‘गणतन्त्र आउन त आयो, सिंहदरबारमा मात्रै आयो’

 जेठ १५, २०८० सोमबार १२:२६:१४ | वैद्यनाथ पाैडेल
unn.prixa.net

फाइल फाेटाे

आज गणतन्त्र दिवस । देशमा गणतन्त्र आएको पनि १५ वर्ष पूरा भएको छ । यसबीचमा महत्वपूर्ण उपलब्धि पनि भएका छन् । तर नागरिकमा निराशा भने उस्तै छ । केही नागरिकको प्रतिक्रिया :

नागरिकले सास्ती मात्र पाए 

रामकृष्ण लुंगेली 
ट्याक्सी चालक

गणतन्त्र आउन त आयो तर, सिंहदरबारमा मात्र आयो । गणतन्त्रमा त नागरिकले काम पाउनुपर्ने, गरिखान पाउनु पर्ने हो । तर, हाम्रोमा त भएको रोजगारी पनि छिन्लान जस्तो छ । हाम्रो बीस वर्षे गाडी हटाउने कुरो छ । गाडी हटेपछि हामीले के गरिखाने ? उसै त रोजगारी छैन । अनि भएको रोजगारी पनि छिनेपछि यो गणतन्त्रले हामीलाई के दियो त ?

अब यहाँ काम नभएर सबै मान्छे विदेश गइरहेका छन् । यहीँ काम गरेर हामी जस्तालाई त भएको काम पनि हटाउने काम भयो । कमसेकम अहिले भइरहेको बीस वर्षे गाडीलाई पनि राम्रो कण्डिसनमा राख, राम्रोसँग चलाउ पो भन्नुपर्छ त । झन बीस वर्षे गाडी हटाउने भनेर भएको रोजगारी पनि हर्ने काम भएपछि यो गणतन्त्र हामीलाई के काम भयो ।

गणतन्त्र आएपछिको यो १५ वर्षमा पनि खासै फरक पाइएन । पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ । नेताहरुले जे जे गर्छु भन्नु भएको थियो त्यो केही पनि भएन । सुरक्षा पनि भएन । दिउँसै मान्छे लुट्ने काम भएको छ । रोजगारी दिन्छु भनेको पनि दिन सकेको छैन । 

गरिबलाई केही सुविधा हुनुपर्यो

गणेश विक
रिक्सा चालक

गणतन्त्र आइसकेपछि हामी जस्ता मजदुरको लागि रोजगारीलगायत केही व्यवस्था हुनुपर्थ्याे । तर, केही भएन । नेताहरु आफैँ कुर्सीको लागि लड्दै ठीक छ । २०६० सालदेखि रिक्सा चलाउन थालेको अहिले २० वर्ष भयो । गणतन्त्रको आन्दोलनमा हामी पनि लागेको हो । तर, हाम्रा लागि भने केही भएन ।

यही रिक्सा चलाएर खान पनि दिइँदैन हामीलाई । खोइ त हामीलाई सरकारले हेरेको ?  रिक्सा नचलाए खाने अर्को उपाए छैन । रिक्सा चलायो नगरपालिकाले लखेटेर हैरान पार्छ । रोक्ने ठाउँ छैन । बेलुका रोकेर राखेको ठाउँबाटै रिक्सा हराउँछ । सुरक्षा छैन । पहिले रिक्सा दर्ता पनि गरियो । तर, अहिले भने चलाउन नपाउने भन्छन् ।

नेपालमा अरु कलकारखाना छैन केही काम गर्नलाई अनि बालबच्चा पाल्नलाई । एउटा भएको रिक्साको काम पनि राम्रोसँग गर्न नपाएपछि हामीले के गरेर खाने । अनि यो गणतन्त्रले हामीलाई के दियो त ? हामी त झन आन्दोलनमा नै लागेको मान्छे ।

हामी त केही पनि नभएको सुकुम्बासी हो । हामी जस्तालाई यसो बस्ने बासको व्यवस्था पनि गरिदिनुपर्यो । भएको एउटा बास पनि उठाउला जस्तो छ । गणतन्त्र आएपछि त हामी जस्ता गरिबलाई त यस्ता कुरामा हेर्नुपर्थ्याे । अब बिरामी भइयो भने के गर्ने । उपचार गर्न पैसा छैन । हामीलाई निःशुल्क उपचार हुनुपर्यो नि त गणतन्त्रमा ।

अहिले पनि भेदभाव छ

 

प्रिती रौनियार 
फुटपाथ व्यापारी

हामी गरिब मान्छेलाई गणतन्त्र आएर पनि केही भएको छैन । कहिले पसल राख्न दिन्छ कहिले दिँदैन । खोइ गणतन्त्र आएको कति वर्ष भयो पनि हामीलाई थाहा छैन । हामीले त केही पनि पाएको छैन । हामी सर्लाहीको मान्छे । खोइ यहाँ काठमाण्डौका मान्छेले केही पाएको छ कि ।

हामीलाई बरु अलि अलि व्यापार गर्न पाए हुन्थ्यो । यही व्यापार गरेर बालबच्चा पढाएछु । बरु यो व्यापारले केही भएको छ । हामी सरकारको भरमा परेको पनि छैन । काम गरेर खान दिए हुन्छ ।

पहिला आन्दोलनको बेलामा हामीलाई रोजगारी दिन्छु भनेका थिए । तर, अहिले त त्यो पनि छैन । हामी आफैँले दुःख गरेर काम गरेर खाएको छ । हामी आफ्नै परिश्रम र मेहनतले अगाडि बढेका छौँ ।

पहिला पहाडी र मधेसीलाई समान गर्छु भन्थ्यो तर, अहिले गरेको छैन । हामीलाई यहाँ व्यापार गर्ने ठाउँमा पनि हेप्छ । पहिला सबैलाई समान अधिकार भन्थ्यो । अहिले त्यस्तो छैन । रगत सबैको एकैनास हो नि । मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भनेर हामीले पढेका थियौँ । तर, अहिले त्यस्तो हुँदैन । यहाँ त्यस्तो गर्दैन । यहाँ हामीलाई भेदभाव गर्छ ।

पहिले जातपात समान गर्छु भनेको थियो । तर, अहिलेसम्म भएको छैन । अहिले पनि भेदभाव गर्छ । बराबर भएको छैन । हामी नेपाली भए पनि इण्डियन भनेर हेप्छ झन । हामी नेपाली हो भन्दा पनि मान्दैनन् । सरकारले समान अधिकार दिन्छु भनेको थियो । यही हो त समान अधिकार ।

डोजरे विकास भएको छ

 

शम्भु कार्की 
किसान 

हामीलाई गणतन्त्रले केही दिएको छैन । सुविधा केही छैन, खाली कर मात्रै बढाएको छ । धारा दिएको छ, खानेपानी दिएको छैन त्यसैले जे छ उनीहरुलाई मात्र छ, हामीलाई केही छैन ।

गाउँगाउँमा सिंहदरबार पुग्यो भनेर भन्ने मात्र हो । कुनै अफिसमा काम गराउन जाँदा थाहा हुन्छ गाउँगाउँमा सिंहदरबार पुग्यो कि पुगेन भनेर । कुनै पनि अफिसमा गएर पैसा नदिइ काम गराउन सकिँदैन । गाउँगाउँमा डोजर चलाएर पहिरो गएर बारी सखाप भएको छ । डोजरे विकास भएको छ ।

१३ वर्ष अगाडि हामी २ सय रुपैयाँ कर बुझाउँथ्यौ । तर, अहिले त्यही कर १२ सय रुपैयाँ भएको छ । यो कर किन भन्ने केही थाहा छैन । अनि यो कर तिरेर नागरिकले के पाएका छन् ? गणतन्त्रले हिँड्ने बानी छुट्यो । जसरी पनि डोजरले खनेको बाटोमा गाडी चढ्नुपर्ने भएको छ ।

गणतन्त्रमा नातावाद, कृपावाद चल्दैन, समानुपातिक विकास हुन्छ, सक्षमले अवसर पाउँछन् भन्ने लागेको थियो । तर, त्यो कहाँ देखियो त ? बोल्नमात्र दिएर अनि जुलुसमात्र गर्न दिएर त हुँदैन त । पेट त भोकै हुन्छ । गणतन्त्र दिवसमा छुट्टी भयो । एक दिन भए पनि छुट्टी थपियो सरकारी कर्मचारीलाई त्यसभन्दा बाहेक केही भएन ।  

गणतन्त्रमा हामीले धेरै पाएका छौँ 

सूर्यप्रसाद साम्वाहाम्फे 
अधिवक्ता

गणतन्त्रमा हामीले धेरै पाएका छौँ तर, हामीले पाएको नदेखिने मात्र हो । गणतन्त्रमा संघीयता, धर्मनिरपेक्षता जस्ता कुरा पाइएको छ । तर, हामीले अनुभूति गर्न नसकेको मात्र हो ।

गणतन्त्र आएपछि नागरिकका सन्तान पनि राष्ट्रपति हुने भए । नागरिक आफू स्वतन्त्र ढंगले अगाडि बढ्न सक्ने हुनाले पनि राम्रो छ । अर्को भनेको गणतन्त्रमा आफ्नो आवाज जसरी पनि उठाउन सक्ने तथा संघीयतामा पनि गएको हुनाले पनि राम्रो छ ।

गणतन्त्रमा धेरै राजा भए भन्नेहरु पनि छन् । तर, त्यो भने नबुझेर मात्र हो । संसदीय दलमा धेरै दल भएपछि यस्तो हुनु स्वभाविक हो । कि त दुई वटा मात्र दल दर्ता गर्नुपर्यो । होइन भने नागरिकले विश्वास गरेर पठाएपछि धेरै भन्न मिलेन । नागरिकले दुई सय नेता छान्न पाउँछन् भने त्यो उनीहरुको अधिकारको कुरा हो ।

आफ्नै बुवा प्रधानमन्त्री भए पनि आफ्नै घरमा दाल, चामल आउँदैन । अब गणतन्त्र आयो दाल, चामल खोइ भन्यो भने हुँदैन । त्यो हुने कुरा पनि होइन ।

गणतन्त्रमा नागरिकले बोल्न पाइरहेका छन् । आफ्नो हक, अधिकार स्थापित गर्ने काम भइरहेको छ ।

नागरिकले अहिले गाउँमा अधिकार स्थापना गर्न पाएका छन् । सिंहदरबार गाउँमा पुगेको छ । त्यो उपलब्धि नै हो । तर, केही सुधार गर्नुपर्ने कुराहरु पनि छन् । हामी नागरिकले चाहेको संघीयता भने यो किसिमको होइन । मुद्रा, सुरक्षा र परराष्ट्र नीति बाहेक सबै प्रदेश र पालिकाले पाउनुपर्छ भन्ने हो ।

तर, हामीकहाँ मिसाएर कुन खालको संघीयता बनाए बनाए । हामीले पढेको जानेको संघीयता यो होइन । प्रदेशले एउटा पियन सरुवा गर्न नसक्ने, जिल्ला सीडीओले चलाउने यो खालको संघीयता होइन । जिल्ला समन्वय समिति तथा संघीय सांसद तथा प्रदेशका सांसदहरु पनि घटाउनु पर्छ ।

दलित, महिलाले अधिकार पाएका छन्

 

सितली रोकाया
उपाध्यक्ष, सिंजा गाउँपालिका जुम्ला

गणतन्त्र आएपछि महिला, दलित, जनजाति सबैले अधिकार पाएका छन् । गणतन्त्र नआएको भए शायद यी वर्गले अहिले जति अधिकार प्रयोग गर्न पाएका छन् त्यो हुँदैनथ्यो होला । अब अधिकार प्रयोगको कुरा गर्दा शतप्रतिशत नभए पनि अहिले पाएको अधिकार पनि पहिलेको भन्दा धेरै हो । अब बिस्तारै हामीले हाम्रो अधिकार बढाउँदै पनि लानुपर्छ । 

गाउँपालिकामा पनि हामीले राम्रै अधिकारको प्रयोग गर्न पाएका छौँ । गाउँगाउँमा सिंहदरबार भन्ने नारा नै थियो । नारा अनुसार नै सबै नभए पनि पालिका तथा वडा कार्यालयका भवनहरु बने । त्यहाँका पालिकाका नागरिकले आफ्नै घरदैलोबाट सेवा पाएका छन् । यत्तिका लागि पहिले जिल्ला जानुपर्थ्याे । जिल्लामा गएर आज आज भोलि भोलि भन्दै काम गराउनुपर्थ्याे । दुःख थियो । 

तर, अहिले त आफ्नै घरको मिठो मसिनो, सिस्नो, ढिंडो जे छ खाएर आफ्नै पालिकामा, आफ्नै वडामा काम गर्न पाएका छन् । गाउँगाउँमा सिंहदरबार भनेको यही त हो । गणतन्त्र नआएको भए यो अधिकार हामीले कहाँ वडा तथा पालिकामा प्रयोग गर्न पाउँथ्यौँ त ?

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया