पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला

 जेठ १५, २०८० सोमबार १३:३७:३९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पूर्व राजपरिवार पोखरा आउँदा बस्नका लागि बनाइएको रत्नमन्दिर दरबार गणतन्त्र दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला भएको छ । यसअघि पटक–पटक खुलाउने भनिए पनि आज साेमवार (जेठ १५ गते) गणतन्त्र दिवसको अवसर पारेर दरबार खुला गरिएकाे हाे ।

शाहवंशीय राजा महेन्द्रले कान्छी रानी रत्नको नाममा पोखरा उपमहानगरपालिका–६ लेकसाइडमा रत्नमन्दिर दरबार निर्माण गर्नुभएकाे थियाे । राजसंस्थाको अन्त्यपछि २०६४ सालमा नेपाल ट्रस्टको स्वामित्वमा दरबारसहित एक सय ७४ रोपनी जग्गा छ ।

साेमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दरबारमा सर्वसाधारण प्रवेशका लागि उद्घाटन गर्दै खुला गर्नुभयाे । उहाँले दरबारकाे संरक्षणमा पालिकासमेत लाग्नुपर्ने बताउनुभयाे ।

शाहवंशीय राजाको इतिहाससँग गाँसिएको याे दरबार सर्वसाधारणका लागि खुला गर्नुपर्ने पोखरेलीको माग थियो । तर दरबारको ऐतिहासिक सामग्रीको सुरक्षा, संवेदनशीलता तथा प्राविधिक कारण भित्री भाग भने सर्वसाधारणका निम्ति खुला भएको छैन । पोखरा महानगरका मेयर धनराज आचार्यले लामो प्रयासपछि खुलेको रत्नमन्दिरले पोखराको पर्यटनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

२०६२/०६३ को दोस्रो जनआन्दोलनसँगै नेपालमा आएको गणतन्त्रको १५ वर्ष पूरा भएपछि खुलेकाे दरबार हेर्न पुगेकाहरूले खुसी व्यक्त गरे । 
दरबारमा प्रवेश गर्न नेपालीका लागि एक सय रुपैयाँ शुल्क ताेकिएकाेमा विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइनेछ । यस्तै विदेशी पर्यटकलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ । 

रत्न मन्दिर विसं २०१३ मा निर्माण सुरु भएर विसं २०१५ मा सम्पन्न भएको थियो । तीन तले दरबारमा ११ वटा कोठा छन् । भुइँ तलामा अतिथि कक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत (एडीसी) बस्ने कोठा र आराम कक्ष छन् ।

दोस्रो तलामा पाँच वटा कोठा छन् । कोठाबाहिरको मुख्य हलमा बैठक कक्ष छ । जसमा राजपरिवारका सदस्यमात्र बैठक बस्ने गर्थे । दाेस्राे तलामा राजपरिवारले खेल्ने कोठा पनि छ । यस्तै युवराजको शयन कक्षसहित तीन वटा पाहुना कोठा छन् । राजपरिवारका निकटस्थ नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो ।

सबैभन्दा माथिल्लो तलामा राजारानीको शयन कक्ष र पूजा कोठा छ । बाहिरपट्टि आराम कक्ष र दृश्यावलोकनका लागि कौसी छ । हरेक कोठामा रहेका पलङ, खाट, कुर्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन् । मुख्य कोठामा सजावट र उपहारका सामग्री राखिएका छन् । भित्तामा पूर्वराजा तथा पूर्वयुवराजका तस्बिर सजाइएका छन् । काठ र ढुङ्गाबाट दरबार बनेको छ । दरबार अहिले साेमवारबाहेक बिहान १० बजेदेखि दिउँसाे ५ बजेसम्म खुलाउने ट्रस्टले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया