‘सिर्सियाको जल’ बोकेर माइतीघरको यात्रा !

 जेठ १७, २०८० बुधबार ९:५५:५१ | वैद्यनाथ पाैडेल
unn.prixa.net

वीरगञ्जको सिर्सिया नदीको धमिलो, कालो, मैलो पानी शिरमाथि बोटलमा राखेर चुरे तथा वन जंगल संरक्षण अभियानका अभियन्ताहरु वीरगञ्जबाट १० दिनको पैदलयात्रापछि अहिले माइतीघरमा धर्नामा छन् ।

माइतीघरमा धर्नामा बसिरहनु भएकी वीरगञ्ज महानगरपालिका–१३ की राधा चौधरीलाई सिर्सिया नदीको सफा पानीमा पौडी खेलेको, खाएको, त्यही पानीले भाँडा माझेको अनि भात पकाएको पनि सम्झना छ । तर, अहिले भने त्यही सिर्सिया नदीको पानी खाने त धेरै परको कुरा छुनसमेत घिन लाग्छ चौधरीलाई ।

सिर्सिया नदी किनारमा स्थापित विभिन्न उद्योगले प्रयोगपछि नदीमा फालेका रसायनयुक्त पानीले चौधरीका कैयौँ बाख्रा मरे । लुला, लंगडा र अपांग भए । यस विषयमा कुरा उठाउँदा पनि कसैले सुनेन।

उहाँ भन्नुहुन्छ, ‘यही कुरामा एक महिना पहिले पनि अनशन बसिसकेको हो । त्यो बेलामा पनि नेताहरु, मन्त्रीहरु आएर हेर्दिन्छु भनेको हो । तर, केही भएन । त्यही भएर अहिले यहाँ यति दुःख गरेर हिँडेर आएको हो । हेरौँ अब के हुन्छ ।’

वीरगञ्जका उद्योग तथा कलकारखानाहरुले प्रयोगपछिका रसायन तथा रसायनयुक्त पानी, फोहोर तथा ढल सोझै नदीमा मिसाएपछि सिर्सिया नदी नदीभन्दा पनि उद्योगको फोहोर फाल्ने नाली जस्तो भएको अभियन्ताहरुको भनाइ छ । यसकारण सिर्सिया नदीलगायत चुरे संरक्षणसमेतको अभियान लिएर जेठ ४ गतेदेखि २७ जना वीरगञ्जबाट पैदलै आएर धर्नामा बसिरहनु भएको छ ।

यो अभियानसँग जोडिएर धर्ना बस्न आइपुग्नु भएको छ काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका–५ का संघर्ष नेपाली । यो अभियानसँग उहाँ जोडिएको करिब पाँच वर्ष भयो । त्यसभन्दा अघि उहाँ साझा यातायातको गाडी चलाउनुहुन्थ्यो । गाडी चलाएर वीरगञ्ज जाँदा सिर्सिया नदी किनारमा राखेर गाडी धुने, लुगा धुने गरेको कारण पनि उहाँलाई यसले बढी छोएको हो ।

यो आन्दोलनमा एउटा भावनात्मक सम्बन्धका कारण जोडिए पनि देशभरका नदीनाला एवम् वन, जंगल तथा चुरेको संरक्षणमा लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘र्सिसिया नदीमात्र होइन यसलाई राष्ट्रिय अभियान बनाएर अघि बढ्नुपर्छ । राष्ट्रिय हितका लागि भएका खोलानाला तथा वन जंगलको संरक्षण हुनुपर्छ ।’

वीरगञ्जको ‘लाइफ लाइन’ मानिने सिर्सिया नदीको मुहान बाराको जीतपुर उपमहानगरपालिकाको रामवनको झाडी हो । जहाँ कञ्चन पानी बग्ने गरे पनि ३० किलोमिटर पर वीरगञ्ज आइपुग्दा र्सिसिया नदी प्रदुषण तथा अतिक्रमणका कारण नाला जस्तै देखिने गरेको बताउनुहुन्छ बाारा जिल्ला बाडागढीका भुलावन कुमार पासवान ।

पहिले सिर्सिया नदीमा पौडी खेलेको, पानी खाएको तथा लुगा धोएको पनि सम्झना छ उहाँलाई । सिँचाइका लागि पनि यो नदीको राम्रै उपयोग हुने गरेकोमा अहिले भने जगदम्बा, हुलास, सूर्य टोबाकोलगायत अन्य ठूला, साना उद्योगहरुले नदीमा रसायनयुक्त पानी फाल्ने गरेको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘फ्याक्ट्रीवालाहरुले नदीलाई अतिक्रमण जस्लाई हामीले अपहरण भनेका छौँ त्यस्तो गरेर केमिकल फाल्ने गरेका छन् । जीउमा पानी पर्यो भने घाउ हुन्छ । गाईभैँसीले खाँदा ढल्छ ।’

नदी संरक्षणका लागि वीरगञ्जमा पनि पटक पटक आन्दोलन गर्दा कतैबाट पनि सुनुवाइ नभएपछि बाध्य भएर काठमाण्डौ आउनु परेका अभियन्ताहरुको गुनासो छ । वीरगञ्जका अहिलेका मेयर राजेशमान सिंहले दुई/चार वटा उद्योगलाई कारबाही गरे पनि कतिपय ठूला उद्योगले नटेरेपछि काठमाण्डौ नै गएर आन्दोलन गर्न पनि मेयर सिंहले सुझाएको बताउनुहुन्छ पासवान ।

उहाँ भन्नुहुन्छ, ‘हाम्रो मेयरसापले काम गर्दा त्यसको पनि सुनुवाइ भएन । अन्त्यमा हामी बाध्य भएर वीरगञ्जको शंकराचार्य गेटदेखि त्यही खोलाको पानी बोकेर दशौँ दिनको पदयात्रा गरेर काठमाण्डौ आएको हो ।’

धर्नामा बस्नुभएका संघर्ष नेपाली सरकारलाई प्रश्न गर्नुहुन्छ, ‘उद्योग कलकारखानाले आफूले उत्पादन गरेका फोहोर तथा प्रदुषण खोलामा मिसाउन पाइन्छ त ? जनताको स्वास्थ्यमा खेलवाड गर्न पाइन्छ त ? उद्योग कलकारखानाले पनि एउटा मापदण्डमा बसेर काम गर्नुपर्ने होला नि ?’

चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक तथा यस आन्दोलनका अगुवा सुनिलकुमार यादव सिर्सिया नदी बारा र पर्सा दुवै जिल्लामा पर्ने हुँदा नदी सफा बनाउन दुवै जिल्लाको जिल्ला प्रशासन कार्यालयदेखि सम्बन्धित सबै निकाय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमासमेत ज्ञापन पत्र बुझाइसकेको बताउनुहुन्छ ।

सिर्सिया नदी सफा बनाउन जनचेतना जगाउने कामदेखि विभिन्न किसिमका आन्दोलन गर्दा गर्दा कतैबाट सुनुवाइ नभएपछि बाध्य भएर माइतीघरमा आएर धर्ना गर्नुपरेको उहाँको गुनासो छ ।

उहाँ भन्नुहुन्छ, ‘स्थानीय सरकारले नसुनेपछि र त्यहाँका उद्योग कलकारखानालाई कारबाही गर्न नसकेपछि प्रदुषित पानीसहित पैदल यात्रा गर्न बाध्य भइयो ।’

सरकारले अब त्यहाँका उद्योग कलकारखानाले उद्योग सञ्चालन नगर्दा त्यहाँ निस्किएको प्रदुषण तथा फोहोर नदीमा हाल्न नपाउने, नदीको अतिक्रमित जग्गा फिर्ता गर्ने कुराको ग्यारेन्टी नगरेसम्म र बारम्बार यस्ता कार्यहरु दोहोरिएको हुनाले कारबाही गर्ने प्रतिबद्धता नजनाएसम्म काठमाण्डौबाट नफर्कने धर्नामा बसेकाहरुको भनाइ छ । 

नदी प्रदुषण तथा अतिक्रमणको समस्या समाधानको निम्ति एउटा राष्ट्रिय बोर्ड गठन गरेर त्यसले देशभरी अतिक्रमणमा परेका सबै नदी तथा खोलानालाको बारेमा अध्ययन गरेर कारबाही गर्न सक्ने हुनाले अधिकार सहितको आयोग गठन हुनुपर्ने माग रहेको यादवले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया