सांसद विकास काेषबारे अर्थमन्त्री– ‘सांसदहरूले खल्तीमा हाल्ने पैसा हाेइन’

 जेठ १६, २०८० मंगलबार १७:२५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोष बिउँताएर सांसदहरूलाई व्यक्तिगतरूपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताउनुभएको छ ।

मङ्गलवार अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा आयोजित पत्रकार मम्मेलनमा सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । मन्त्री महतले सरकारले सांसदहरूलाई व्यक्तिगतरूपमा पैसा बाँडेकाे जस्तो प्रचार भइरहेको भन्दै आपत्ति जनाउनुभयाे । उहाँले सांसद विकास कोषको पाँच करोड रुपैयाँ बजेट सांसदहरूले नभएर सम्बन्धित निकायले कार्यान्वयन गर्ने बताउनुभयो । विगतको जस्तो उपभोक्ता समिति बनाएर आयोजना बनाउने नभई ठेक्का प्रक्रियामार्फत काम हुने उहाँले स्पष्ट पार्नुभयाे ।

उहाँले भन्नुभयो, ‘देशभर एक सय ६५ वटा निर्वाचन क्षेत्रहरू छन् । एक सय ६५ वटा निर्वाचन क्षेत्रमा नै केही न केही योजना जाओस् भन्ने लक्ष्यका साथ संसदीय विकास कार्यक्रम राखिएको हो । यो संसदीय विकास कोषमा संसदहरूको भूमिका सिफारिस गर्नेमात्रै हुन्छ । नागरिकबाट निर्वाचित भएर आएका सांसदहरूले सिफारिस गर्नु पनि अपराधजस्तो हो भनेर हेर्नु भएन । यस्ता आयोजनाहरू स्वतः ठेक्का लाग्छ । ठेक्का सम्बन्धित मन्त्रालयले लगाउँछ । पहिलाको जस्तो आफैँ उपभोक्ता समिति बनाएर बजेट बाँड्ने होइन । आफ्नो निर्वाचन क्षेत्रको आवश्यकताबारेमा जनप्रतिनिधिलाई नै बढी थाहा छ । काम भए/नभएको अनुगमन जनप्रतिनिधिले नै गर्न सक्छन् । यसलाई व्यक्तिगतरूपमा पैसा दिएको जस्तो विश्वलेषण नगर्न अनुरोध गर्दछु । सांसदहरूले सोझै नगदका रूपमा पाउने होइन । उहाँहरूले खल्तीमा हाल्ने पैसा होइन ।’

अर्थमन्त्री महतले बिजुली गाडीलाई सरकारले निरुत्साहित गर्न खोज्यो भन्नु गलत भएको बताउनुभयो । उहाँले सरकार बिजुली गाडीलाई प्रोत्साहन गर्ने पक्षमा रहेको भन्दै त्यहीअनुसार सरकारले बजेट ल्याएको बताउनुभयो । बजेटले बिजुली गाडीमा कर नबढाएको तर केही लुपहोलहरूलाई मिलानमात्र गरेको उहाँकाे भनाइ छ । 

उहाँले अब कुनै पनि हालतमा बिजुली गाडी विस्थापित नहुने र फेरि पेट्रोलियम पदार्थमा फर्किन नदिने दाबी गर्नुभयाे । अब देशमा बिजुली गाडीकाे प्रयोग बढ्ने र सरकारले प्रोत्साहन गर्दै जाने उहाँकाे भनाइ छ ।

त्यस्तै अर्थमन्त्री महतले सरकारले राजस्वको लक्ष्य पूरा गर्ने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको राजस्व सङ्कलन लक्ष्यअनुसार नपुग्ने देखिए पनि असार मसान्तसम्म लक्ष्य पूरा गर्ने गरी सरकारले काम गर्ने दाबी गर्नुभयाे । उहाँले सरकारले कसैलाई व्यक्तिगतरूपमा फाइदा पुर्‍याउने गरी काम नगरेको पनि बताउनुभयाे ।

मन्त्री महतले सरकार शेयर बजारप्रति सकारात्मक रहेको बताउनुभयो । शेयर बजार बिगार्ने सरकारकाे कुनै नियत नभएकाे उहाँले स्पष्ट पार्नुभयाे ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया