँदा मारमा पर्नुभएको छ । तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आउनुभएका उहाँको तयारी अवस्थामा रहेको बन्दागोभी अहिलेसम्म बिक्री हुन सकेको छैन । 

चौधरीले घोराही–६ गुरुवागाउँमा लगाएको सबै बन्दागोभी अहिले बारीमै सुक्न थालेको छ । एक बिघा जमिनमा रोपेको नेपाल ग्रिण ७७७ जातको बन्दागोभी तयार भए पनि बेच्न समस्या भएको छ । बजारमा सस्तोमा पाउन थालेपछि बन्दागोभी बिक्री गर्न समस्या भएको उहाँको भनाइ छ ।

‘घरखर्च धान्न सकिएला कि भनेर एक बिघामा बन्दागोभी लगाएको थिएँ, बिक्री गर्न नसक्दा सुक्न थालेको छ’, चौधरीले भन्नुभयो ‘किन्न कोही पनि आएका छैनन् ।’ प्रतिकिलो पाँच रुपैयाँका दरले बन्दागोभी किन्न आउँदा बिक्री नगरेको उहाँको भनाइ छ ।

चौधरीले ७० हजार रुपैयाँ खर्च गरेर एक बिघा जमिनमा बन्दागोभी लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिक्री गर्न बजारमा लैजाँदा पनि कोही किन्न तयार भएनन्, थोरै मूल्यमा बिक्री गर्न मनले मानेन, त्यसपछि बिक्री गर्न बजार लैजान छोडेको छु ।’ प्रतिकिलो पाँच रुपैयाँमा बन्दागोभी बेच्दा आफ्नो लगानी नै नउठ्ने उहाँको भनाइ छ । 

अहिले पाउँदै गरेको मूल्यले बन्दागोभीको बिउ उमार्नदेखि खानका लागि तयार पार्दासम्म भएको खर्च उठ्ने अवस्था नभएको चौधरी बताउनुहुन्छ । ‘व्यापारीसित समन्वय गर्दा बन्दागोभीको बजार छैन भन्ने खबर पाएँ’, उहाँले भन्नुभयो । यस वर्ष जिल्लामा प्रशस्त उत्पादनसँगै बाहिरबाट धेरै मात्रामा बन्दागोभी आउँदा आफ्नो उत्पादन बिक्री गर्न धौ–धौ भएको उहाँले बताउनुभयो । 

विगत १० वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका चौधरीले बन्दागोभी खेतीबाट अघिल्ला वर्षमा मनग्य आम्दानी लिनुभएको थियो । ‘बन्दागोभी नबिक्ने समस्या यसअघि कहिल्यै आएन’, उहाँले भन्नुभयो । तरकारी बिक्रीको व्यवस्था मिलाउन जिल्लाका अन्य व्यवसायीलाई अनुरोध गरे पनि सबै ठाउँमा यस्तै समस्या रहेको र बजारमा माग नभएको जवाफ पाएको चौधरी बताउनुहुन्छ । ‘अब बन्दागोभी बिक्री हुँदैन, बारीमै सुकेर जान्छ’, उहाँले भन्नुभयो । जिल्लामा सस्तोमा बाहिरबाट तरकारी भित्रिँदा स्थानीय किसान समस्यामा परेका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • विजय थापा

    May 25, 2023, 6:39 p.m.

    चौधरी ज्यु यदि मलाइ यो नमबत मा कल गर्नुस तपाइको बन्दा गोपि सडाएर फाल्नु भन्दा केही भेचेर भए पनि आम्दानी हुन्छ भने यो नम्बर मा मेसेज वा वाडसपमा म्यासेज गर्नु होला।

  •  0 Reply
  • Gopal

    May 22, 2023, 2:29 p.m.

    You sab varath bata besaade haliko sagsanje aahunali you hat vako ho nepal ka kisan vai harolai

  •  0 Reply

तपाईको प्रतिक्रिया